पोट्रेट फोटोग्राफी लक्षित ओप्पो रेनो १५ सिरिजका २ स्मार्टफोन नेपाली बजारमा, मूल्य ७०-९० हजार
चैत १, २०८२ १४:२९
काठमाडौँ । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन सिरिज ओप्पो रेनो १५ फाइभजी (OPPO Reno15 5G) सिरिज अन्तर्गत दुई स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यो सिरिजका स्मार्टफोन विशेषगरी पोर्ट्रेट फोटोग्राफी, शक्तिशाली ब्याट्री र एआई फिचरमा केन्द्रित गर्दै 'योर गो-टु पोट्रेट बेस्टी’ (Your Go-to Portrait Bestie) नारासहित ल्याएको हो ।
यो सिरिज अन्तर्गत ओप्पो रेनो १५ फाइभजी र ओप्पो रेनो १५ एफ फाइभजी गरी दुई स्मार्टफोन बजारमा उपलब्ध भएका छन् । दुवै फोनमा एआईमा आधारित फोटोग्राफी फिचर र पपआउट (Popout) प्रविधिलाई समावेश गरिएको छ । जसले फोटो खिच्दा फोटोमा समावेश हुने विषयवस्तुलाई थप आकर्षक र क्लियर बनाउने कम्पनीले जनाएको छ ।
रेनो १५ फाइभजी : शक्तिशाली क्यामेरा र प्रिमियम डिजाइन
रेनो १५ फाइभजीमा ५० मेगापिक्सेलको अल्ट्रा-वाइड सेल्फी क्यामेरा दिइएको छ भने पछाडि भागमा ५० मेगापिक्सेलको अल्ट्रा-क्लियर (OIS सहित) मुख्य क्यामेरा र ५० मेगापिक्सेलकै टेलिफोटो पोट्रेट क्यामेरा रहेको छ । जसले ३.५ गुणासम्म अप्टिकल जुम सपोर्ट गर्ने उल्लेख छ ।
फोनमा ६.५९ इन्चको ओलेड डिस्प्ले दिइएको छ, जसले १२० हर्ज रिफ्रेश रेट तथा एचडीआर १० प्लस सपोर्ट गर्छ । स्न्यापड्रयागन ७ जेन ४ प्रोसेसरमा आधारित यो फोन १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेजका साथ आएको छ । ६,५०० एमएएच क्षमताको ब्याट्री राखिएको फोनले ८० वाट सुपरभोक फास्ट चार्जिङ सपोर्ट गर्छ ।
फोटोग्राफीका लागि पपआउट, एआई मोसन फोटो स्लोमो, एआई इरेजर र एआई फ्ल्याश फोटोग्राफी जस्ता फिचरहरू समावेश गरिएको कम्पनीले जनाएको छ । यसले फोरके एचडीआर अल्ट्रा स्टिडी भिडिओ रेकर्डिङ पनि सपोर्ट गर्ने उल्लेख छ ।
फोनमा आईपी-६९ (IP69) वाटर तथा डस्ट रेसिस्टेन्स, कोर्निङ गोरिल्ला ग्लास ७ आई (Corning Gorilla Glass 7i) सुरक्षा र एरोस्पेस-ग्रेड आल्मुनियम फ्रेम प्रयोग गरिएको छ । कम्पनीका अनुसार कलर ओएस १६ मा आधारित यो फोनमा प्रयोगकर्ताले लामो समयसम्म सफ्टवेयर तथा सुरक्षा अपडेट प्राप्त गर्नेछन् । अरोरा ह्वाइट (Aurora White) र ट्वाइलाइट ब्लु (Twilight Blue) रङमा उपलब्ध यो फोन नेपालमा ८९ हजार ९९९ रुपैयाँमा उपलब्ध छ ।
रेनो १५ एफ फाइभजी: ठुलो ब्याट्री र एआई फिचर
६.५७ इन्चको एमोलेड डिस्प्ले युक्त रेनो १५ एफ फाइभजीमा १२० हर्ज रिफ्रेश रेट रहेको छ । क्यामेरा सेटअपमा ५० मेगापिक्सेल मुख्य क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा-वाइड क्यामेरा र २ मेगापिक्सेल म्याक्रो क्यामेरा समावेश गरिएको छ । सेल्फीका लागि ५० मेगापिक्सेल अल्ट्रा-वाइड फ्रन्ट क्यामेरा समावेश छ ।
एन्ड्रोइड १६ मा आधारित कलर ओएस १६ युक्त फोनमा स्न्यापड्रयागन ६ जेन १ (Snapdragon 6 Gen 1) प्रोसेसर दिइएको छ । यो फोन पनि १२ जीबी र्याम र ५१२ जीबी स्टोरेजसहित आएको छ । ७,००० एमएएच क्षमताको ब्याट्री रहेको यो फोनले ८० वाट सुपरकभोक फास्ट चार्जिङ सपोर्ट गर्छ । पपआउट, एआई पोट्रेट ग्लो, एआई हाइपरबुस्ट २.० र ओ पल्स कनेक्ट जस्ता फिचरहरू पनि यसमा समावेश गरिएका छन् ।
कम्पनीका अनुसार यो फोन नेपाली बजारमा अरोरा ब्लु (Aurora Blue) र ट्वाइलाइट ब्लु (Twilight Blue) गरी दुई रङमा उपलब्ध छ । जसको बजार मूल्य ६९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
पछिल्लो अध्यावधिक: चैत १, २०८२ १४:२९
