close

फ्याक्टचेकः नक्कली स्क्रिनशटलाई आधार बनाएर नागरिक न्युज र देशसञ्चारले फैलाए रवि-बालेनबारे झुटो समाचार

हिक्मत आचार्य हिक्मत आचार्य

फागुन २७, २०८२ १९:४१

फ्याक्टचेकः नक्कली स्क्रिनशटलाई आधार बनाएर नागरिक न्युज र देशसञ्चारले फैलाए रवि-बालेनबारे झुटो समाचार

काठमाडौँ । बुधबार नागरिक दैनिकको अनलाइन संस्करणले एउटा समाचार प्रकाशित गरेको छ । उक्त समाचारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई शुभकामना दिँदा आफ्नो ‘हात काँपिरहेको’ बताएको दाबी गरिएको छ । समाचारको स्रोतका रूपमा रवि लामिछानेको सामाजिक सञ्जाललाई उल्लेख गरिएको छ । तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्य जाँचबाट उक्त दाबी मिथ्या रहेको पुष्टि भएको छ ।

वास्तवमा रवि लामिछानेले शुभकामना दिने त्यस्तो कुनै पोस्ट नै गरेका छैनन् । कुनै एक प्रयोगकर्ताले लेखेको क्याप्सनलाई एडिट गरी रविले बालेनलाई शुभकामना दिएको जस्तो देखिने स्क्रिनशट सामाजिक सञ्जालमा भाइरल गराइएको हो । नागरिक न्युजले त्यही नक्कली स्क्रिनशटलाई आधार मानेर समाचार बनाएको पुष्टि हुन्छ ।

दाबी

बुधबार, ११ मार्च २०२६ मा नागरिक न्युजले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा पोस्ट राख्यो । पोस्टको क्याप्सनमा लेखिएको छ,“रविले दिए बालेन्द्रलाई शुभकामना, भने : मेरो हात काँपिरहेको छ

सामाजिक संजालमा बधाई दिँदै उनले बालेनलाई विजयको शुभकामना दिइरहँदा आफ्नो हात काँपेको बताएका छन्।” 

त्यसभन्दा तल समाचारको लिङ्क राखिएको छ । समाचारमा लेखिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वरिष्ठ नेतालाई शुभकामना दिएका छन्।  

सामाजिक संजालमा बधाई दिँदै उनले बालेनलाई विजयको शुभकामना दिइरहँदा आफ्नो हात काँपेको बताएका छन्। 

'प्रिय बालेन, तपाईलाई विजयको शुभकामना दिइरहँदा मेरो हात काँपिरहेको छ - डरले होइन, जिम्मेवारीको बोझले।' उनले लेखेका छन्। 

प्रधानमन्त्रीको रुपमा बालेनलाई हेर्न चाहने नागरिकको आशा कहिल्यै नमार्नेमा पनि विश्वस्त भएको उनले बताएका छन् ।  

'तपाईलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहने यो देशको आशालाई तपाईले कहिल्यै मर्न दिनुहुने छैन भन्ने मलाई विश्वास छ। याद राख्नुहोला, हामी हार्दा एउटा पार्टी हार्दैन बरु यो देशको करोडौं निमुखा जनताको आशा मर्छ। र आशा मार्ने अधिकार हामी कसैलाई छैन।,' लामिछानेले भने, 'हाम्रो लागि राजनीति पेसा होइन, यो त हाम्रा पूर्वजहरुको बलिदान र भावी पुस्ताको भविष्यप्रतिको ऋण तिर्ने माध्यम हो ।’

हेर्नुहोस् फेसबुक पोस्ट (आर्काइभ लिङ्क), समाचार (आर्काइभ लिङ्क) ।

अनुसन्धान

रवि लामिछानेले बालेनलाई शुभकामना दिएको र शुभकामना दिँदा हात काँपेको भन्नेबारे पोस्ट लेखेको भन्ने दाबीबारे टेकपाना फ्याक्टचेक डेस्कले अनुसन्धान सुरु गर्‍यो । त्यस क्रममा देशसञ्चार डटकम नामक सञ्चारमाध्यमले ‘बालेनलाई शुभकामना दिँदै रविले भने- मेरो हात काँपिरहेको छ’ शीर्षकमा समाचार राखेको फेला पर्‍यो । हेर्नुहोस् समाचार आर्काइभ लिङ्क । यही पोस्ट कपी गर्दै अन्य फेसबुक पेजहरूले पनि शेयर गरेको पाइयो । 

त्यस क्रममा फ्याक्टचेक डेस्कले सबैभन्दा पहिले यी दुई सञ्चारमाध्यमले प्रकाशित गरेको समाचारको भाषालाई आधार बनायो । समाचारको आधारभूत सिद्धान्त ‘छ क’ नै पालना नभएको पाइयो । कहिले शुभकामना दिए, कुन प्लेटफर्ममा शुभकामना दिए केही पनि खुलाइएको छैन । यसले नै समाचार अपूर्ण रहेको देखायो । 

त्यसपछि हामीले रवि लामिछानेका सामाजिक सञ्जालका प्लेटफर्म फेसबुक (अकाउन्ट), एक्समा यसबारे खोज्यौं । तर, रविले बालेनलाई शुभकामना दिएको विषयमा पोस्ट नै फेला पार्न सकेनौं । त्यसपछि रवि लामिछानेको कोटका रूपमा राखिएको टेक्स्टलाई गुगल एड्भान्स सर्चमा खोज्यौं । त्यस क्रममा एउटा स्क्रिनशट फेला पर्‍यो । 

२८ फेब्रुअरी २०२६ मा ‘Online News Nepal’ नामक फेसबुक ग्रुपमा ‘Laxman Tharu’ नामका प्रयोगकर्ताले पोस्ट राखेको फेला पर्‍यो । पोस्टको क्याप्सनमा लेखिएको छ, “रास्वपा का सभापति रवि लामिछाने भन्नुहुन्छ : प्रिय बालेन, तपाईंलाई विजयको शुभकामना दिइरहँदा मेरो हात काँपिरहेको छ - डरले होइन, जिम्मेवारीको बोझले। तपाईंलाई प्रधानमन्त्रीको रूपमा हेर्न चाहने यो देशको आशालाई तपाईंले कहिल्यै मर्न दिनुहुने छैन भन्ने मलाई विश्वास छ। याद राख्नुहोला, हामी हार्दा एउटा पार्टी हार्दैन, बरु यो देशका करोडौँ निमुखा जनताको 'आशा' मर्छ। र, आशा मार्ने अधिकार हामी कसैलाई छैन। "हाम्रो लागि राजनीति पेसा होइन, यो त हाम्रा पूर्वजहरूको बलिदान र भावी पुस्ताको भविष्यप्रतिको ऋण तिर्ने माध्यम हो” । त्यसको तलपट्टि फोटो राखिएको छ, जहाँ रवि लामिछानेले भेरिफाइड फेसबुक अकाउन्टबाट बालेनको फोटो राख्दै शुभकामना दिएको देखाइएको छ । 

रिभर्स इमेज सर्च गर्दा उक्त फोटो बालेन शाहले आफ्नो फेसबुक पेजमा २७ फेब्रुअरी २०२६ मा पोस्ट गरेको फेला पर्‍यो । हेर्नुहोस् फेसबुक पोस्ट । 

उक्त स्क्रिनशट पनि अस्वाभाविक देखियो । माथि रवि लामिछानेको नाम र तल रहेको अक्षर नै मिल्दैन । माथि नाम बोल्ड देखिन्छ भने तलपट्टिको टेक्स्ट सामान्य देखिन्छ । तर, त्यो टेक्स्ट पनि जस्तो फेसबुक पोस्ट देखिन्छ त्यस्तो देखिंदैन । यो फेसबुकको एन्ड्रोइड एपबाट लिइएको स्क्रिनशट जस्तो देखिन्छ । यसैलाई परीक्षण गर्न हामीले फेसबुक अकाउन्टमा यही क्याप्सन र फोटो राखेर पोस्ट हर्‍यौ । यसबाट रवि लामिछानेको भन्दै राखिएको स्क्रिनशट एडिटेड रहेको पुष्टि हुन्छ । 

हामीले थप खोज्ने क्रममा यही क्याप्सन ‘Rabin Yadav’ नामका फेसबुक प्रयोगकर्ताले ४ मार्चमा राखेको पाइयो । उनी सहित अन्य फेसबुक प्रयोगकर्ताले पनि त्यही क्याप्सन राखेको फेला पर्‍यो । यद्यपि यो क्याप्सन सबैभन्दा पहिले कसले राखेको थियो भन्ने पुष्टि गर्न सकिएन । तर, रवि लामिछानेको नामबाट राखिएको स्क्रिनशट भन्ने नक्कली पुष्टि हुन्छ । यसरी नक्कली स्क्रिनशटलाई आधार बनाएर देशसञ्चार र नागरिक न्युजले राखेको समाचार मिथ्या पुष्टि हुन्छ ।

दाबीकर्ता

नागरिक न्युज र देशसञ्चार जस्ता सञ्चारमाध्यम तथा नक्कली स्क्रिनशट शेयर गर्ने सामाजिक सञ्जालका प्रयोगकर्ता ।

दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा पोस्ट गर्दै वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई विजयको शुभकामना दिएको र उक्त पोस्टमा शुभकामना दिँदा हात काँपिरहेको छ भनेका छन्’ भनी लेखेको दाबी ।

तथ्य

रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक वा एक्स जस्ता सामाजिक सञ्जालमा बालेनलाई शुभकामना दिँदै त्यस्तो कुनै पनि पोस्ट गरेका छैनन् । सामाजिक सञ्जालमा भाइरल भएको उक्त पोस्ट पूर्ण रूपमा एडिट गरिएको नक्कली स्क्रिनशट हो । Laxman Tharu नामका प्रयोगकर्ताले २८ फेब्रुअरीमै उक्त नक्कली स्क्रिनशट पोस्ट गरेका थिए । उक्त पोस्टमा बालेनले नै राखेको पुरानो फोटोलाई जोडेर रविको आधिकारिक अकाउन्टबाट पोस्ट भएजस्तो देखिने गरी नक्कली स्क्रिनशट बनाइएको थियो ।

निष्कर्ष

रवि लामिछानेले बालेनलाई शुभकामना दिँदा ‘हात काँपिरहेको’ भनी सामाजिक सञ्जालमा पोस्ट गरेको भन्ने दाबी मिथ्या हो । ‘नागरिक न्युज’ र ‘देशसञ्चार’ ले नक्कली स्क्रिनशटलाई आधार बनाई लेखेको समाचार मिथ्या हो । 

 

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन २७, २०८२ २०:८