गाडीको ढोका अरूलाई खोल्न लगाउँदा सामाजिक सञ्जालमा फेरि आलोचित बने पूर्वसञ्चारमन्त्री खरेल
चैत ४, २०८२ १३:२१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवनिर्वाचित सांसद तथा पूर्व सञ्चारमन्त्री जगदीश खरेल ‘भीआईपी रवाफ’ देखाएको भन्दै पुनः विवादमा तानिएका छन् । मङ्गलबार रास्वपाले होटेल रोयल टुलिपमा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा पुग्दा गाडीको ढोका आफैँ नखोली होटेलका कर्मचारीलाई खोल्न लगाएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको हो ।
यसैगरी सोही कार्यक्रममा रास्वपाका अर्का सांसद राजुनाथ पाण्डेले पनि होटेलका गार्डलाई गाडीको ढोका खोल्न लगाएको भन्दै नागरिकस्तरबाट आलोचना भइरहेको छ । खरेलको उक्त भिडिओ बाहिरिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पुराना राजनीतिक दल र वैकल्पिक राजनीतिक दल रास्वपा र यसका नेताबिच कुनै फरक नदेखिएको भन्दै कटाक्ष गरेका छन् ।
सञ्चारकर्मी राजेन्द्र बानियाँले उक्त भिडिओ राख्दै व्यङ्ग्यात्मक शैलीमा लेखेका छन्, “यो भिडिओ पक्का फेक होला या एआईले बनाएको होला । एक समयका चर्चित सञ्चारकर्मी, जनताले अधिक मतले अनुमोदन गरेको नयाँ राजनीतिक चरित्र र संस्कारका द्योतक जगदीशजीले गाडीको ढोका अरूलाई खोल्न लगाउनुहुन्न होला ।”
त्यस्तै एक्स प्रयोगकर्ता अनुप अधिकारीले प्रश्न गरेका छन्, “गाडीको ढोका पनि अरूले नै खोलिदिनु पर्ने ? अनि यी पुरानाभन्दा कसरी फरक भए ?” अर्का प्रयोगकर्ता गौतम श्रेष्ठले लेखेका छन्, “भूपू मन्त्रीज्यू, ढोका आफैँ खोल्न सिक्नुपर्यो अब, सलामपछि मात्र ओर्लिने ?”
फेसबुक प्रयोगकर्ता जीएसएमराजले “खै के रहेछ त्यो पद भन्ने जिनिस पनि अब हुँदाहुँदा ढोका खोल्न पनि नसकिने भनेपछि हैट” भन्दै टिप्पणी गरेका छन् भने पङ्कज शर्माले “मन्त्रीको स्वाद चाखेपछि राजनीतिको नशा लाग्छ भन्थे, हो रहेछ” भनी आलोचना गरेका छन् । यसैगरी प्रदीप दाहालले व्यङ्ग्य गर्दै भनेका छन्, “धन्न ढोका खोल्न नसके पनि लगाउन चाहिँ सक्नुहुने रैछ । खुसी लाग्यो देखेर ।”
रोबिन खत्रीले महावीर पुनको सादगीपनको तुलनामा खरेलले आफ्नो बाटो बिराएको भन्दै निराशा व्यक्त गरेका छन् । उता रामप्रसाद गौतमले पूर्वराजा ज्ञानेन्द्रलाई मात्र राक्षस बनाइएको तर देशका नेता, प्रशासकदेखि सबैसँग ‘भीआईपी’ अहङ्कार रहेको भन्दै असन्तोष व्यक्त गरेका छन् ।
आलोचना भइरहँदा केही प्रयोगकर्ताले भने यसलाई सामान्य प्रक्रिया र होटेलको नियम भन्दै खरेलको बचाउ पनि गरेका छन् । जीवन पन्तले लेखेका छन्, “अधिकांश स्टार होटेलहरूले ‘भ्याले’ सेवा दिन्छन् र अतिथिको ढोका खोल्नु उनीहरूको काम नै हो । यसलाई बढाइचढाइ गर्नु पर्दैन ।” यसैमा सहमति जनाउँदै राजेन्द्र बिमलीले पनि यो होटेलको ‘हस्पिटालिटी’ भएको भन्दै सस्तो टिप्पणी नगर्न सुझाएका छन् ।
“मानवीय स्वभाव हो, आफूले नचाहँदा पनि अरूले ढोका खोलिदिन्छन्,” एचबी विश्वकर्माले भनेका छन् । सन्दीप आचार्यले भिडिओ हेरेरै छिटो मूल्याङ्कन गर्न नहुने भन्दै गाडीभित्र लुगा वा डकुमेन्ट मिलाउँदा ड्राइभर वा गार्डले ढोका खोलिदिएको हुन सक्ने तर्क गरेका छन् । कर्कट केशरीले भने व्यङ्ग्यात्मक शैलीमै रास्वपा सांसदको सुरक्षा प्रोटोकलकै कारण बाहिरबाट मात्र ढोका खोल्न मिल्ने बनाएको होला भन्दै देश बनाउन हिँडेकालाई गाली नगर्न भनेका छन् ।
खरेल यसरी आलोचित भएको यो पहिलो घटना भने होइन । गत मङ्सिरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री छँदा पनि उनले यस्तै रवैयाका देखाएको भन्दै चर्को आलोचना भएको थियो । त्यतिबेला बालुवाटारमा गाडीभित्रै बसेर सुरक्षाकर्मीले सलाम ठोकेपछि र ढोका खोलिदिएपछि मात्र बाहिर निस्किएको एउटा २२ सेकेन्डको भिडिओ भाइरल बनेको थियो । विगतमा नेतालाई कडा प्रश्न गर्ने पत्रकारको छवि बनाएका खरेल आफैँ मन्त्री बनेपछि राजतन्त्रकालीन झल्को दिने गरी अनावश्यक ‘भीआईपी रवाफ’ र ‘अहङ्कार’ देखाएको भन्दै अनलाइन माध्यम र सर्वसाधारणले उनको चर्को विरोध गरेका थिए ।
सुरक्षा विज्ञले ढोका खोल्नुलाई सुरक्षा प्रोटोकल माने पनि सलामको प्रतीक्षा गर्नुलाई ‘अनावश्यक रवाफ’ भनेका थिए । त्यतिबेला सोही मन्त्रीपरिषद्का सदस्य महावीर पुन र रामेश्वर खनालले व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) नलिने वा आफैँ ढोका खोल्ने जस्ता साधारण शैली अपनाइरहँदा खरेलको शैलीलाई लिएर आम नागरिकले आलोचना गरेका थिए । पछिल्लो घटनाले खरेलमाथि लागेको ‘भीआईपी रवाफ’ को ट्यागलाई थप मलजल गरेको छ ।
पछिल्लो अध्यावधिक: चैत ४, २०८२ १३:२६
