फ्याक्टचेकः केपी ओलीले आफूले चुनाव नजिते विदेशमा जस्तै बम बारुदको अवस्था हुने बताएका हुन् ?
फागुन २२, २०८२ १२:२५
काठमाडौँ । सामाजिक सञ्जालमा केही दिनदेखि एमाले अध्यक्ष तथा झापा ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका केपी शर्मा ओलीको एक विवादास्पद भिडिओ भाइरल बनिरहेको छ । उक्त भिडिओमा उनी समर्थक तथा मतदातासँग कुराकानी गर्दै गरेको अवस्थामा देखिएका छन् ।
विदेशमा बम बारुदको अवस्था बनेको प्रसङ्ग मतदाताले राखेको जिज्ञासामा ओलीले आफूले चुनाव नतिजे त्यही अवस्था यहाँ (नेपालमा) पनि हुने बताइरहेका छन् । उक्त भाइरल भिडिओमा विभिन्न प्रयोगकर्ताले फ्याक्टचेकका लागि टेकपानालाई मेन्सन समेत गरेका छन् । टेकपानाको फ्याक्टचेकबाट ओलीले उक्त अभिव्यक्ति दिएको पुष्टि भएको छ ।
दाबी
Shankar Ji Janakpur नामक फेसबुक प्रयोगकर्ताले ४ मार्च २०२६ को बिहान ५ः२४ बजेको समयमा एक भिडिओ पोस्ट गरेका छन् । भिडिओमा बोल्दै बीचमा केपी शर्मा ओलीले समर्थकसँग संवाद गर्दै गरेको क्लिप जोडिएको छ ।
जसको अडिओ उतार्दा यस्तो सुनिन्छः
प्रयोगकर्ता: "यदि म चुनाव हारें भने... इरान, कतार, साउदी, दुबई जस्तै बम बारुद यहाँ पनि वर्षिन्छ ।"
(क्लिप सुरु हुन्छ)
महिला: "विदेशमा अब बम र बारुदले एकदम यो भएको छ, डर तरास भइराखेको छ, हैन..."
केपी शर्मा ओली: "मैले जितिनँ भने त त्यही कुरा यहाँ पनि हुनेवाला छ ।"
केपी शर्मा ओली (दोहोर्याइएको): "मैले जितिनँ भने त त्यही कुरा यहाँ पनि हुनेवाला छ ।"
अरू महिला: "त्यही भएर एकदम लागी परेका छौँ । हाम्रै क्षेत्रमा आइपुग्नु भयो त ।"
प्रयोगकर्ता: "मतदाताहरुलाई डराएर के चुनाव जित्न सक्छ त केपी ओली? कमेन्ट गर्नुहोला ।”
यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा ६३ हजार लाइक, ४६०० भन्दा बढी कमेन्ट आएका छन् भने १० हजार पटक शेयरसँगै २१ लाख भ्युज प्राप्त गरिसकेको छ ।
हेर्नुहोस्, भिडिओ र त्यसको स्क्रिनशटः

भाइरल भिडिओको सत्यता बुझ्न टेकपाना फ्याक्टचेकले अनुसन्धान अगाडि बढायो । त्यस क्रममा उक्त भिडिओमा केपी शर्मा ओलीले संवाद गरेको देखिने भिडिओबाट किफ्रेम निकालेर गुगल रिभर्स इमेज सर्च गर्यौँ । तर भिडिओमा रहेको तस्विरको गुणस्तर कमजोर रहेका कारण अपेक्षित नतिजा भेट्न फेला पार्न सकिएन ।
त्यसपछि हामीले भिडिओमा सुनिने संवादका केही शब्दहरू जस्तै ‘बम बारुद केपी ओली’, ‘चुनाव हारेँ भने बम बारुद केपी ओली’, ‘मैले जितिनँ भने बम बारुद केपी ओली’ जस्ता किवर्ड राखेर इन्टरनेटमा सर्च गर्यौँ । त्यस क्रममा Santosh Thapa Xetry नामक प्रयोगकर्ताले फेसबुकमा राखेको एउटा भिडिओ भेटियो । हेर्नुहोस् भिडिओ र त्यसको क्रिनशटः

त्यसमा केही राम्रो गुणस्तर देखिएपछि हामीले त्यसबाट किफ्रेमहरू निकालेर पुनः रिभर्स इमेज सर्च गरेर हेर्यौँ । त्यस क्रममा nepalonehd नामक टिकटक आईडीमा राखिएको चार दिन अघि राखिएको भिडिओ फेला पार्यौँ । हेर्नुहोस् उक्त भिडिओ र त्यसको स्क्रिनशटः

उक्त भिडिओमा Nepal one hd को लोगो देख्न सकिन्छ । त्यसपछि हामीले उक्त नाम राखेर फेसबुक र युट्युबमा सर्च गर्यौँ । जहाँ Nepal One HD नामक फेसबुक पेज र युट्युब च्यानल भेटियो । जसको टाइमलाइनमा खोज्दै जाँदा १ मार्च २०२६ को राति १०ः४८ बजेको समयमा राखिएको ३८ सेकेन्ड लामो भिडिओ भेटियो ।
जसमा केपी ओली र ती समर्थक महिला बिचको कुराकानी यस्तो सुनिन्छः
महिला: "हजुरलाई जिताउनका लागि हामी लागी परेका छौँ । विदेशमा बम र बारुदले एकदमै ऊ भको छ, डर त्रास भइराख्या छ हैन ।"
केपी शर्मा ओलीः "यहाँ पनि त्यस्तै…"
महिलाः "मन डराउँदै भए पनि हजुरलाई जिताउनका लागि हामी लागिपरेका छौँ ।"
केपी शर्मा ओली: "मैले जितिनँ भने त त्यही कुरा यहाँ पनि हुनेवाला छ ।"
महिला: "त्यही भएर एकदम लागी परेका छौँ । ….”
Nepal One HD को फेसबुक पेजमा केपी ओली सम्बन्धी अन्य सामग्रीहरू समेत निरन्तर अपडेट भइरहेको देखियो । उक्त पेजमा १ मार्च २०२६ कै दिउँसो १२ः२३ बजेको समयमा केही तस्विरहरू पोस्ट गरिएका छन् । जसमा केपी शर्मा ओलीको हुलिया र भिडिओ क्लिपमा देखिएको लोकेसन समान देखिन्छ ।

यसबाट भाइरल भिडिओ केपी शर्मा ओलीले १ मार्चमा मतदाता तथा समर्थकसँग गरेको संवादका क्रममा खिचिएको क्लिप रहेको निष्कर्ष निस्कियो ।
दाबी
सामाजिक सञ्जालमा भाइरल भिडिओमा केपी शर्मा ओलीले आफू चुनाव नजिते नेपालमा पनि विदेशजस्तै बम बारुदको अवस्था हुने बताएका छन् भन्ने दाबी गरिएको छ ।
दाबीकर्ता
Shankar Ji Janakpur नामक फेसबुक प्रयोगकर्ताले ४ मार्च २०२६ मा उक्त भिडिओ पोस्ट गर्दै यस्तो दाबी गरेका हुन् ।
तथ्य
फ्याक्टचेकका क्रममा भाइरल भिडिओको स्रोत खोज्दा Nepal One HD नामक प्लेटफर्ममा १ मार्च २०२६ मा पोस्ट गरिएको मूल भिडिओ फेला पर्यो । उक्त भिडिओमा समर्थक महिलाले विदेशमा बम बारुदका कारण डर त्रास भएको प्रसङ्ग उठाएपछि ओलीले “मैले जितिनँ भने त त्यही कुरा यहाँ पनि हुनेवाला छ” भन्ने अभिव्यक्ति दिएको सुनिन्छ । यसले उक्त संवाद चुनावी प्रचारप्रसारका क्रममा रेकर्ड गरिएको पुष्टि हुन्छ ।
निष्कर्ष
भाइरल भिडिओमा देखिएको अभिव्यक्ति केपी शर्मा ओलीले समर्थकसँगको संवादका क्रममा वास्तवमै बोलेको पुष्टि भएकाले दाबी सत्य हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: फागुन २२, २०८२ १२:३०
