अमेरिकी वर्ल्ड वार मेमोरियलमा खिचेको डान्स भिडिओ भाइरल, भारतीय मूलका इन्जिनियरलाई देशनिकाला हुनसक्ने
फागुन २७, २०८२ १३:४४
काठमाडौँ । अमेरिकाको वाशिङ्टन डीसीस्थित नेशनल वर्ल्ड वार २ मेमोरियलमा खिचिएको एउटा डान्स भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि भारतीय मूलका एक सफ्टवेयर इन्जिनियर ठुलो विवादमा फसेका छन् । यो घटनाले उनलाई केवल सामाजिक सञ्जालमा आलोचना मात्र दिलाएको छैन, बरु उनको व्यावसायिक करियर र अमेरिकामा बस्ने कानुनी हैसियतमा समेत गम्भीर सङ्कट पैदा गरेको छ ।
भिडिओमा देखिएका मुख्य व्यक्ति मधु राजु हुन् । जो डलास, टेक्ससमा बस्छन् र अमेरिकी साइबर सेक्युरिटी कम्पनी पालो अल्टो नेटवर्कमा जुन २०२५ देखि क्लाउड नेटवर्क सेक्युरिटी इन्जिनियरको रूपमा कार्यरत छन् । राजुले डलासमा म्याड डलास नामक एक डान्स स्टुडियो समेत सञ्चालन गर्दै आएका छन् ।
भाइरल भिडिओमा राजु र एक महिला (जसलाई कतिपयले गायिका मनिषा एराबथिनी भएको दाबी गरेका छन्) ले टिकटकको चर्चित डन्ट रश च्यालेन्ज (Don't Rush Challenge) मा कोरियोग्राफ गरिएको डान्स स्टेपहरू प्रस्तुत गरेका थिए । यो भिडिओ १ करोड ६ लाखन अमेरिकी सैनिकहरूको सम्मानमा बनाइएको र ४ लाखभन्दा बढी शहीदहरूको सम्झनामा समर्पित पवित्र स्थल नेसनल वर्ल्ड वार २ मेमोरियलको अगाडि खिचिएको थियो ।
वर्ल्ड वार २ मेमोरियललाई अमेरिकामा अत्यन्तै सम्मानजनक र पवित्र स्थल मानिन्छ । नेसनल पार्क सर्भिसका अनुसार यस्ता स्मारकहरूमा 'डेमोन्स्ट्रेसन' (प्रदर्शन) वा व्यावसायिक शैलीका फिल्मिङ गर्न कडा प्रतिबन्ध लगाइएको छ । ३६ सीएफआर ७.९६ को नियम अनुसार मेमोरियल क्षेत्रमा डान्स गर्ने, जगिङ गर्ने वा होहल्ला गर्ने जस्ता गतिविधिहरूलाई मर्यादा विपरीत मानिन्छ । यस्ता गतिविधिले त्यहाँको शान्त र शोकपूर्ण वातावरणलाई खलल पुर्याउने हुँदा यसलाई गैर कानुनी समेत मान्न सकिने बताइएको छ ।
भिडिओ भाइरल भएपछि सामाजिक सञ्जालमा अमेरिकीहरूले ठुलो आक्रोश व्यक्त गरेका छन् । धेरै अमेरिकी प्रयोगकर्ता र भेट्रान (भूतपूर्व सैनिक) समूहहरूले यसलाई शहीदहरूको अपमान भनेका छन् । विवाद बढ्दै गएपछि एक सामाजिक कार्यकर्ताले राजुको रोजगारदाता कम्पनी पालो अल्टो नेटवर्कलाई ट्याग गर्दै उनलाई कारबाही गर्न माग समेत गरे । केही अपुष्ट रिपोर्टहरूले कम्पनीले उनलाई जागिरबाट हटाएको दाबी गरेका छन्, यद्यपि कम्पनीले यसबारे औपचारिक विज्ञप्ति जारी गरिसकेको छैन ।
यो तीव्र दबाबपछि राजुले लिङ्क्डइन, इन्स्टाग्राम , टिकटक लगायतका आफ्ना सबै सामाजिक सञ्जाल अकाउन्ट र आफ्नो डान्स स्टुडियोको वेबसाइट समेत बन्द गरेका छन् । उनले पछि माफी माग्दै आफूले कसैको भावनामा चोट पुर्याउने नियतले डान्स नगरेको बताएका छन् ।
देशनिकाला (डिपोर्टेसन) को खतरा
मधु राजु हाल अमेरिकामा गैर-आप्रवासी एच-वनबी भिसा मा रहेको बताइएको छ । अमेरिकी अध्यागमन अधिकारीहरूले राजुको यो आचरण उनको भिसा सर्तहरूको उल्लङ्घन हो कि होइन भनेर समीक्षा गरिरहेको उल्लेख छ ।
अमेरिकी कानुन अनुसार कुनै पनि भिसा धारकले सार्वजनिक व्यवस्था बिगार्ने वा सङ्घीय स्मारकहरूमा मर्यादा विपरीत कार्य गरेमा उनीहरूको भिसा रद्द हुन सक्छ । यदि उनीमाथि 'डिसअर्डली कन्डक्ट' (अभद्र व्यवहार) को अभियोग लागे र प्रमाणित भएमा देशनिकालाको सामना गर्नुपर्ने हुन सक्छ ।
यो घटनाले इन्टरनेटमा अर्को एउटा ठुलो बहस पनि निम्त्याएको छ । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई 'नश्लवाद' सँग जोडेका छन् । उनीहरूले अन्य अमेरिकी (श्वेत) पर्यटकहरूले पनि सोही स्थानमा डान्स गरिरहेका वा रमाइलो गरिरहेका पुराना भिडिओहरू शेयर गर्दै प्रश्न गरेका छन्- "यदि गोराहरूले गर्दा केही नहुने, तर भारतीयले गर्दा किन देशनिकालाको माग गरिँदैछ ?"
कतिपयले यो घटनालाई वर्तमान ट्रम्प प्रशासनको कडा अध्यागमन नीति र आप्रवासीहरू विरुद्ध बढ्दो भावनाको उपजको रूपमा पनि हेरेका छन् ।यतिबेला मधु राजु अमेरिकामै छन् । तर उनको भविष्यबारे अन्तिम निर्णय आउन बाँकी छ । यो घटनाले सामाजिक सञ्जालका लागि कन्टेन्ट बनाउँदा ऐतिहासिक र संवेदनशील स्थलहरूको महत्त्व र त्यसका कानुनी जटिलताहरूलाई बुझ्न आवश्यक छ भन्ने कुरालाई बोध गराएको छ ।
पछिल्लो अध्यावधिक: फागुन २७, २०८२ १३:४५
