फ्याक्टचेक: बालेनले बिहान १०:५० मै १० हजार बढी मत प्राप्त गरेको हिमालय टिभी र इकान्तिपुरको दाबी भ्रामक
फागुन २२, २०८२ १३:४३
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मत गणना जारी छ । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले बिहान १०:५० सम्ममा १० हजारभन्दा बढी मत प्राप्त गरेको पोस्टहरू भाइरल छन् ।
तर, टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानबाट बिहान ११:१५ सम्ममा बालेनले दुई हजार ८७८ प्राप्त गरेको पाइएको छ । तर सो मत परिणाम आउनुभन्दा पहिले नै बालेनले १० हजारभन्दा बढी मत प्राप्त गरेको भन्दै भ्रम फैलाइएको हो ।
दाबी
हिमालय टिभीको फेसबुक पेजबाट शुक्रबार बिहान १०:५४ मा झापा क्षेत्र नं ५ को चुनावी नतिजा दाबी गर्दै पोस्ट शेयर भएको छ । उक्त पोस्टमा झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले १० हजार १९० मत प्राप्त गरेको उल्लेख छ । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चार हजार ८७ मत, श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रञ्जित तामाङले शून्य मत प्राप्त गरेको उल्लेख छ ।
उक्त पोस्टलाई यो सामग्री तयार पार्दासम्म ४६ सय भन्दा धेरैले रियाक्ट गरेका छन् भने २८५ ओटा कमेन्ट र ९९ पटक शेयर गरिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

१७ हजार बढी फलोअर रहेको इकान्तिपुरको ह्वाट्सएप च्यानल ‘Kantipur’ मा बिहान १०:१८ मा बालेन्द्र शाहले १० हजार १९० मत प्राप्त गरेको दाबी सहितको मत परिणाम अपडेट गरिएको छ । उक्त अपडेटमा केपी शर्मा ओलीले चार हजार ८७ मत र नेकपाका रञ्जित तामाङले ९० मत प्राप्त गरेको उल्लेख छ ।

अनुसन्धान
टेकपाना फ्याक्टचेक डेस्कले बालेन शाहको सचिवालय सदस्य सुरेन्द्र बजगाईंले बिहान ११:३४ मा झापा-५ को मतगणना स्थल बाहिर खिचिएको भिडिओ फेसबुकमा सार्वजनिक गरेको फेला पार्यो । भिडिओको क्याप्सनमा लेखिएको छ “रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको मतगणना प्रतिनिधि प्रविण पाठक, रास्वपा दमक नगर सचिव अहिले ( ११:१५ ) बजे सम्म को अवस्था बारे जानकारी दिदै” ।
उक्त भिडिओमा शुक्रबार (२२ फागुन) दिउँसो ११:१५ सम्म पहिलो लटको मत गणना सक्किएर दोस्रो लटको भइरहेको रास्वपा दमक नगरपालिकाका नगर सचिव प्रवीण पाठकले जानकारी दिएका छन् । दोस्रो लटको मत गणनासम्म पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टीले दुई हजार ८७८ मत प्राप्त गरेको उनले बताएका छन् ।
सो समयमा एमालेका उम्मेदवारले एक हजार १३०, नेपाली काँग्रेसका उम्मेदवारले १८३ मत, नेकपाका उम्मेदवारले १२९ मत, राप्रपाका उम्मेदवारले २९ र श्रम संस्कृति पार्टीका उम्मेदवारले १३९ मत प्राप्त गरेका छन् ।
दोस्रो लटको उक्त परिणाममा एमाले, काँग्रेस र नेकपाको सबै मत गणना भइसकेको उनले जानकारी दिएका छन् । रास्वपा, राप्रपा र श्रम संस्कृति पार्टीसहित साना दलका पार्टीको दोस्रो लटको मत गणना भइरहेकाले रास्वपाको ४३ देखि ४५ सयसम्म दोस्रो लटमा पुग्न सक्ने उनले आँकलन गरेका छन् । सामाजिक सञ्जालमा १० हजारभन्दा बढी मत झापा-५ मा रास्वपाले प्राप्त गरेको सूचना भ्रामक भएको उनले बताएका छन् ।
दाबी
बिहान १०:५० सम्ममा बालेनले १० हजारभन्दा धेरै मत प्राप्त गरे ।
दाबीकर्ता
हिमालय टेलिभिजनको फेसबुक पेज, इकान्तिपुरको ह्याट्सएप च्यानल ।
तथ्य
रास्वपाको वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले बिहान ११:१५ सम्ममा दुई हजार ८७८ मत प्राप्त गरेका छन् ।
निष्कर्ष
बिहान १०:५० मा बालेनले १० हजार बढी मत प्राप्त गरेको दाबी भ्रामक हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: फागुन २२, २०८२ १६:११
