ग्यारेजदेखि करिब ४ ट्रिलियन डलरको प्रविधि साम्राज्य बनेको एप्पल ५० औँ वार्षिकोत्सवको सङ्घारमा
फागुन २५, २०८२ १०:१९
काठमाडौँ । विश्व प्रविधि जगतको दिग्गल कम्पनी एप्पल इंक आगामी १ अप्रिल, २०२६ मा आफ्नो स्थापनाको ५० औँ वर्षमा प्रवेश गर्दैछ । सन् १९७६ मा स्टिभ जब्स, स्टिभ वोज्नियाक र रोनाल्ड वेनले क्यालिफोर्नियाको एउटा सानो ग्यारेजबाट सुरु गरेको यो कम्पनी आज विश्वको सबैभन्दा मूल्यवान् पब्लिक कम्पनीको रूपमा उभिएको छ ।
एप्पलका सीईओ टिम कुकले हालैको एक आन्तरिक बैठकमा कर्मचारीहरूलाई कम्पनीको ५० औँ वार्षिकोत्सवका लागि तयार रहन र 'स्टे ट्युन्ड' भनेका छन् । कुकका अनुसार कम्पनीले यो माइलस्टोनलाई विशेष बनाउन पुराना अभिलेख, तस्बिर र उत्पादनहरूको अध्ययन गरिरहेको छ । एप्पल सामान्यतया विगतलाई भन्दा भविष्यलाई हेर्ने संस्कृति भएको कम्पनी भए तापनि यस पटक भने आफ्नो आधा शताब्दीको उपलब्धिलाई उत्सवका रूपमा मनाउने तयारीमा छ ।
एप्पलको यात्रा सन् १९७६ मा हातले बनाइएको 'एप्पल आई' बाट सुरु भएको थियो । त्यसपछि सन् १९७७ मा आएको 'एप्पल आईआई' ले पर्सनल कम्प्युटिङलाई घर-घरमा पुर्यायो । सन् १९८४ मा 'म्याकिन्टोस' सार्वजनिक भएसँगै ग्राफिकल युजर इन्टरफेस (जीयूआई) को क्रान्ति नै सुरु भयो, जसले कम्प्युटर चलाउने तरिकालाई नै सदाका लागि बदलिदियो ।
कम्पनीले धेरै आरोह-अवरोहहरू पनि सामना गरेको छ । सन् १९९० को दशकमा टाट पल्टिने अवस्थामा पुगेको एप्पललाई सन् १९९७ मा स्टिभ जब्सको फिर्तीले नयाँ जीवन दियो । जब्स र टिम कुकको जोडीले कम्पनीलाई पूर्ण रूपमा पुनर्संरचना गर्दै सन् २००१ मा आईपड, सन् २००७ मा आईफोन र सन् २०१० मा आईप्याड जस्ता क्रान्तिकारी उत्पादनहरू बजारमा ल्याए । आज विश्वका करिब २.५ अर्ब मानिससँग एप्पलका कुनै न कुनै उत्पादनहरू रहेको बताइन्छ ।
एप्पलको ५० औँ वर्ष केवल उत्सवमा मात्र सीमित हुने छैन, यसले प्रविधिको नयाँ युगको सुरुवात गर्ने सङ्केत पनि गरेको छ । सन् २०२६ मा एप्पलले आफ्नो पहिलो फोल्डेबल आईफोन सार्वजनिक गर्न सक्ने सम्भावना छ । यसका साथै कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित नयाँ रणनीति 'एप्पल इन्टेलिजेन्स' लाई थप सुदृढ बनाउँदै गुगलको गेमनाई प्रविधिद्वारा सञ्चालित एड्भान्स 'सिरी' (Siri) ल्याउने तयारी गरिरहेको छ ।
आफ्नो स्वर्ण जयन्ती मनाउँदै गर्दा एप्पलसामु केही चुनौतीहरू पनि छन् । एआईको दौडमा अन्य प्रतिस्पर्धीभन्दा पछि परेको आरोप, चीनसँगको व्यापारिक तनाव र विश्वव्यापी नियमनकारी निकायहरूको कडा निगरानी एप्पलका लागि मुख्य चुनौती हुन् । यद्यपि एप्पलको बलियो नगद सञ्चित र ब्रान्ड भ्यालुले यसलाई आगामी दशकसम्म पनि नेतृत्वदायी भूमिकामा राख्ने विश्लेषकहरूको बुझाइ छ ।
टिम कुकले एप्पललाई एउटा 'पार्टी अफ वन' को संज्ञा दिएका छन् । जसको अर्थ एप्पल एक युनिक कम्पनी हो, जसलाई कसैले नक्कल गर्न सक्दैन । उनका अनुसार एप्पलको सफलताको रहस्य यसको 'मानिस' र 'संस्कृति' हो । जब्सले छोडेर गएका सिद्धान्तहरू नै आज पनि एप्पलको डीएनएको रूपमा रहेको र यसले आगामी १०० वा २०० वर्षसम्म पनि निरन्तरता पाउने कुकको विश्वास छ । ५० औँ वार्षिकोत्सवको सङ्घारमा रहेको एप्पल अब कुन नयाँ उचाइमा पुग्नेछ, त्यो भने हेर्न बाँकी नै छ ।
पछिल्लो अध्यावधिक: फागुन २५, २०८२ १०:१९
