एआई सिर्जित भ्रामक ‘कोट’ प्रयोग गरेको आरोपमा वरिष्ठ युरोपेली पत्रकार निलम्बित
चैत ९, २०८२ २१:३
काठमाडौँ । डच पत्रिका डे टेलिग्राफ (De Telegraaf) र आइरिस इन्डिपेन्डेन्ट (Irish Independent) को प्रकाशक मिडियाहाउस (Mediahuis) ले आफ्ना एक वरिष्ठ पत्रकार पिटर भ्यान्डरमर्सलाई निलम्बन गरेको छ । एआईको प्रयोग गरी मानिसहरूले भन्दै नभनेका कुरा उनीहरूको नाममा गलत तरिकाले उद्धृत (कोट) गरेको स्वीकार गरेपछि उनलाई संस्थाले कारबाही गरेको हो ।
मिडियाहाउस समूहमा पत्रकारिता र समाज (journalism and society) का फेलोको रूपमा कार्यरत भ्यान्डरमर्सले आफू एआईले सिर्जना गर्ने त्रुटिपूर्ण जानकारी अर्थात् ‘ह्यालुसिनेसन’ (hallucinations) को जालमा परेको बताएका छन् । द गार्डियनका अनुसार उनले च्याटजीपीटी, पर्प्लेक्सिटी र गुगलको नोटबुकएलएम जस्ता एआई टुलहरू प्रयोग गरेर विभिन्न रिपोर्टहरूको सारांश तयार पारेका थिए । तर उनले ती सङ्क्षेपहरूमा रहेका उद्धरणहरू सही छन् वा छैनन् भनेर पुनः जाँच नगरी आफ्नो सबस्ट्याक (Substack) न्युजलेटरमा प्रकाशित गरेका थिए ।
यो गल्तीको खुलासा मिडियाहाउसकै अर्को पत्रिका एनआरसीद्वारा गरिएको अनुसन्धानबाट भएको हो । रोचक कुरा त के छ भने भ्यान्डरमर्स सन् २०१० को दशकमा सोही एनआरसी पत्रिकाको प्रधान सम्पादक थिए । एनआरसीको अनुसन्धानले भ्यान्डरमर्सले दर्जनौँ गलत उद्धरणहरू प्रकाशित गरेको आरोप लगाएको छ । रिपोर्ट अनुसार लेखमा उद्धृत गरिएका सात व्यक्तिहरूले आफूले त्यस्ता भनाइहरू कहिल्यै नभनेको स्पष्ट पारेका छन् ।
आफ्नो गल्ती स्वीकार गर्दै भ्यान्डरमर्सले 'म मेरो गल्ती स्वीकार गर्दैछु' (I am admitting my mistake) शीर्षकको सबस्ट्याक पोस्ट नै लेखेका छन् । उनले यसलाई केवल असावधानी मात्र नभई गलत कार्य भएको बताएका छन् । उनले थप लेखेका छन्, “मैले आफ्ना सहकर्मीहरूलाई जुन कुराप्रति बारम्बार चेतावनी दिने गर्थें, त्यही गल्ती आफैँले गर्नु अत्यन्तै पीडादायी छ । एआई मोडेलहरू यति राम्रा छन् कि उनीहरूले आकर्षक उद्धरणहरू दिन्छन्, जसलाई प्रयोग गर्न लेखक लोभिन्छन् । मैले ती कुराहरू प्रमाणित गर्नु पर्थ्यो, तर मेरो मानवीय सुपरिवेक्षण (human oversight) कमजोर रहन गयो ।”
मिडियाहाउस समूहका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गर्ट इसेबेर्टले एक विज्ञप्ति जारी गर्दै संस्थामा एआई प्रयोगका लागि कडा नियमहरू रहेको बताएका छन् । द गार्डियनले उल्लेख गरेअनुसार इसेबेर्टले भनेका छन्, "हाम्रो संस्थामा लगनशीलता, मानवीय सुपरिवेक्षण र पारदर्शिता अनिवार्य छ । भ्यान्डरमर्सले यी सिद्धान्तहरू पालना नगर्नु हाम्रो विश्वसनीय पत्रकारिताको मापदण्ड विपरीत छ ।" यसै कारण उनलाई अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरिएको हो ।
निलम्बनसँगै मिडियाहाउसले आइरिस इन्डिपेन्डेन्टको वेबसाइटबाट भ्यान्डरमर्सले लेखेका केही लेखहरू पनि हटाएको छ । द गार्डियनका अनुसार भ्यान्डरमर्सले एआईको गलत प्रयोग गरेकोमा पछुतो मान्दै पत्रकारिता मानवीय कार्य भएको र एआईलाई सही तरिकाले प्रयोग गरे मात्र यसले पत्रकारितालाई अझ गहिरो र सटीक बनाउन सक्ने विश्वास व्यक्त गरेका छन् ।
पछिल्लो अध्यावधिक: चैत ९, २०८२ २१:३
