शार्क ट्याङ्क नेपाल सिजन २ सुरु हुँदै, ५० करोड लगानी गर्ने लक्ष्यसहित आवेदन खुला
चैत ४, २०८२ १२:३८
काठमाडौँ । हिमालय टेलिभिजनबाट प्रसारण हुने चर्चित बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क नेपाल’ को दोस्रो सिजनका लागि आवेदन खुला गरिएको छ । विभिन्न स्टार्टअप र व्यवसायहरूमा न्यूनतम ५० करोड रुपैयाँ लगानी गर्ने लक्ष्यसहित आवेदन आह्वान गरिएको हो ।
आफ्नो व्यावसायिक आइडिया र सञ्चालनमा रहेको व्यवसायमा लगानी जुटाउन चाहने उद्यमीहरूले यसमा आवेदन दिन सक्नेछन् । १८ वर्ष उमेर पुरा भएका नेपाली नागरिक र नेपालमा दर्ता भई सञ्चालनमा रहेका कम्पनीहरूले अनलाइनमार्फत आवेदन दिन सक्ने आयोजकले जनाएको छ ।
कार्यतालिका अनुसार आवेदन दिने अन्तिम समय चैत दोस्रो हप्तासम्म तोकिएको छ । आवेदन परेका उद्यमीहरूको चैतभित्रै स्क्रिनिङ गरिने र आगामी वैशाखदेखि शोको सुटिङ सुरु गर्ने योजना अनुसार काम अघि बढाइएको उल्लेख छ ।
कसरी दिने आवेदन ?
आवेदन फाराम भर्दा उद्यमीले आफ्नो नागरिकता वा परिचय खुल्ने कागजात, कम्पनी दर्ताको प्रमाणपत्र, सह-संस्थापकहरूको विवरण र कम्पनीको हालको आर्थिक अवस्था लगायतका विवरणहरू उपलब्ध गराउनुपर्ने छ ।
यस शोमा कृषि, खाद्यान्न, उत्पादन (म्यानुफ्याक्चरिङ), फेसन, स्वास्थ्य, पर्यटन तथा सेवा लगायत जुनसुकै क्षेत्रका व्यवसायीहरूले सहभागिता जनाउन सक्नेछन् । यसअघि अन्य लगानीकर्ताबाट लगानी जुटाइसकेका व्यवसायहरूले समेत थप पुँजीका लागि आवेदन दिन सक्ने प्रावधान राखिएको छ । यहाँ क्लिक गरेर आवेदन दिन सकिने छ ।

सिजन २ मा पुरानै शार्कहरू आईएमई ग्रुपका सह-संस्थापक हेमराज ढकाल, निम्बस होल्डिङका निर्देशक आनन्द बगरिया, टोयोटा नेपालकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य, पद्म ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति र अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठको निरन्तरता रहने बताइएको छ ।
‘शार्क ट्याङ्क नेपाल’ को पहिलो सिजन गत १८ असारदेखि प्रसारणमा आएको थियो । २० भागमा प्रसारण भएको उक्त सिजनमा ८० जना उद्यमीले आफ्नो बिजनेस आइडिया पिच गरेका थिए । जसमध्ये विभिन्न व्यवसायमा ३५ करोड रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता जुटेको थियो । यस पटक लगानीको दायरा अझ बढाउने लक्ष्य लिइएको छ ।
पछिल्लो अध्यावधिक: चैत ४, २०८२ १३:३५
