साम अल्टम्यान भन्छन्: एआई भविष्यमा बिजुली र पानी जस्तै 'युटिलिटी' का रूपमा बिक्री हुनेछ
चैत १, २०८२ ७:५५
काठमाडौं । ओपनएआईका सीईओ साम अल्टम्यानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भविष्यमा बिजुली र पानी जस्तै प्रयोगको आधारमा मापन गरिने एउटा आधारभूत उपयोगिता (युटिलिटी) का रूपमा उपलब्ध हुने बताएका छन् । वाशिङ्गटन डीसीमा ११ मार्चमा आयोजित 'ब्ल्याकरक इन्फ्रास्ट्रक्चर समिट' मा बोल्दै अल्टम्यानले प्रविधि कम्पनीहरूले माग अनुसार इन्टेलिजेन्स उपलब्ध गराउने भविष्यतर्फ काम गरिरहेको उल्लेख गरे ।
उनका अनुसार भविष्यमा एआई व्यवसाय 'टोकन' (tokens) बिक्री गर्ने मोडेलमा आधारित हुनेछ, जसमा ग्राहकले आफ्नो प्रयोग आधारमा शुल्क तिर्नुपर्नेछ । अल्टम्यानले भनेका छन्, "हामी यस्तो भविष्य देखिरहेका छौँ, जहाँ इन्टेलिजेन्स एउटा उपयोगिता हो र मानिसहरूले यसलाई मिटरको आधारमा हामीबाट किन्नेछन् र जुनसुकै काममा प्रयोग गर्नेछन् ।"
यस व्यवस्थामा एआईको पहुँच कसले पाउने भन्ने कुरा कम्प्युट क्षमताले निर्धारण गर्नेछ । यदि पर्याप्त कम्प्युट क्षमता (चिप्स र डेटा सेन्टरहरू) निर्माण गर्न सकिएन भने, एआईको मूल्य अत्यधिक महँगो हुने र यसको पहुँच केवल धनी वर्गमा मात्र सीमित हुन सक्ने वा सरकारले वितरणको निर्णय गर्नुपर्ने अवस्था आउन सक्ने अल्टम्यानको भनाइ छ ।
एआईको यो विस्तारमा पूर्वाधार एउटा ठुलो चुनौतीका रूपमा देखा परेको छ । एआई डेटा सेन्टरहरूले साना सहरहरू जत्तिकै बिजुली खपत गर्ने भएकाले अमेरिकी पावर ग्रिडमा दबाब बढिरहेको छ । एलन मस्कले पनि बिजुली उत्पादननै एआई विस्तारको मुख्य सीमित कारक रहेको बताएका छन् ।
ओपनएआईले आगामी आठ वर्षमा डेटा सेन्टर परियोजनाहरूका लागि लगभग १.४ ट्रिलियन डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीको मुख्य लक्ष्य भनेको एआईलाई क्षमताको अभाव (capacity constrained) भएको वर्तमान अवस्थाबाट बाहिर निकाल्नु रहेको अल्टम्यानले बताएका छन् ।
पछिल्लो अध्यावधिक: चैत १, २०८२ ७:५५
