close

फ्याक्टचेकः चुनाव हारेपछि केपी ओली आँखाभरी आँशु पार्दै मिडियामा आए भन्ने दाबी भ्रामक, भाइरल भिडिओ ९ वर्ष पुरानो

हिक्मत आचार्य हिक्मत आचार्य

फागुन २६, २०८२ १०:९

फ्याक्टचेकः चुनाव हारेपछि केपी ओली आँखाभरी आँशु पार्दै मिडियामा आए भन्ने दाबी भ्रामक, भाइरल भिडिओ ९ वर्ष पुरानो

काठमाडौँ । २१ फागुनमा सम्पन्न चुनावको नतिजा आएसँगै सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निर्वाचन हारेपछि रुँदै मिडियामा प्रस्तुत भएको दाबीसहितको एउटा भिडिओले व्यापक चर्चा पाइरहेको छ ।

झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग भारी मतान्तरले पराजित भएको नतिजा शनिबार सार्वजनिक भएपछि ओली यसरी मिडियामा आएको दाबी उक्त भिडिओमा गरिएको छ । तर, ‘टेकपाना फ्याक्टचेक डेस्क’ले गरेको तथ्यजाँचबाट उक्त दाबी पूर्ण रूपमा भ्रामक रहेको पाइएको छ । भाइरल भइरहेको उक्त भिडिओ अहिलेको नभई ९ वर्ष पुरानो रहेको पुष्टि भएको छ ।

 

दाबी

आइतबार, ८ मार्च २०२६ बेलुका ८ः४२ मिनेटमा ‘Artha Chautari’ नामक भेरिफाइड फेसबुक पेजले एक भिडिओ पोस्ट गर्‍यो । भिडिओको क्याप्सनमा लेखिएको छ , “चुनाव हारेपछी आँखा भरी आँसु पार्दै केपी ओलि पहिलोपटक मिडियामा, यस्तो भने नयाँ सरकार बारे ।” 

५ मिनेट ४४ सेकेन्डको उक्त भिडिओको सुरुवातमै अन्तर्वार्ताकारले ‘स्वास्थ्य कस्तो छ तपाईंको भन्दै’ प्रश्न गरेका छन् । र, ओलीले ‘एक दुई दिनबाट चिसो लागेको भन्ने’ जवाफ दिएका छन् । ‘गर्मीमा पनि चिसो लाग्यो तपाईंलाई’ भन्ने प्रश्नमा ‘मौसम त्यस्तै थियो’ भन्ने जवाफ ओलीले फर्काएका छन् । बाँकी व्यक्तिगत विषयमा कुराकानी भएको देखिन्छ । त्यस भिडिओमा उनले प्रधानमन्त्रीबाट राजीनामा दिएको प्रसङ्ग पनि निकालिएको छ । यस भिडिओमा निर्वाचनमा पराजित भएको, त्यसमा बेहोरेको हारलाई लिएर दुखी भएको भन्ने कुनै सन्दर्भ नै छैन । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा २० लाख बढी भ्युज छ भने यसलाई एक हजार बढीले शेयर गरेका छन् । त्यस्तै ५८ हजार बढीले रियाक्ट गरेको भिडिओमा चार हजार बढी कमेन्ट आएका छन् । हेर्नुहोस् भिडिओ र स्क्रिनरेकर्ड । 

 

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कले यस्ता पोस्ट फेला पार्न किफ्रेम निकालेर गुगलमा रिभर्स इमेज सर्च गर्दा ‘बिर बहादुर कामी’ नामक फेसबुक प्रयोगकर्ताले सोमबार बिहान पोस्ट गरेको फेला पर्‍यो । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

त्यस्तै ‘Babina Bhattarai’ नामक फेसबुक प्रयोगकर्ताले पनि त्यही भिडिओ उही क्याप्सनसहित पोस्ट गरेको फेला पर्‍यो । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा ५४०० बढी रियाक्सन आएको छ भने २७० ओटा कमेन्ट आएका छन् । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट ।

टिकटकमा ‘@official0_10’ युजरनेमका प्रयोगकर्ताले पनि उक्त भिडिओ पोस्ट गरेका छन् । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट ।

भिडिओ आफैमा फरक सन्दर्भको जस्तो देखिन्छ । सुरुवातमै सन्चो नभएको कुरा गरिएको छ भने मौसम पनि गर्मी भइरहेको छ भनिएको छ । त्यस्तै कतै पनि चुनावको चर्चा नै भएको छैन । भिडिओ शङ्कास्पद रहेको देखिएपछि किफ्रेमबाट रिभर्स इमेज सर्च गर्दा ‘HaHa Nepal’ नामक युट्युब च्यानलले १९ सेप्टेम्बर २०२५ मा १ घण्टा २१ मिनेटको भिडिओ राखेको फेला पर्‍यो । हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 

यसमा माथिपट्टि ‘Hamrokatha.com’ को वाटरमार्क राखेको फेला पर्‍यो । हामीले युट्युबमा ‘Hamro Katha KP Sharma Oli’ किवर्ड सर्च गर्‍यौं । 

त्यस क्रममा ‘Dekhapadhi Stories’ नामक च्यानलमा ३ अगस्ट २०१६ मा अपलोड भएको १ घण्टा २२ मिनेट लामो अन्तर्वार्ता फेला पर्‍यो । उक्त भिडिओको शिर्षक छ, “KP Oli | केपी ओली | Prime Minister | My Dream | मेरो सपना | Full Interview | Hamrokatha” हेर्नुहोस् भिडिओ । 

भिडिओको सुरुवाती पाँच मिनेटको संवाद न अहिले भाइरल भइरहेको भिडिओ हो । यसबाट के खुल्यो भने ओलीले निर्वाचन हारेपछि पहिलो पटक मिडियामा बोले भन्ने दाबी भ्रामक हो । उक्त क्लिपमा न रोएको दृश्य छ न त उनी चिन्तित भएको नै देखिन्छ । त्यसबेला उनको स्वास्थ्य अवस्था ठिक नभएको (चिसो लागेको) ले उनको हाउभाउ त्यस्तो देखिएको थियो । 

उक्त भिडिओमा ‘मैले किन देखाएँ सपना शिर्षकमा प्रधानमन्त्रीको बिदाइ अन्तरवार्ता’ शीर्षक उल्लेख छ । त्यस समयमा भएका घटनाक्रम खोज्न गुगल एड्भान्स सर्चमा समाचार खोज्दा १० साउन २०७३ मा अनलाइन खबरमा ‘प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामा घोषणा’ शीर्षकको समाचार फेला पर्‍यो । २४ जुलाई २०१६ मा अल्पमतमा परेपछि ओलीले आफ्नो पदबाट राजीनामा दिएका थिए । त्यसको झन्डै १० दिनपछि उक्त अन्तर्वार्ता प्रसारित भएको थियो । यद्यपि उक्त भिडिओको कुराकानी सुन्दा अन्तर्वार्ता राजीनामा दिनुअघि नै रेकर्ड गरिएको भन्ने देखिन्छ । 

हामीले २०८२ को निर्वाचनपछि पूर्वप्रधानमन्त्री ओलीको विषयमा रहेका समाचार खोज्यौँ । उनी झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह (बालेन)सँग ४९ हजार बढीको मतान्तरले पराजित भएको भन्ने समाचार फेला परे । त्यसपछिका ओलीका अन्तर्वार्ता खोज्दा कतै पनि फेला परेनन् । अर्थात् ओलीले निर्वाचन सम्पन्न भइसकेदेखि यो फ्याक्टचेक सामग्री तयार पार्दासम्म कुनै पनि सञ्चार माध्यममा अन्तर्वार्ता दिएका छैनन् ।

यी विभिन्न तथ्यबाट के पुष्टि भयो भने २०८२ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा हार बेहोरेपछि पूर्वप्रधानमन्त्री ओली रुँदै मिडियामा आए भन्ने दाबी भ्रामक हो । भाइरल भइरहेको भिडिओ ९ वर्ष पुरानो हो ।  

 

दाबी

'प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२' मा झापा-५ बाट पराजित भएपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आँखाभरि आँसु पार्दै (रुँदै) पहिलोपटक मिडियामा आए ।

 

दाबीकर्ता

‘Artha Chautar’ नामक भेरिफाइड फेसबुक पेज (यो दर्ता भएको अनलाइन सञ्चारमाध्यम समेत हो), ‘बिर बहादुर कामी’, ‘Babina Bhattarai’ नामक फेसबुक पेज तथा प्रयोगकर्ता,  '@official0_10' युजरनेमको टिकटक अकाउन्ट र ‘Haha Nepal’ नामक युट्युब च्यानल लगायत ।

 

तथ्य

भाइरल भिडिओमा चुनाव हारेको वा दुःख व्यक्त गरेको कुनै सन्दर्भ छैन । कुराकानीको सुरुवातमै ओलीले आफूलाई 'चिसो लागेको' बताएका छन् । यो भिडिओ अहिलेको नभई ९ वर्ष पुरानो हो । यो क्लिप ३ अगस्ट २०१६ मा 'Dekhapadhi Stories' (Hamrokatha) नामक युट्युब च्यानलमा अपलोड भएको ‘मैले किन देखाएँ सपना’ शीर्षकको लामो अन्तर्वार्ताको सुरुवाति ५ मिनेटको अंश हो।

१० साउन २०७३ (२४ जुलाई २०१६) मा प्रधानमन्त्री पदबाट राजीनामा दिने सेरोफेरोमा यो अन्तर्वार्ता रेकर्ड गरिएको थियो । भिडिओमा देखिएको उनको हाउभाउ रुनुको कारणले नभई चिसो लागेर अस्वस्थ भएको कारणले थियो । २०८२ को चुनावमा रास्वपाका बालेन्द्र शाहसँग पराजित भएपछि यो फ्याक्टचेक गर्दासम्म ओलीले मिडियामा आएर कुनै पनि अन्तर्वार्ता दिएको समाचार वा प्रमाण कतै फेला परेको छैन ।

 

निष्कर्ष

चुनाव हारेपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रुँदै मिडियामा आएको भन्ने दाबी रूपमा भ्रामक हो । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओ २१ फागुनमा सम्पन्न चुनावपछिको नभई ९ वर्ष पुरानो (सन् २०१६ को) हो, जसमा उनी चुनाव हारेर रोएको नभई चिसो लागेर अस्वस्थ भएको तथ्य भेटिएको छ ।

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन २६, २०८२ १०:२८