close

फ्याक्टचेकः नझुक्किनुस् ! बालेनले हेलिकोप्टर चढ्न अनुमति नै नलिएको भन्ने रातोपाटी र कान्तिपुरको समाचार झुटो हो

हिक्मत आचार्य हिक्मत आचार्य

फागुन २१, २०८२ १३:२३

फ्याक्टचेकः नझुक्किनुस् ! बालेनले हेलिकोप्टर चढ्न अनुमति नै नलिएको भन्ने रातोपाटी र कान्तिपुरको समाचार झुटो हो

काठमाडौँ । बुधबार कान्तिपुरको अनलाइन संस्करण र रातोपाटीमा बालेन्द्र शाह (बालेन) ले अनुमति नै नलिई हेलिकोप्टर चढेकाले झापाबाट फर्काइएको दाबी गर्दै समाचार प्रकाशित भएका छन् । स्रोतको हवाला दिँदै यी सञ्चार माध्यमले बालेनले अनुमतिविनै हेलिकोप्टर चढेको जिकिर गरेका थिए । 

तर, टेकपाना फ्याक्टचेक डेस्कको तथ्यजाँचले उक्त दाबी मिथ्या रहेको देखाएको छ । वास्तवमा बुधबार नै निर्वाचन आयोगले पत्र पठाउँदै बालेनलाई बिहीबार काठमाडौँ-झापाको रुटमा हेलिकोप्टर चढ्ने अनुमति दिइसकेको पुष्टि भएको छ ।

दाबी

बिहीबार २१  फागुन २०८२ ११ः३१ मिनेटमा रातोपाटी डटकमले ‘अनुमति नलिई चढेपछि बालेनको हेलिकोप्टर फर्काइएको खुलासा’ शीर्षकमा समाचार राख्यो । समाचारमा बालेनलले निर्वाचन आयोगसँग नै अनुमति नलिई हेलिकोप्टर चढेपछि फर्काइएको दाबी गरिएको छ । यसमा बेनामे स्रोतको हवला दिइएको  छ । 

हेर्नुहोस् ओरिजिनल समाचार, आर्काइभ लिङ्क र स्क्रिनशट ।

अनुसन्धान

बालेनने हेलिकोप्टर चढ्नका लागि अनुमति नलिएको दाबीसहितको समाचार ईकान्तिपुर डटकममा पनि प्रकाशित भएको पाइयो । कान्तिपुरले ‘अनुमति नलिई हेलिकोप्टर लिएर झापा उडेका बालेन ल्यान्ड नगरी काठमाडौं फर्किए’ शीर्षकको समाचार राखेको छ । यस समाचारमा भने आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको भनाइ उद्धित गर्दै बालेनको दल (रास्वपा) ले अनुमति नलिएको दाबी गरिएको छ । हेर्नुहोस् ओरिजिनल समाचार,आर्काइभ लिङ्क र स्क्रिनशट । 

यी समाचार माध्यमको समाचारलाई आधार बनाई सामाजिक सञ्जाल फेसबुक र एक्समा प्रयोगकर्ताहरूले बालेनले हेलिकोप्टर चढ्नका लागि अनुमति नै नलिएको दाबी गर्दै पोस्ट राखेका छन् । 

यस विषयमा टेकपाना फ्याक्टचेक डेस्कले बालेनका सचिवालय सदस्य सुरेन्द्र बजगाईँसँग सम्पर्क गर्‍यो । उनले बालेनलाई निर्वाचन आयोगले हेलिकोप्टर चढ्नका लागि अनुमति दिएको जानकारी दिँदै पत्र नै उपलब्ध गराए । निर्वाचन आयोगका कानुन अधिकृत मोहनराज जोशीले २० फागुन २०८२ मा हस्ताक्षर गरेको उक्त पत्रमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई २१ गते काठमाडौँ झापा रुटमा मात्र हेलिकोप्टर प्रयोग गर्न अनुमति दिइएको उल्लेख छ । हेर्नुहोस् पत्र । 

हामीले यस विषयमा समाचार खोज्दा बीबीसी नेपाली सेवामा गनी अन्सारीले ‘बालेन, गगन र प्रचण्डलाई 'हेलिकोप्टर चढ्ने अनुमति'’ शीर्षकमा लेखेको समाचार फेला पर्‍यो । हेर्नुहोस् समाचार । उक्त समाचारमा गगन थापा, बालेन शाह र पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयुक्त सगुन शम्शेर जबराले नै अनुमति दिएको उल्लेख छ । 

यी विभिन्न तथ्यलाई विश्लेषण गर्दा बालेनले अनुमति नै नलिई हेलिकोप्टर चढेकाले काठमाडौँ फिर्ता भएको भन्ने कान्तिपुर र रातोपाटीको समाचार मिथ्या रहेको पुष्टि हुन्छ ।

दाबी

बालेन शाहले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेकाले उनलाई फर्काइएको हो ।

दाबीकर्ता

रातोपाटी, कान्तिपुर (अनलाइन संस्करण) र विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ।

तथ्य

निर्वाचन आयोगले २० फागुन २०८२ मा नै पत्र पठाएर बालेनलाई २१ गते काठमाडौँ-झापा रुटमा हेलिकोप्टर चढ्न अनुमति दिइसकेको थियो । आयोगका कानुन अधिकृत मोहनराज जोशीले हस्ताक्षर गरेको अनुमति पत्र र बीबीसी नेपालीको समाचारले बालेनले अनुमति लिएको पुष्टि गर्छन् ।

निष्कर्ष

बालेनले अनुमति नलिई हेलिकोप्टर चढेको भन्ने रातोपाटी र कान्तिपुरको समाचार मिथ्या हो ।

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन २१, २०८२ १५:१४