फ्याक्टचेक: के साच्चिकै प्रचण्डले रास्वपाको नेतृत्व आफूले गर्नुपर्ने महसुस गरेको बताएका हुन् ?
फागुन २४, २०८२ १८:३७
काठमाडौँ । २१ फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ रुकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल निर्वाचित भए । उनी निर्वाचित भएदेखि नै सामाजिक सञ्जालमा एक भिडिओ भाइरल भइरहेको छ ।
जहाँ मत गणनाअनुसार दुई तिहाइ मत ल्याउन लागिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व आफूले गर्नुपर्ने महसुस गरेको प्रचण्डले बताएको भनिएको छ । टेकपाना फ्याक्टचेक डेक्सको अनुसन्धानबाट प्रचण्डले रुकुम पूर्वबाट सांसदमा निर्वाचित भएपछि वास्तवमा नै उक्त भाषण दिएको पुष्टि भएको छ ।
दाबी
सामाजिक सञ्जाल एक्समा ‘भीष्म (Bhismak1962)’ ले प्रचण्डको तस्बिर राखेर एक पोस्ट गरेका छन् । उक्त तस्बिरमा लेखिएको छ, “रास्वपाको नेतृत्व मैले नै गर्नुपर्ने महसुस गरेको छु- Prachanda” पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

फेसबुक पेज ‘Nepal Times’ ले ७ फेब्रुअरी बिहान ६:२६ मा एक पोस्ट सार्वजनिक गरेको छ । उक्त पोस्टमा लेखिएको छ, “रास्वपाको नेतृत्व मैले नै गर्नुपर्ने महसुस गरेको छु:प्रचण्ड”। पोस्टलाई यो सामग्री तयार पार्दा सम्म २५ हजार भन्दा धेरैले रियाक्सन गरेका छन् । पाँच हजार २०० भन्दा धेरै पटक कमेन्ट गरिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

हामीले ‘रास्वपा नेतृत्व प्रचण्ड’, ‘प्रचण्ड नेतृत्व महसुस’, ‘प्रचण्ड रास्वपा नेतृत्व live’, ‘प्रचण्ड भाषण live’ लगायतका किवर्डहरू राखेर सर्च गर्यौँ । सर्च गर्ने क्रममा ६ मार्च राति ९:५४ ‘Nepal Views’ नामक फेसबुक पेजले प्रचण्डले भाषण दिइरहेको १ मिनेट ४३ सेकेन्ड लामो क्लिप सार्वजनिक गरेको फेला पर्यो ।
उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “निर्वाचित भए पश्चात् प्रचण्डले भने: रास्वपाको नेतृत्व पनि मैले नै गर्न पर्ने महसुस गरेको छु” । यो सामग्री तयार पार्दा सम्म उक्त भिडिओलाई सात लाख ६८ हजारभन्दा धेरै पटक हेरिएको छ । २३ हजार बढी रियाक्सन आएका छन् भने दुई हजार ६०० बढी कमेन्ट गरिएका छन् ।
क्लिपमा प्रचण्ड भाषण दिइरहेको सुनिएका छन् । जहाँ उनले भनेका छन्-
"म नयाँ पार्टी, जसले विजय ठुलो हासिल गर्नुभएको छ, उहाँहरूलाई म बधाई भन्न चाहन्छु, शुभकामना पनि भन्न चाहन्छु । तर त्यही अहङ्कार तपाईँहरूले दोहोर्याउनुभयो भने यो देशको लागि दुर्भाग्यपूर्ण हुन जान्छ । त्यसकारण तपाईँहरूको पनि नेतृत्व मैले गर्नुपर्ने मैले महसुस गरेको छु । यो मैले बडो विनम्रतापूर्वक, इमान्दारीताका साथ यो मञ्चबाट भनेको छु । ती साथीहरू जो अहिले विजयी भएका छन्, तिनका नेताहरू मेरो क्याबिनेटमा पटक-पटक मन्त्री भएका छन्, म चिन्छु राम्रोसँग। सङ्घीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत मैले देश निकै अप्ठ्यारो परेको बेलामा यसको निकास भनेको अन्तरिम सरकार नै हो, यसको निकास भनेको निर्वाचन नै हो, जनतामा जानु नै हो भनेर सुरुदेखि अहिलेसम्म लगातार दृढ अडानको साथ आम नेपाली जनतालाई अपिल गर्दै राजनीतिक दलहरूलाई निर्वाचनको विकल्प छैन यो देशमा भनेर हिँड्ने पार्टी र त्यसको एउटा प्रमुख नेता हुनुको नाताले मैले अब धेरै सिट ल्याएका साथीहरूलाई अहङ्कारबाट बच्न म तपाईँहरूको लागि धेरै ठुलो गुरु हुन सक्छु । तपाईँहरूको जस्तो लहर मैले ६४ मै देखिसकेको छु। त्यसकारण मैले तपाईँहरूलाई राम्रैसँग नेतृत्व दिनुपर्दछ भन्ने ठानेको छु ।” हेर्नुहोस् भिडिओ ।
खोज्ने क्रममा ‘Achyut Puri’ नामक युट्युब च्यानलबाट ६ मार्चमा सार्वजनिक भएको भिडिओ पनि फेला पर्यो । उक्त भिडिओमा प्रचण्डले २४:२६ सेकेन्ड लामो भाषण दिएका छन् । जहाँ प्रचण्डले आफूलाई रुकुम पूर्वबाट निर्वाचित गराएकोमा त्यहाँका स्थानीय जनतालाई धन्यवाद दिएका छन् ।
सोही भिडिओको १२:०५ मिनेटदेखि १५:२० मिनेटसम्म उनले राष्ट्रिय स्वतन्त्र पार्टी र दुई तिहाइको बारेमा बोलिरहेको सुन्न सकिन्छ । उनले रास्वपालाई दुई तिहाइको दम्भ नगर्न चेतावनी दिएका छन् । २०६४ सालमा आफूले पनि यस्तै ठुलो लहर देखिसकेको बताउँदै उनले अनुभवको आधारमा नयाँ दलहरूलाई मार्गदर्शन गर्न आफू ‘ठुलो गुरु’ हुन सक्ने उनको दाबी छ । त्यसैले आफूले रास्वापाको नेतृत्व गर्नुपर्ने ठानेको भिडिओमा उनले बताएका छन् ।
भिडिओमा प्रचण्डले भनेका छन्-
“तपाईँहरूको अगाडि पहिलो चोटी निर्वाचित प्रतिनिधिको रूपमा मैले के महसुस गरेको छु भने, पार्टी अहिले नयाँ पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा लहर चल्यो । धेरै उहाँहरूले जित्नुभएको छ । मेरो मनमनमा के लाछ, त्यो पार्टीको जिम्मा पनि मैले नै लिनुपर्ने छ भन्ने मैले महसुस गरेको छु । हिजो दुई तिहाइको अहङ्कार नगर्नुस् है, गल्ती हुन्छ भनेर मैले संसदको रोस्टमबाट बोलेको सायद तपाईँहरूले सम्झि राख्नुभएको होला । डेढ वर्ष अगाडि तपाईँहरूले दुई तिहाइको घमन्ड गरेर, मैले भ्रष्टाचारका विरुद्ध लडाइँ लड्दै गर्दा, मैले सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायको निम्ति लड्दै गर्दा, मैले विकास र समृद्धिको यात्रा सुरु गर्दै गर्दा, मैले भारत चीन लगायत विश्वभरिसँग राम्रो सम्बन्ध बनाएर नेपालको प्रतिष्ठा बढाउँदै गर्दा जबरजस्ती सङ्ख्याको अहङ्कारले तपाईँहरूले मलाई बाहिर पठाउनुभयो । मैले त्यही बेलामा चुनौतीको साथ भनेको थिएँ, सङ्ख्याले केही नापिँदैन । देखि सकिया छ सङ्ख्या। बङ्गलादेशमा एउटै पार्टीको दुई तिहाइ बहुमत भयो, के भयो? हामी सबैको अगाडि छ, मैले त्यति बेलै भनेको थिएँ । म नयाँ पार्टी जसले विजय हासिल गर्नुभएको छ उहाँहरूलाई म बधाई भन्न चाहन्छु, शुभकामना पनि भन्न चाहन्छु । तर त्यही अहङ्कार तपाईँहरूले दोहोर्याउनुभयो भने यो देशको लागि दुर्भाग्यपूर्ण हुन जान्छ । त्यसकारण तपाईँहरूको पनि नेतृत्व मैले गर्नुपर्ने मैले महसुस गरेको छु । यो मैले बडो विनम्रतापूर्वक, इमान्दारीताका साथ यो मञ्चबाट भनेको छु । ती साथीहरू जो अहिले विजयी भएका छन्, तिनका नेताहरू मेरो क्याबिनेटमा पटक-पटक मन्त्री भएका छन्, म चिन्छु राम्रोसँग। सङ्घीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत मैले देश निकै अप्ठ्यारो परेको बेलामा यसको निकास भनेको अन्तरिम सरकार नै हो, यसको निकास भनेको निर्वाचन नै हो, जनतामा जानु नै हो भनेर सुरुदेखि अहिलेसम्म लगातार दृढ अडानको साथ आम नेपाली जनतालाई अपिल गर्दै राजनीतिक दलहरूलाई निर्वाचनको विकल्प छैन यो देशमा भनेर हिँड्ने पार्टी र त्यसको एउटा प्रमुख नेता हुनुको नाताले मैले अब धेरै सिट ल्याएका साथीहरूलाई अहङ्कारबाट बच्न म तपाईँहरूको लागि धेरै ठुलो गुरु हुन सक्छु । तपाईँहरूको जस्तो लहर मैले ६४ मै देखिसकेको छु। त्यसकारण मैले तपाईँहरूलाई राम्रैसँग नेतृत्व दिनुपर्दछ भन्ने ठानेको छु, यसलाई अहङ्कार नठान्नु होला ।”
हेर्नुहोस् पूरा भिडिओ ।
दाबी
“रास्वपाको नेतृत्व मैले गर्नुपर्ने महसुस गरेको छु” भनेर प्रचण्डले भने ।
दाबीकर्ता
एक्स प्रयोगकर्ता ‘भीष्म (Bhismak1962)’, फेसबुक पेज ‘Nepal Times’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा रुकुम पूर्वबाट निर्वाचित भएपछि प्रचण्डले स्थानीय मतदाताहरूलाई सम्बोधन गर्ने क्रममा आफू प्रतिनिधि सभामा सबैभन्दा वरिष्ठ सांसदको रूपमा रहने बताएका थिए । सोही क्रममा उनले अहिलेको रास्वपाको जस्तै २०६४ मा नै दुई तिहाइको लहर आफूले देखिसकेको बताउँदै उनले अनुभवको आधारमा रास्वपाको नेतृत्व आफूले गर्नुपर्ने महसुस गरेको बताएका हुन् । यद्यपि उनको आशय कस्तो किसिमको नेतृत्व भन्ने स्पष्ट खुलेको छैन ।
निष्कर्ष
रास्वपाको नेतृत्व आफूले गर्नुपर्ने महसुस गरेको भन्दै प्रचण्डले दिएको भाषण साँचो हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: फागुन २४, २०८२ १८:३८
