close

फोटोशपको वेब र मोबाइल भर्सनमा एआई असिस्टेन्ट सार्वजनिक, अब लेखेर वा बोलेरै फोटो एडिट गर्न सकिने

टेकपाना टेकपाना

फागुन २९, २०८२ ९:२३

फोटोशपको वेब र मोबाइल भर्सनमा एआई असिस्टेन्ट सार्वजनिक, अब लेखेर वा बोलेरै फोटो एडिट गर्न सकिने

काठमाडौँ । एडोबीले आफ्नो क्रिएटिभ क्लाउड एपहरूका लागि थप एजेन्टिक एआई सुविधाहरू घोषणा गर्दै वेब र मोबाइलका लागि फोटोशपमा नेटिभ एआई-असिस्टेन्ट सार्वजनिक गरेको छ । यो सुविधा हाल पब्लिक बेटा भर्सनमा उपलब्ध छ, जसले प्रयोगकर्ताहरूलाई च्याटबटसँग कुराकानी गरेरै तस्विर र डकुमेन्ट एडिट गर्ने सुविधा दिन्छ ।

वेब र मोबाइलका लागि फोटोशपमा उपलब्ध यो एआई असिस्टेन्ट अक्टोबरदेखि प्राइभेट बेटामा परीक्षण भइरहेको थियो । तर अब धेरै मानिसहरूले यसलाई प्रयोग गर्न सक्ने भएका छन् । यो च्याटबट-जस्तो इन्टरफेसको मद्दतले प्रयोगकर्ताहरूले फोटोबाट अनावश्यक वस्तुहरू हटाउन, ब्याकग्राउन्ड परिवर्तन गर्न, प्रकाश मिलाउन र रङ समायोजन गर्न सक्नेछन् । यो सुविधा हाल पूर्ण फोटोशप डेस्कटप एपको लागि उपलब्ध नभए तापनि एडोबीले गत वर्षको अप्रिलमा नै फोटोशप र प्रिमियर प्रोका लागि एआई एजेन्टहरू विकास भइरहेको जानकारी दिएको थियो ।

एडोबीका अनुसार फोटोशपको एआई असिस्टेन्टले प्रयोगकर्ताको इच्छा अनुसार स्वचालित रूपमा सम्पादन लागु गर्न सक्छ वा प्रयोगकर्ताले सिक्न सकोस् भनेर चरण-चरणमा मार्गदर्शन पनि गर्न सक्छ । विशेष गरी मोबाइल एपमा प्रयोगकर्ताहरूले आफ्नो आवाज प्रयोग गरेर आफूले चाहेको एडिटिङका लागि अनुरोध गर्न सक्नेछन् । जसले गर्दा यात्राको क्रममा पनि एडिटिङ कार्य सरल हुनेछ ।

एडोबीले आफ्ना टुलहरूलाई अन्य लोकप्रिय एआई असिस्टेन्टहरूमार्फत पनि उपलब्ध गराउँदैछ । एडोबी एक्सप्रेस र एक्रोब्याट अब माइक्रोसफ्टको कोपाइलट ३६५ इन्टरप्राइज ग्राहकहरूका लागि सिधै पहुँचयोग्य हुनेछन् । जसले गर्दा प्रयोगकर्ताहरूले माइक्रोसफ्टकै प्लेटफर्म नछोडी कुराकानीको माध्यमबाट समायोजनहरू गर्न सक्नेछन् । यसअघि डिसेम्बर महिनामा फोटोशप, एक्रोब्याट र एक्सप्रेसका लागि यस्तै सपोर्ट च्याटजीपीटीमा पनि उपलब्ध गराइएको थियो ।

फोटोशपको वेबसाइटका लागि यहाँ क्लिक गर्नुहोस् । अनि एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्न र आईओएस एपका लागि यहाँ क्लिक गर्न सक्नु हुनेछ । 

 

पछिल्लो अध्यावधिक: फागुन २९, २०८२ ९:२३