फोनपेको ‘सक्षम नारी’ अभियान, २५ जनाले डायमण्ड गहना सेट र २५० जनाले ५,००० को भौचर पाउने
फागुन २४, २०८२ १४:५९
काठमाडौँ । फोनपेले महिला प्रयोगकर्तालाई लक्षित गर्दै आफ्नो वार्षिक अभियान ‘सक्षम नारी’ को तेस्रो संस्करण सार्वजनिक गरेको छ । कम्पनीले डिजिटल वित्तीय पहुँचका साथै उनीहरूमा आत्मविश्वासी बनाउने उद्देश्यका साथ यो अभियान सञ्चालनमा ल्याएको हो ।
यो अभियान १ देखि ३१ मार्चसम्म देशव्यापी रूपमा सञ्चालन हुनेछ । जसले नेपाली महिलाहरूमा वित्तीय आत्मविश्वास अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
यस वर्षको अभियान विशेष गरी ‘क्रेडिट डराउने विषय हो’ भन्ने पुरानो सोचलाई चुनौती दिनमा केन्द्रित छ । फोनपेले क्रेडिट कार्डलाई केवल ऋणको रूपमा नभई वृद्धि, लगानी र दैनिक जीवनशैलीलाई सहज बनाउने एउटा महत्त्वपूर्ण साधनको रूपमा अघि सारेको छ । यस अभियानको मुख्य आकर्षण पूर्ण रूपमा भर्चुअल फोनपे क्रेडिट कार्ड हो, जसलाई भौतिक कार्ड बिना नै मोबाइल बैङ्किङ एपमार्फत सुरक्षित रूपमा प्रयोग गर्न सकिन्छ ।
यो अभियानमा सहभागिता जनाउनका लागि फोनपेले सिद्धार्थ बैङ्क, लक्ष्मी सनराइज बैङ्क, कुमारी बैङ्क, एभरेस्ट बैङ्क र गरिमा विकास बैङ्कसँग सहकार्य गरेको छ । सहभागी बैङ्कका योग्य महिला ग्राहकहरूले आफ्नो फोनपे क्रेडिट कार्ड सक्रिय गरी निर्धारित समयभित्र न्यूनतम तीन वटा कारोबार पूरा गरेर यस अभियानमा सहभागी हुन सक्नेछन् । यो अवसर नयाँ र पुराना दुवै प्रयोगकर्ताका लागि खुला गरिएको छ ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारका अनुसार वास्तविक वित्तीय समावेशीकरण भनेको सेवा उपलब्ध गराउनु मात्र नभई ती सेवा प्रयोग गरेर आफ्नो जीवन सुधार्न सक्ने आत्मविश्वास दिनु हो । उनी भन्छन्, "सक्षम नारीमार्फत हामी महिलालाई हिचकिचाहटबाट आत्मविश्वासतर्फ र डरबाट आर्थिक स्वतन्त्रतातर्फ अघि बढ्न सहयोग गरिरहेका छौँ ।"
यस अभियानलाई थप प्रभावकारी बनाउन फोनपेले साजुना ज्वेलर्ससँग सहकार्य गर्दै विभिन्न पुरस्कारहरू घोषणा गरेको छ । जसमा प्रत्येक सहभागी बैङ्कबाट ५ जना भाग्यशाली विजेताले डायमण्ड गहना सेट उपहार स्वरूप पाउनेछन् । यो विशेष गरी अभियान अवधिमा पहिलो पटक फोनपे क्रेडिट कार्ड सक्रिय गर्ने नयाँ प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध हुनेछ ।
त्यस्तै प्रत्येक बैङ्कबाट ५० जना भाग्यशाली विजेताले ५,००० रुपैयाँको छुट भौचर प्राप्त गर्नेछन् । यसका लागि नयाँ र पुराना दुवै प्रयोगकर्ता योग्य हुनेछन् ।
फोनपेले यो अभियानमार्फत देशभरका महिलालाई स्पष्टता, नियन्त्रण र आत्मनिर्भर निर्णयमार्फत आफ्नो वित्तीय भविष्य स्वयँ निर्माण गर्न प्रेरित गर्ने विश्वास लिएको छ । इच्छुक ग्राहकहरूले थप जानकारीका लागि आ-आफ्नो बैङ्कको मोबाइल बैङ्किङ एप वा फोनपेको वेबसाइट हेर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: फागुन २४, २०८२ १४:५९
