अनेरास्ववियु नेतृ प्रीति दाहाललाई सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की, साइबर ब्युरोमा उजुरी दर्ता
फागुन २८, २०८२ ७:३९
काठमाडौँ । एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुकी नेतृ प्रीति दाहालले आफू र आफ्नो परिवारलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिनेविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएकी छिन् । मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै नेतृ दाहालले आफूलाई निरन्तर धम्की र गालीगलौज आएपछि कानुनी उपचार खोजेको जानकारी दिएकी हुन् ।
आफ्नो राजनीतिक आस्था र निष्ठामाथि वैचारिक प्रहार गर्न नसक्ने ‘साइबर अपराधी’ले परिवार र ज्यानकै धम्की दिएको उनले उल्लेख गरेकी छिन् । आफूले पटक-पटक संयमता अपनाउँदा पनि धैर्यतालाई कमजोरी ठानिएपछि विद्युतीय कारोबार ऐन, २०६३ र प्रचलित कानुनबमोजिम ब्युरोमा आधिकारिक उजुरी दिएको उनको भनाइ छ ।
नेतृ दाहालले ‘कायर’को धम्कीले आफू १ इन्च पनि विचलित नहुने भन्दै लेखेकी छिन्, “विचारको महासङ्ग्राममा तर्कले हार्नेहरू नै हिंसा र गालीको सहारा लिन्छन् । कायरहरूको धम्कीले विचारको मसाल निभ्दैन ।”
सामाजिक सञ्जालमा गालीगलौज, मानमर्दन र ज्यान मार्ने धम्की दिनु अक्षम्य अपराध भएको भन्दै उनले प्रविधिको पर्दा पछाडि लुकेर निजी जीवन र सुरक्षामाथि खेलबाड गर्नेलाई कानुनले पातालबाटै भए पनि खोजेर कठघरामा उभ्याउने विश्वास व्यक्त गरेकी छिन् । आफ्नो आस्था र सिद्धान्तलाई आफ्नो गौरव बताउने दाहालले आफूमाथिको प्रहारलाई विचारमाथिको प्रहारको रूपमा लिएको र यसको सामना कानुनी र राजनीतिक दुवै मोर्चाबाट गर्न तयार रहेको बताएकी छिन् ।
“अपराधीहरूको पहिचान अब राज्यको संयन्त्रले गर्नेछ । म डराउने होइन, लड्ने मान्छे हुँ,” दाहालले भनेकी छन्, “कानुनी कठघरामा उभिएपछि तिमीहरूको यो नक्कली ‘क्रान्तिकारिता’ को अन्त्य हुने निश्चित छ ।”
सत्य र न्यायको पक्षमा आफ्नो लडाइँ जारी रहने स्पष्ट पार्दै उनले यस्ता पराजित मानसिकता भएका साइबर अपराधीहरूलाई सामाजिक बहिष्कार गर्नसमेत आह्वान गरेकी छन् । साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थीले भने यसबारे आफू अनभिज्ञ रहेको जानकारी दिए ।
पछिल्लो अध्यावधिक: फागुन २८, २०८२ ७:३९
