close

नेतन्याहूलाई आफू एआई नभएको प्रमाणित गर्नै सकस, मृत्युको हल्लाले इजरायली प्रधानमन्त्री घेराबन्दीमा

टेकपाना टेकपाना

चैत ३, २०८२ ८:४

नेतन्याहूलाई आफू एआई नभएको प्रमाणित गर्नै सकस, मृत्युको हल्लाले इजरायली प्रधानमन्त्री घेराबन्दीमा

काठमाडौँ । इजरायल र इरानको बढ्दो तनावका बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू एउटा अनौठो र चुनौतीपूर्ण सङ्कटमा फसेका छन् । उनले आफू जीवित भएको मात्र होइन, बरु आफू कुनै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) निर्मित 'डीपफेक' वा 'क्लोन' नभएको प्रमाणित गर्न समेत ठूलो सङ्घर्ष गर्नु परिरहेको छ ।

यो विवाद गत शुक्रबार नेतन्याहूले दिएको एक भिडिओ सम्बोधनपछि सुरु भएको हो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त भिडिओको मिहिन विश्लेषण गर्दै नेतन्याहूको दाहिने हातमा ६ वटा औँला देखिएको दाबी गरे । एआई प्रविधिले मानिसको हात र औँलाहरूको सही बनोट तयार गर्न अक्सर गल्ती गर्ने भएकाले धेरैले यो भिडिओ इजरायल सरकारले नेतन्याहूको मृत्यु लुकाउन एआई प्रयोग गरेर बनाएको आशङ्का गरे । इरानी क्षेप्यास्त्र आक्रमणमा नेतन्याहूको मृत्यु भएको हुन सक्ने हल्लाले इन्टरनेटमा ठुलो स्थान पायो ।

आफू विरुद्ध फैलिएको मृत्यु र एआई क्लोनको हल्लालाई चिर्न नेतन्याहूले आइतबार एउटा नयाँ भिडिओ सार्वजनिक गरे । जेरुसेलम बाहिरको एउटा कफी शपमा खिचिएको उक्त भिडिओमा उनी निकै फुर्सदिलो मुडमा देखिएका थिए । भिडिओमा उनले ठट्टा गर्दै हिब्रू भाषाको एउटा उखान प्रयोग गरे, जसको अर्थ हुन्छ, "म कफीको लागि मरेको (Dead for coffee) छु ।" यो उखान कुनै चिजलाई असाध्यै मन पराउँदा प्रयोग गरिन्छ ।

त्यति मात्र होइन, उनले क्यामेराको नजिकै आफ्ना दुवै हात देखाउँदै भने, "के तपाईं मेरो औँलाहरू गन्न चाहनुहुन्छ ? तपाईं यहाँ देख्न सक्नुहुन्छ... र यहाँ पनि । निकै राम्रो ।" उनले आफ्ना समर्थकहरूलाई सुरक्षित स्थानको नजिक रहन आग्रह गर्दै इरानलाई कडा जवाफ दिइरहेको सन्देश पनि दिए ।

ग्रोक एआईले गर्दा थप अन्योल

नेतन्याहूले शङ्का निवारण गर्न खोजे पनि एलन मस्कको एक्स प्लेटफर्ममा रहेको एआई च्याटबट ग्रोकले स्थिति झनै बिगारिदियो । ग्रोकले नेतन्याहूको कफी शपको भिडिओलाई 'व्यङ्ग्य' वा 'डिपफेक' हुन सक्ने भन्दै फ्ल्याग गरिदियो । ग्रोकका अनुसार भिडिओमा कफीको सतह नहल्लिएको, ओठको चाल (लिप-सिंक) नमिलेको र गम्भीर सैन्य अपरेसनका बारेमा कफी पसलमा बसेर कुरा गर्नु अप्राकृतिक देखिएको थियो । यसले नेतन्याहूका विरोधीहरूलाई थप मसला दियो ।

यद्यपि 'पोलिटिफ्याक्ट' (PolitiFact) र 'स्नोप्स' जस्ता फ्याक्ट-चेकिङ संस्थाहरूले ६ वटा औँलाको दाबीलाई खारेज गरेका छन् । उनीहरूका अनुसार भिडिओमा प्रकाशको परावर्तन र हातको कोणका कारण हत्केलाको मासु अतिरिक्त औँला जस्तो देखिएको मात्र हो । प्रविधि क्षेत्रका विशेषज्ञहरूका अनुसार एआईले हातको बनोटमा गल्ती गर्ने कुरा सत्य भए पनि ४० मिनेट लामो भिडिओ दुरुस्तै बनाउन वर्तमान एआई क्षमताले कठिन छ ।

अन्ततः आफू जीवित र वास्तविक भएको पुष्टि गर्न नेतन्याहूले सोमबार पुनः अर्को एउटा भिडिओ जारी गरे । जसमा उनी पहाडी पृष्ठभूमिमा मानिसहरूसँग कुरा गरिरहेको देखिन्छन् । प्रविधिको यो युगमा एक शक्तिशाली नेताले आफू एआई नभएको प्रमाणित गर्न पटक-पटक भिडिओ बनाउनु पर्ने अवस्थाले सूचनाको विश्वसनीयतामाथिको सङ्कटलाई सतहमा ल्याइदिएको छ ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले 'नेतन्याहू पूर्ण रूपमा स्वस्थ रहेको र सबै हल्लाहरू गलत भएको' स्पष्टीकरण दिएको छ । यो डिजिटल युद्धका बीच इरानको 'रिभोलुसनरी गार्ड्स' (IRGC) ले नेतन्याहू जीवितै भए उनलाई खोजेर मार्ने धम्की दिएको छ ।

पछिल्लो अध्यावधिक: चैत ३, २०८२ ८:१९