close

कलेज डिग्री भएका र नभएका जेनजीमा बेरोजगारी दर उस्तै, युवाको झुकाव उच्च शिक्षाभन्दा सीपमूलक तालिममा

टेकपाना टेकपाना

फागुन २९, २०८२ ८:५७

कलेज डिग्री भएका र नभएका जेनजीमा बेरोजगारी दर उस्तै, युवाको झुकाव उच्च शिक्षाभन्दा सीपमूलक तालिममा

काठमाडौँ । आधुनिक समाजमा कलेजको डिग्रीलाई राम्रो जागिर र सुरक्षित भविष्यको सुनिश्चितता मानिन्थ्यो । तर पछिल्लो समय जेनजी पुस्ताका लागि यो मान्यता बदलिँदै गएको छ ।

नयाँ अनुसन्धानहरूका अनुसार कलेज डिग्री हासिल गरेका युवा पुरुषहरू र डिग्री नभएका पुरुषहरूको बेरोजगारी दर अहिले लगभग समान विन्दुमा पुगेको छ । जसले उच्च शिक्षाको प्रतिफलमाथि गम्भीर प्रश्न उठाएको छ ।

फेडरल रिजर्भको तथ्याङ्क अनुसार हालै स्नातक तह पुरा गरेका युवाहरूमा बेरोजगारीको दर बढेर ५.६ प्रतिशत पुगेको छ । २२ देखि २७ वर्ष उमेर समूहका समग्र युवाहरूको बेरोजगारी दर ७.८ प्रतिशत रहे तापनि कलेज पढेका र नपढेका युवा पुरुषहरू बीचको अन्तर भने हराउँदै गएको छ । यूएस करेन्ट पपुलेसन सर्भेअनुसार अहिले कलेज डिग्री भएका युवा पुरुषहरूको बेरोजगारी दर डिग्री नभएका युवाहरूको सरह नै छ ।

यो अवस्था सन् २०१० को तुलनामा निकै फरक हो । फाइनान्सियल टाइम्सका अनुसार सन् २०१० मा डिग्री नभएका पुरुषहरूको बेरोजगारी दर १५ प्रतिशतभन्दा बढी थियो भने स्नातक तह पुरा गरेकाहरूको बेरोजगारी दर करिब ७ प्रतिशत मात्र थियो । यसले के सङ्केत गर्छ भने रोजगारदाताहरूले अहिले प्रारम्भिक स्तरको (इन्ट्री-लेभल) जागिरका लागि शैक्षिक योग्यता वा प्रमाणपत्रलाई भन्दा व्यावहारिक सीपलाई बढी महत्त्व दिन थालेका छन् ।

रोजगारीमा महिला र पुरुषबीचको भिन्नता

अध्ययनले रोजगारीको क्षेत्रमा महिला र पुरुषबिच स्पष्ट भिन्नता रहेको देखाएको छ । फाइनान्सियल टाइम्सको विश्लेषण अनुसार कलेज पढेका ७ प्रतिशत पुरुषहरू बेरोजगार रहँदा महिलाहरूको हकमा यो दर घटी ४ प्रतिशत मात्र छ । यसको प्रमुख कारण महिलाहरू स्वास्थ्य सेवा जस्ता क्षेत्रमा बढी संलग्न हुनु हो, जुन क्षेत्रमा अहिले उच्च वृद्धि भइरहेको छ ।

यूएस ब्युरो अफ लेबर स्टाटिस्टिक्सका अनुसार आगामी दशकमा स्वास्थ्य सेवा क्षेत्र अन्य क्षेत्रको तुलनामा तीव्र गतिमा बढ्ने र हरेक वर्ष करिब १९ लाख नयाँ अवसरहरू सिर्जना हुने प्रक्षेपण गरिएको छ । फर्च्युनसँग कुरा गर्दै करियर विज्ञ प्रिया राठोडले स्वास्थ्य सेवा क्षेत्र मन्दी प्रतिरोधी भएको र यसको माग सधैँ रहने बताएकी छिन् ।

यस्तै रोजगारी स्वीकार गर्ने शैलीमा पनि भिन्नता देखिएको छ । ब्लेन्ट्ली लुइसका सीईओ लुइस मालेहले फर्च्युनलाई बताए अनुसार महिलाहरू आफ्नो करियरको लक्ष्यसँग ठ्याक्कै मेल नखाए पनि वा पार्ट-टाइम र आफ्नो योग्यताभन्दा कम स्तरको जागिर भए पनि स्वीकार गर्न लचिलो हुन्छन् । यस विपरीत पुरुषहरू भने आफ्नो प्रतिष्ठा र करियर पाथसँग मिल्ने तथा आकर्षक पारिश्रमिक भएको जागिरको प्रतीक्षामा लामो समय बेरोजगार बस्ने गरेको पाइन्छ ।

कलेज छोडेर सीपमूलक तालिम तर्फ

रोजगारी बजारको यो कठिन अवस्थाका कारण धेरै युवाहरू 'नीट' (रोजगारी, शिक्षा वा तालिममा नभएका) श्रेणीमा परेका छन् । फर्च्युनका अनुसार करिब ११ प्रतिशत युवाहरू यो श्रेणीमा छन्, जसमा कलेज पढेर पनि लामो समय जागिर नपाउँदा निराश भएका युवा पुरुषहरूको सङ्ख्या ठुलो छ ।

यसै कारण युवाहरूको झुकाव अहिले कलेज डिग्रीबाट हटेर सीपमूलक व्यावसायिक तालिम तर्फ मोडिएको छ । पिउ रिसर्च सेन्टरको विश्लेषण अनुसार सन् २०११ देखि २०२२ को बीचमा कलेज पढ्ने विद्यार्थीको सङ्ख्या करिब १२ लाखले घटेको छ । जसमा १० लाख पुरुष र २ लाख महिला रहेका छन् ।

अर्कोतर्फ व्यावसायिक तालिम केन्द्रहरूमा विद्यार्थीको आकर्षण बढेको छ । नेसनल स्टुडेन्ट क्लियरिङहाउस रिसर्च सेन्टरका अनुसार सन् २०२० यता दुई वर्षे व्यावसायिक सार्वजनिक विद्यालयहरूमा भर्ना हुनेको सङ्ख्या २० प्रतिशतले बढेको छ । जुन करिब ८ लाख ५० हजार विद्यार्थीको वृद्धि हो ।

विज्ञहरूको धारणा: कलेज नै सबैथोक होइन

व्यावसायिक करियरको भविष्य उज्ज्वल रहेको विज्ञहरू पनि स्वीकार गर्छन् । शार्क ट्याङ्कका निर्णायक तथा काइन्ड (KIND) बारका संस्थापक डेनियल लुबेट्स्कीले फर्च्युनसँगको कुराकानीमा सिकर्मी वा मेकानिक जस्ता व्यावसायिक कामहरूमा ठुलो अवसरहरू रहेको र यसबाट निकै राम्रो आम्दानी गर्न सकिने बताएका छन् । उनका अनुसार कलेज जान नचाहने तर राम्रो आइडिया भएका व्यक्तिहरूका लागि कलेज डिग्री नै अन्तिम गन्तव्य वा अनिवार्य आवश्यकता होइन ।

त्यसैले जेनजी पुस्ताका युवाहरूले अहिले परम्परागत डिग्री भन्दा पनि बजारको माग अनुसारको सीप र प्राविधिक शिक्षालाई बढी प्राथमिकता दिन थालेको देखिन्छ । यसले आगामी दिनमा श्रम बजार र शिक्षा प्रणालीमा ठुलो परिवर्तन ल्याउने सङ्केत गरेको छ ।

 

पछिल्लो अध्यावधिक: फागुन २९, २०८२ ८:५९