close

सामसङ फोनमा ‘भाइब कोडिङ’ सुविधा आउँदै, कोडिङ नजान्नेले पनि आफ्नै एप बनाउन सक्ने

टेकपाना टेकपाना

फागुन २३, २०८२ १३:३४

सामसङ फोनमा ‘भाइब कोडिङ’ सुविधा आउँदै, कोडिङ नजान्नेले पनि आफ्नै एप बनाउन सक्ने

काठमाडौँ । सामसङले आफ्ना स्मार्टफोन प्रयोगकर्ताका लागि क्रान्तिकारी फिचर ल्याउने तयारी गरेको छ । कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहयोगमा कोडिङको ज्ञान नभएका सामान्य प्रयोगकर्ताले पनि आफ्नै मोबाइल एप र सर्भिसेस बनाउन सक्ने ‘भाइब कोडिङ’ प्रविधिमा काम गरिरहेको छ ।

हालै सार्वजनिक भएको ग्यालेक्सी एस२६ सिरिजसँगै सामसङले आफ्ना डिभाइसलाई ‘स्मार्टफोन’ भन्नुको साटो ‘एआई फोन’ को रूपमा ब्रान्डिङ गर्न थालेको छ । यसै सन्दर्भमा कम्पनीले प्रयोगकर्तालाई सफ्टवेयर विकासको नयाँ अनुभव दिन लागेको हो ।

के हो भाइब कोडिङ ?

‘भाइब कोडिङ’ एउटा यस्तो विधि हो, जहाँ प्रयोगकर्ताले जटिल प्रोग्रामिङ ल्याङ्ग्वेज अर्थात् कोडिङ नसिकी एआईलाई निर्देशन दिएर सफ्टवेयर कोड लेख्न सक्छन् । यसबाट जोसुकैले पनि आफ्नो आवश्यकता अनुसारका साना एप वा युजर इन्टरफेस (UX) तयार पार्न सक्छन् ।

सामसङको मोबाइल एक्सपिरियन्स डिभिजनका प्रमुख वन-जुन चोईले ‘टेक राडर’ सँगको अन्तर्वार्तामा कम्पनीले यो प्रविधिमाथि अध्ययन गरिरहेको पुष्टि गरेका छन् । चोईका अनुसार भाइब कोडिङले प्रयोगकर्तालाई आफ्नो स्मार्टफोनको अनुभवलाई व्यक्तिगत ढंगले कस्टमाइज गर्ने ढोका खोल्नेछ ।

“अहिले हामी कम्पनीले पहिल्यै बनाएका टुलहरूमा सीमित छौँ, तर भाइब कोडिङमार्फत प्रयोगकर्ताले आफ्ना मनपर्ने एपहरूलाई परिमार्जन गर्न वा आफ्नै विशेष आवश्यकता अनुसारको नयाँ फिचर बनाउन सक्नेछन्,” चोईले भने ।

सामसङले यो फिचर कहिलेदेखि पूर्ण रूपमा उपलब्ध हुनेछ भन्नेबारे आधिकारिक मिति तोकेको छैन । तर, कम्पनीको पछिल्लो सक्रियताले भविष्यका ग्यालेक्सी फोनहरूमा प्रयोगकर्ता आफैँ ‘डेभलपर’ बन्न सक्ने सम्भावना बलियो देखिएको छ ।

एआईमार्फत एप र विजेट बनाउने अवधारणा सामसङका लागि मात्र नयाँ भने होइन । गत सेप्टेम्बरमा बेलायती फोन निर्माता कम्पनी ‘नथिङ’ ले साधारण टेक्स्ट लेखेरै विजेट बनाउन सकिने प्लेग्राउण्ड टुल सार्वजनिक गरेको थियो । त्यस्तै, एआई कम्पनी एन्थ्रोपिकले पनि केही मिनेटमै एप बनाउन सकिने एआई एजेन्ट ल्याइसकेको छ ।

पछिल्लो अध्यावधिक: फागुन २३, २०८२ १६:४०