close

ऊर्जा सङ्कटका कारण बङ्गलादेशभरका विश्वविद्यालयहरू बन्द

टेकपाना टेकपाना

फागुन २६, २०८२ १२:२९

ऊर्जा सङ्कटका कारण बङ्गलादेशभरका विश्वविद्यालयहरू बन्द

काठमाडौँ । बङ्गलादेश सरकारले मध्यपूर्वमा बढ्दै गएको द्वन्द्वका कारण उत्पन्न विश्वव्यापी ऊर्जा सङ्कटलाई सम्बोधन गर्न देशभरका सबै सरकारी तथा निजी विश्वविद्यालयहरू बन्द गर्ने आदेश दिएको छ । बिजुली र इन्धन बचत गर्ने उद्देश्यले यस्तो आपत्कालीन निर्णय लिइएको हो, जुन सोमबार, ९ मार्च २०२६ देखि लागु भएको छ ।

बङ्गलादेशको शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार विश्वविद्यालयहरूलाई उनीहरूको शैक्षिक क्यालेन्डरमा तय गरिएको ईद-उल-फितरको बिदा अगाडि नै सुरु गर्न भनिएको छ । विश्वविद्यालयका आवासीय हल, कक्षा कोठा र प्रयोगशालाहरू सञ्चालन गर्न ठुलो मात्रामा बिजुली आवश्यक पर्ने भएकाले यो कदम चालिएको हो ।

विश्वविद्यालय अनुदान आयोगलाई कार्यान्वयनको जिम्मा दिइएको यो निर्णयसँगै सरकारले ११ बुँदे ऊर्जा संरक्षण निर्देशिका पनि जारी गरेको छ । जसमा दिउँसोको समयमा प्राकृतिक प्रकाशको अधिकतम प्रयोग गर्ने, वातानुकूलित (एसी) प्रणालीको तापक्रम २५ डिग्री सेल्सियस वा सोभन्दा माथि राख्ने र अनावश्यक बत्ती तथा सवारी साधनको प्रयोगमा रोक लगाउने उल्लेख छ ।

बङ्गलादेशको यो ऊर्जा सङ्ट प्रत्यक्ष रूपमा इरान, इजरायल र अमेरिकाबिचको बढ्दो तनावसँग जोडिएको छ । गत २८ फेब्रुअरीमा इरानी सैन्य ठेगानाहरूमा भएको अमेरिकी-इजरायली आक्रमण र सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्यापछि यो द्वन्द्व चर्किएको हो । यसको प्रतिवादमा इरानले साउदी अरब, कुवेत र बहराइनका तेल प्रशोधन केन्द्रहरूमा ड्रोन र मिसाइल आक्रमण गरेपछि विश्वव्यापी ऊर्जा बजारमा अस्थिरता आएको छ । विशेष गरी तेल आपूर्तिको प्रमुख मार्ग हर्मुज अवरुद्ध हुने डरले इन्धनको मूल्यमा भारी वृद्धि भएको हो ।

बङ्गलादेश आफ्नो ऊर्जा आवश्यकताको करिब ९५ प्रतिशत आयातमा निर्भर छ । कतार इनर्जीले 'फोर्स मेजर' (आपूर्ति गर्न असमर्थता) घोषणा गरेपछि बङ्गलादेशले अन्तर्राष्ट्रिय बजारबाट प्रति मिलियन बीटीयू २० देखि २८ डलर सम्मको उच्च मूल्यमा तरल प्राकृतिक ग्यास (एलएनजी) खरिद गरिरहेको छ । सन् २०२५ को तथ्याङ्क अनुसार बङ्गलादेशले आफ्नो कूल एलएनजी आयातको ७४.९ प्रतिशत कतारबाट मात्रै गर्ने गरेको थियो ।

इन्धन अभावका कारण ढाका र चट्टोग्रामका पेट्रोल पम्पहरूमा सवारी साधनको लामो लाइन लागेको छ भने सरकारले इन्धन बिक्रीमा दैनिक सीमा तोकेको छ । ग्यासको अभावले गर्दा बङ्गलादेशका पाँचमध्ये चारवटा सरकारी मल कारखानाहरू बन्द भएका छन् र उपलब्ध ग्यास बिजुली उत्पादनका लागि प्रयोग गरिएको छ ।

यस कठिन परिस्थितिमा बङ्गलादेशले छिमेकी राष्ट्र भारतसँग सहयोगको हात बढाएको छ । बङ्गलादेश सरकारले इन्डियन आयल कर्पोरेसन लिमिटेड र नुमलिगढ रिफाइनरी लिमिटेडबाट आगामी चार महिनाभित्र ५०,००० टन डिजेल आपूर्ति गरिदिन अनुरोध गरेको छ ।

यसबाट विश्वव्यापी ऊर्जा सङ्कटको चपेटामा परेका विकासोन्मुख देशहरूको संवेदनशीलता उजागर भएको छ । अधिकारीहरूले परिस्थिति सुधार नभएसम्म नागरिकहरूलाई ऊर्जाको बुद्धिमानी प्रयोग गर्न र अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन् ।

पछिल्लो अध्यावधिक: फागुन २६, २०८२ २०:३०