सामाजिक सञ्जालमा बाँदरलाई अमानवीय रूपमा मारेको भिडिओ भाइरल, एक युवक पक्राउ
फागुन २७, २०८२ १२:२
सांकेतिक तस्बिर
काठमाडौँ । सामाजिक सञ्जालमा बाँदरलाई तड्पाएर कुकुर लगाएर मारेको भिडिओ सार्वजनिक भएपछि ताप्लेजुङ प्रहरीले उक्त भिडिओ पोस्ट गर्ने एक युवकलाई पक्राउ गरेको छ । खेतको बालीनाली जोगाउन बनाइएको पासोमा परेको बाँदरलाई अमानवीय तरिकाले कुकुर लगाएर टोकाएर मारेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट भएपछि विभिन्न पशु अधिकारकर्मी, संघसंस्था र सरोकारवाला निकायले कारबाही गर्न प्रहरीको ध्यानाकर्षण गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सो घटना प्रतिनिधि सभाको निर्वाचनभन्दा अगाडिको भए पनि भिडिओ भने हालै मात्र सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो । प्रहरीले उक्त भिडिओ पोस्ट गर्ने र घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय ‘संगम’ भन्ने छुप्पु हेम्ब्यालाई पक्राउ गरेको छ ।
पक्राउ परेका हेम्ब्याको स्थायी ठेगाना पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं. २ सिंहपुर रहेको र उनी हाल ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका वडा नं. २ थेचम्बुमा बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार पक्राउ परेका ती युवकमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
पछिल्लो अध्यावधिक: फागुन २७, २०८२ १२:१५
