close

भ्युजको लोभमा एआई सिर्जित तस्बिरमार्फत नेताहरूको चरित्रहत्या गर्दै टिकटकर रितु बस्नेत

टेकपाना टेकपाना

फागुन २७, २०८२ १२:२९

भ्युजको लोभमा एआई सिर्जित तस्बिरमार्फत नेताहरूको चरित्रहत्या गर्दै टिकटकर रितु बस्नेत

काठमाडौँ । टिकटकर रितु बस्नेतले ‘भ्युज’को लोभमा चर्चित राजनीतिक नेतासँग आफ्ना तस्बिरलाई एआईको प्रयोग गरी अश्लील र अपाच्य अर्थ लाग्ने बनाएर सामाजिक सञ्जालमा शेयर गरेको पाइएको छ । एक लाख ७३ हजारभन्दा बढी फलोअर भएको आफ्नो फेसबुक पेजमार्फत उनले यस्ता अपाच्य अर्थ लाग्ने तस्बिर र क्याप्सन राख्ने गरेकी हुन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा सुनसरी क्षेत्र नम्बर १ बाट जितेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँगको एउटा तस्बिर उनले सोमबार आफ्नो फेसबुक पेजमा पोस्ट गरेकी छिन् । 

उक्त तस्बिरमा दुवैले एकअर्कालाई अङ्कमाल गरेको देखाइएको छ भने तस्बिरको कुनै सन्दर्भ खुलाइएको छैन । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ४२ हजारभन्दा बढी रियाक्सन, ४ हजार ६ सयभन्दा बढी कमेन्ट र २३८ सेयर पुगिसकेको छ ।

यसैगरी, बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट झापा-५ का विजयी उम्मेदवार बालेन्द्र शाह (बालेन) सँग सँगै बसेको एआई तस्बिर पनि बनाएर पोस्ट गरेकी छिन् ।

त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई चुम्बन गरिरहेको जस्तो देखिने अर्को तस्बिरसमेत सार्वजनिक गरेकी छिन् । वास्तविक नै हो भन्ने भान पार्ने आशयले उनले यी पोस्टमा क्याप्सन पनि राखेकी छिन् ।

बस्नेतले यी सामग्री मनोरञ्जनको उद्देश्यले राखेको जस्तो देखिए पनि अधिकांश प्रयोगकर्ताले यसलाई नेताको ‘चरित्रहत्या’ भएको भन्दै आपत्ति जनाएका छन् । सांसद भइरहेका र राजनीतिमा लामो अनुभव सँगालेका व्यक्तिको चरित्रहत्या गर्न एआईको दुरुपयोग गरिएको भन्दै उनको पोस्टमा धेरैले आलोचना गरेका छन् । साथै, गलत अर्थ लाग्ने गरी तस्बिर बनाएर पोस्ट गरेको भन्दै कतिपयले उनलाई कारबाही हुनुपर्ने माग समेत गरेका छन् ।

कसैलाई समर्थन गर्नु एउटा कुरा भए पनि, यसरी सार्वजनिक ओहदामा रहेका व्यक्तिको प्रतिष्ठामा आँच पुग्ने गरी अश्लील र अपाच्य सामग्री राख्नु गलत भएको सामाजिक सञ्जाल प्रयोगकर्ताको तर्क छ । तस्बिर देखेपछि कतिपय प्रयोगकर्ता यी दृश्य वास्तविक हुन् वा एआई हुन् भन्नेमा आशङ्कामा परेका थिए । यद्यपि, टेकपानाले यी तीनओटै अश्लील र अपाच्य अर्थ लाग्ने तस्बिर एआई सिर्जित पुष्टि भएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २७, २०८२ १२:३१