काठमाडौँ । नथिङ ब्रान्डको पछिल्लो स्मार्टफोन 'नथिङ फोन ४ ए' (Nothing Phone 4a) नेपाली बजारमा भित्रिने भएको छ । कम्पनीले बिहिबार लिमिटेड प्रि-बुकिङ खुला गर्दै फोन चाँडै नेपाली बजारमा आउने जनाउ दिएको हो ।
यो फोन नथिङको परम्परागत 'आइकनिक' र पारदर्शी डिजाइनमा आधारित छ । यसमा ६.७८ इन्चको १२० हर्ज रिफ्रेश रेट भएको एमोलेड डिस्प्ले रहेको छ, जसलाई गोरिल्ला ग्लास ७आई (Gorilla Glass 7i) ले सुरक्षा प्रदान गर्दछ । यसको पिक ब्राइटनेस ४,५०० निट्ससम्म रहेको छ, जसले बाहिरी उज्यालोमा पनि राम्रोसँग हेर्न मिल्ने अनुभव दिन्छ ।
यो फोनको सबैभन्दा बलियो पक्ष यसको क्यामेरा प्रणाली हो । नथिङका अनुसार यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ५० मेगापिक्सेलकै ३.५ एक्स (3.5x) टेलिफोटो लेन्स रहेको छ । यसमा रहेको 'टेट्रोप्रिज्म' डिजाइनका कारण फोनले ७० गुणा (70X) सम्मको अल्ट्रा जुम सपोर्ट गर्दछ । सेल्फीका लागि यसमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ ।
फोनमा क्वालकमको 'स्न्यापड्रागन ७ एस जेन ४' (Snapdragon 7s Gen 4) चिपसेट र तीव्र गतिको UFS 3.1 स्टोरेज प्रयोग गरिएको छ । सफ्टवेयरको कुरा गर्दा यो फोन एन्ड्रोइड १६ मा आधारित 'नथिङ ओएस ४.१' (Nothing OS 4.1) मा चल्छ । कम्पनीले यसमा ३ वर्षको एन्ड्रोइड अपडेट र ६ वर्षको सुरक्षा अपडेट दिने प्रतिबद्धता जनाएको छ ।
यसमा ५,०८० mAh को शक्तिशाली ब्याट्री रहेको छ, जसलाई ५० वाटको फास्ट चार्जिङले सपोर्ट गर्छ । १२०० साइकल चार्ज गरेपछि पनि ब्याट्रीको क्षमता ९० प्रतिशतभन्दा माथि नै रहने गरी यसलाई टिकाउ बनाइएको कम्पनीको दाबी छ ।
नथिङको पहिचान बनेको 'ग्लिफ इन्टरफेस' (Glyph Interface) यसमा पनि उपलब्ध छ । यसको 'ग्लिफ बार' मा ६३ वटा मिनी-एलईडीहरू छन्, जसले नोटिफिकेसन, चार्जिङ प्रगति र अन्य जानकारीहरू दृश्यको रूपमा प्रदान गर्दछ । साथै यसमा 'इसेन्सियल एआई' अन्तर्गत एआई इरेजर, एसेन्सियल सर्च र मेमोरिज जस्ता स्मार्ट फिचरहरू समावेश गरिएका छन् । यो फोन धुलो र पानीबाट जोगाउनका लागि आईपी ६४ रेटिङ प्राप्त छ ।
फोन ४ ए सेतो, कालो, निलो र गुलाबी रङहरूमा उपलब्ध हुनेछ । फोन ८ जीबी/१२८ जीबी, ८ जीबी/२५६ जीबी र १२ जीबी/२५६ जीबी गरी तीन स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । जसको बजार मूल्य क्रमश: ५५ हजार ९९९, ६० हजार ९९९ र ६७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
पछिल्लो अध्यावधिक: फागुन २९, २०८२ १३:५२
