प्रम सुशीला कार्कीलाई 'आमा' सम्बोधन गर्दै बालेनले राखेको फेसबुक पोस्टमा सर्वाधिक १० लाख बढी लाइक
फागुन २४, २०८२ ८:४०
काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह 'बालेन'को एउटै फेसबुक पोस्ट (भिडिओ बाहेक) ले १० लाख बढी लाइक बटुलेको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गर्दै राखेको उक्त पोस्टमा आएको लाइक उनका अहिलेसम्मका सबै फेसबुक पोस्टको तुलनामा सर्वाधिक हो ।
२१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन सफलता पूर्वक सम्पन्न भएपश्चात् बालेनले उक्त पोस्ट गरेका थिए । जसमा उनले प्रधानमन्त्री कार्कीको फोटोसँगै लेखेका थिए, "हजुरको नेतृत्वमा आव लोकतन्त्रले जितेको छ । #आमा" । सम्भवतः यो नै नेपालबाट १० लाखभन्दा बढी लाइक पाउने पहिलो पोस्ट समेत हो । बालेनको फेसबुक पेज नेपालभित्रबाट सर्वाधिक फलो गरिएको व्यक्तिगत फेसबुक पेज समेत हो ।
बालेनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई झन्डै ५० हजार मतान्तरले पराजित गरिसकेका छन् । झापा-५ बाट नेपालको संसदीय इतिहासकै सर्वाधिक ६८,३४८ मत ल्याएर उनी विजयी भएका हुन् ।
पछिल्लो अध्यावधिक: फागुन २४, २०८२ १२:५७
