के साँच्चै सञ्चार मन्त्री जगदीश खरेलले गाडीबाट ओर्लिनुअघि भीआईपी रवाफ देखाएकै हुन् ?
पुस २, २०८२ १५:९
काठमाडौँ । पछिल्ला केही दिनयता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल एक भिडिओ क्लपका कारण विवादित बनेका छन् । एक कार्यक्रमका दौरान गाडीबाट ओर्लिने क्रममा सुरक्षामा खटिएका सेनाले सल्युट गर्दै ढोका खोलेपछि ओर्लिएका खरेलको आलोचना भइरहेको हो ।
झन्डै २२ सेकेन्डको उक्त भिडिओ क्लिपमा मन्त्री गाडीभित्र बसिरहेको अवस्थामा देखिन्छन् । सुरक्षामा खटिएका सेनाले सलाम ठोक्छन् । अनि ढोका खोलेपछि खरेल ओर्लिन्छन् र, सञ्चार माध्यमका बुम राखिएको ठाउँतिर लम्किन्छन् ।
यही भिडिओलाई लिएर मन्त्री खरेलले ‘भीआईपी संस्कृति’ र ‘अहंकार’ देखाएको भन्दै आलोचना हुन थालेको हो । हिमाली पत्रिका नामक अनलाइन लगायत विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्री खरेलले भीआईपी रवाफ देखाएको आशय सहितका भिडिओ र फोटो पोस्ट गरेको देखिन्छ ।
सञ्चारमन्त्रीको सचिवालयका अनुसार यो १९ मङ्सिर २०८२ को भिडिओ हो । त्यस दिन प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा प्रमुखको संयुक्त बैठक थियो । सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेल त्यहीँ भएको निर्णय सुनाउन जाँदै थिए । बालुवाटारमा आयोजित संयुक्त बैठको निर्णय सञ्चारकर्मीलाई सुनाउने क्रममा खरेल गाडीबाट ओर्लिएका थिए ।
कस्तो हो यो अभ्यास ?
हामीले सामाजिक सञ्जालमा प्रधानमन्त्री तथा मन्त्री कुनै समारोह वा स्थानमा जाँदै गरेको समयमा गाडीबाट ओर्लिने क्रममा खिचिएका केही भिडिओ केलायौँ । २ अक्टोबरमा ‘Laligurash Media’ ले प्रधानमन्त्री सुशीला कार्की दशैँको समयमा जेनजी सहिद परिवारको घरमा जाँदै गर्दाको भिडिओ राखेको फेला पर्यो । उक्त भिडिओमा नेपाली सेनाले प्रधानमन्त्री कार्कीको गाडीको ढोका खोलिदिएका छन् । त्यसपछि कार्की गाडीबाट निस्किएकी छिन् । भिडिओ ।
यसैगरी सहरी विकास, भौतिक पूर्वाधार र ऊर्जा मन्त्री कुलमान घिसिङको पनि अरूले नै ढोका खोलेको देखियो । १७ सेप्टेम्बरमा फेसबुकमा ‘Web Khabar’ ले ऊर्जामन्त्री कुलमान घिसिङ संसद भवन अवलोकनका लागि गएको भिडिओ पोस्ट गरेको छ । उक्त भिडिओमा कुलमान सवार रहेको गाडीबाट नेपाली सेना निस्किएर मन्त्रीको ढोका खोलिदिएको दृश्य छ । मोबाइलमा कुरा गरिरहेका घिसिङ गाडीबाट ढोका छुँदै निस्किएको देखिन्छ । हेर्नुहोस् भिडिओ ।
सोमबार महानगर दिवसमा सामेल हुन सैनिक मञ्चमा पुगेका काठमाडौँका मेयर बालेन्द्र शाहलाई पनि अन्य व्यक्तिले नै ढोका खोलिदिएका थिए । ‘Leader-Nepal’ नामक फेसबुक पेजले सार्वजनिक गरेको भिडिओमा बालेन गाडीबाट निस्किने क्रममा गाडीको अगाडी बसेका व्यक्ति पहिला झरेर ढोका खोलेका छन् । बालेन गाडीबाट निस्किएपछि उनै व्यक्तिले पुनः ढोका बन्द गरेका छन् । भिडिओ ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा यसैगरी झर्ने गरेका भिडिओहरू फेला परे । ‘TV Birgunj’ ले २० जुलाईमा सार्वजनिक गरेको भिडिओमा ओलीलाई नेपाली सेनाले ढोका खोलेको र त्यसपछि उनी बाहिर निस्किएको देखिएको छ । ‘पूर्वराष्ट्रपति भण्डारीसँग भेटका लागि प्रधानमन्त्री ओली च्यासल पुगे’ शीर्षकमा सार्वजनिक गरिएको भिडिओमा उक्त दृश्य छ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा पनि तत्कालीन प्रधानमन्त्री ओली गाडीबाट झर्नुअघि पीएसओ (व्यक्तिगत सुरक्षा अधिकृत) ले सलाम ठोकेको र त्यसपछि ढोका खोलिदिएका देखिन्छ । ‘Sutra Tv HD’ ले २९ मे २०२५ मा लाइभ स्ट्रिम गरेको भिडिओको सुरुवातमा नै ओली झर्दै गरेको दृश्य हेर्न सकिन्छ । भिडिओ ।
आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणका क्रममा सवारी भएका तत्कालीन गृहमन्त्री रवि लामिछाने, तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र तत्कालीन रक्षामन्त्री हरि उप्रेती गाडीबाट निस्किरहेको भिडिओ पनि भेटियो । २८ मे २०२४ मा देशसञ्चारले युट्युब च्यानलमार्फत सार्वजनिक गरेको भिडिओको १०:१० मिनेटदेखि ११:०० मिनेटसम्म तीन मन्त्री बजेट भाषणका लागि संसद भवनमा आइपुगेको क्लिप देख्न सकिन्छ ।
जहाँ रवि लामिछाने आफैँले नै ढोका खोलेर गाडीबाट बाहिर निस्किएका छन् । यहाँ उनका पीएसओले सलाम ठोक्ने वा ढोका खोल्ने काम गरेका छैनन् । तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, तत्कालीन रक्षामन्त्री हरि उप्रेती भने सेनाले ढोका खोलेपछि मात्र निस्किएर संसद भवनतर्फ गएका छन् । यी दुबै पूर्वमन्त्रीको सुरक्षामा खटिएका पीएसओले सलाम भने ठोकेका छैनन् ।
अर्थमन्त्री रामेश्वर खनाल भने आफैँ गाडीको ढोका खोलेर झरेको र आफैँले गाडी बन्द गरेको भिडिओ हामीले भेट्टायौँ । सरकारी गाडी प्रयोग नगर्ने घोषणा गरेका मन्त्री खनालले आफ्नै निजी गाडी प्रयोग गर्ने गरेका छन् । गाडीमा अगाडि बसेका सैनिक उनीभन्दा पहिला बाहिर निस्किएर अर्थमन्त्री खनालको गाडीको ढोका अघि उभिएका देखिन्छन् । त्यति बेलासम्म अर्थमन्त्री खनालले आफैँ ढोका खोलेर निस्किएका छन् ।
यो दृश्य ‘Nepali News’ ले ८ अक्टोबरमा “झन्डा पनि नलगाइकन आफ्नै गाडीमा हिँड्छन मन्त्री रामेश्वर खनाल” शीर्षकमा सार्वजनिक गरेको भिडिओमा छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका विभिन्न भिडिओलाई विश्लेषण गर्दा सार्वजनिक पदमा रहेका व्यक्तिको गाडीबाट ओर्लिने शैलीमा विविधता देखिन्छ ।
विश्लेषण गरिएका अधिकांश सन्दर्भमा विशेषगरी प्रधानमन्त्री सुशिला कार्की, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन मन्त्रीहरू पदम गिरी, हरि उप्रेती र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ले गाडीको ढोका आफैँ नखोली सुरक्षाकर्मी वा सहयोगीले खोलिदिएपछि मात्र झर्ने गरेको पाइयो ।
यसको विपरीत पूर्वगृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री रामेश्वर खनालले भने अरूको सहयोग नलिई आफैँले गाडीको ढोका खोलेर बाहिर निस्किएको देखियो । मन्त्री खनालले सरकारी गाडी समेत प्रयोग नगरी निजी गाडीमा सवार भई सुरक्षाकर्मी अगाडि उभिए पनि आफैँ ढोका खोलेर निस्किएको फरक दृश्य देखियो ।
पीएसओले सलाम ठोक्ने कुरामा पनि विविधता देखियो । केही मन्त्रीका पीएसओले सलाम ठोकेपछि ढोका खोलेको देखिन्छ । केहीमा भने पीएसओले सलाम ठोकेको देखिँदैन ।
सुरक्षा प्रोटोकलमा के छ ?
नेपाल सरकारले जारी गरिएको “अतिविशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१” ले उच्च पदस्थ सार्वजनिक पदाधिकारीको सुरक्षा स्पष्ट रूपमा वर्गीकरण गरेको छ । यस कार्यविधिको “अति विशिष्ट तथा विशिष्ट व्यक्तिले प्राप्त गर्ने सुरक्षास्तरको वर्गीकरण” अन्तर्गत दफा १.२.१ (ग) मा विशिष्ट व्यक्तिको सूची उल्लेख गरिएको छ, जहाँ उपदफा १.२.१.४ ले ‘नेपाल सरकारका मन्त्री’लाई विशिष्ट व्यक्ति मानेको छ ।
यसको तात्पर्य मन्त्रीलाई दिइने सुरक्षा व्यक्तिगत निर्णय वा चाहना नभई कानुनले तोकेको वर्गीकृत सुरक्षा व्यवस्था हो र यो राज्यको दायित्वअन्तर्गत लागु गरिने संरचनागत प्रोटोकल भन्ने बुझिन्छ ।
उक्त कार्यविधि अनुसार सार्वजनिक स्थलमा सवारी साधन रोकिने बित्तिकै सुरक्षाकर्मीले वरपरको अवस्था, सम्भावित जोखिम र वातावरणको मूल्याङ्कन गर्नुपर्छ । वातावरण सुरक्षित भएको सुनिश्चित गरेपछि मात्र संरक्षित व्यक्तिलाई सवारीबाट बाहिरिन सङ्केत दिनुपर्छ । सवारीमा चढ्ने र ओर्लने प्रक्रिया ‘Controlled Movement’ अन्तर्गत सञ्चालन हुन्छ । यो व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) को व्यावसायिक जिम्मेवारीका रूपमा रहेको देखिन्छ ।
नेपाली सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतले विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०८१ को मर्म अनुसार सुरक्षा प्रदान हुँदै आएको बताए । उनले भने, “विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि अनुसार नेपाली सेनाले अति विशिष्ट तथा विशिष्ट व्यक्तिलाई सुरक्षा प्रदान गर्दै आएको छ । भीआईपी सुरक्षाको सन्दर्भमा अहिले जुन किसिमबाट विषय आएको छ, यो कार्यविधि अनुसारै भएको हामीले पाएका छौँ ।”
यस विषयमा टेकपानासँग कुरा गर्दै पूर्व मेजर जर्नल बिनोज बस्न्यातले विशिष्ट व्यक्तिको सवारी साधनको ढोका खोल्ने काम पीएसओको जिम्मेवारी भन्दा पनि व्यवहारिक बनाइएको बताए । “ठाउँ जस्तो भए पनि विशिष्ट व्यक्तिको सुरक्षा पीएसओको जिम्मेवारीभित्र पर्छ,” बस्न्यातले भने, “पीएसओले ढोका खोलिदिनुपर्छ भन्ने त होइन । तर, सवारीबाट ओर्लिँदा वा चढ्दा सुरक्षा जोखिम हुने भएकाले अवस्था मूल्याङ्कन गरेर चढ्ने वा ओर्लिने सङ्केत दिने हो । व्यवहारिक रूपमा सहज बनाइदिन पीएसओले आफै ढोका खोलिदिने गर्छन् । यो भीआईपी रवाफभन्दा पनि सुरक्षा आवश्यकता हो ।”
यद्यपि ड्युटीमा खटिएको सुरक्षा अधिकारीले सलाम ठोकिसकेपछि मात्र ढोका खोल्ने भन्ने प्रवृत्ति अव्यवहारिक र अनावश्यक रवाफ भएको उनले सुनाए । उनले अगाडि भने, “सलाम ठोके सुरक्षित हुन्छ, नठोके असुरक्षित भन्ने त हुँदैन नि । अब विशिष्ट व्यक्ति को हो, उसको व्यवहार कस्तो छ भन्ने विषय बुझेर पीएसओले सलाम ठोक्ने वा नठोक्ने निर्णय लिन्छन् । पीएसओले जसको सुरक्षा गर्नु पर्ने हो, त्यो विशिष्ट व्यक्तिलाई बिहानै भेटिसकेको हुन्छ,” बस्न्यातले भने, “हरेक पटक गाडीबाट ओर्लिँदा सलाम ठोक्नुपर्छ भन्ने त हुँदैन ।”
लिखित वा कानुनी रूपमा सलाम ठोक्नुपर्ने सम्बन्धी स्पष्ट व्यवस्था नभए पनि पीएसओले आफूले सुरक्षा गर्नुपर्ने जिम्मेवारी पाएको व्यक्तिको व्यवहार मूल्याङ्कन गरी सलाम ठोक्ने वा नठोक्ने गर्ने गरेको उनले सुनाए । उनले अगाडि भने, “पीएसओले सलाम ठोकेन भनेर गल्ती हुने वा ठोक्यो भने सही भन्ने हुँदैन । सलाम ठोक्ने विषय सुरक्षासँग पनि जोडिँदैन ।”
नेपालमा मुख्य रूपमा उच्च पदस्थ अधिकारीहरूको सुरक्षा सुनिश्चित गर्न पीएसओ नियुक्त हुन्छन् । जसमा नेपाल प्रहरी वा नेपाली सेनाका सदस्यहरू हुन्छन् । गाडीबाट ओर्लिनु अघि वरिपरिको क्षेत्र स्क्यान गर्ने, सम्भावित खतरा पहिचान गर्ने र भीआईपीलाई सुरक्षित रूपमा बाहिर निकाल्ने जिम्मेवारी पीएसओको हुन्छ ।
ढोका खोलिदिने कार्यलाई सुरक्षा प्रक्रियाको भाग मान्न सकिन्छ । किनकि यसले पीएसओलाई नियन्त्रण कायम राख्न मद्दत गर्छ । जसले भीआईपीलाई कुनै आकस्मिक हमलाबाट बचाउँछ ।
यद्यपि नेपालमा भीआईपी कल्चर लामो समयदेखि विवादास्पद छ । जसमा मन्त्रीहरू, सांसदहरू र उच्च अधिकारीहरूले सुरक्षा कर्मचारीहरूलाई निजी सेवक जस्तो व्यवहार गर्छन् । यो प्रथा राजतन्त्र कालदेखि नै चलिआएको हो र अहिलेका लोकतान्त्रिक सरकारको समयमा पनि कायम छ ।
जगदीश खरेल जेनजी आन्दोलनपछि गठित चुनावी सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री हुन् । जो पत्रकारबाट मन्त्री बनेका हुन् । उनीसँगै क्याबिनेटमा मन्त्री रहेका महावीर पुन र रामेश्वर खनाल पीएसओ नै नलिने घोषणा गरेका छन् । तर नेताहरूलाई कसिलो प्रश्न गर्ने पत्रकारको छवि बनाएका मन्त्री खरेलले भीआईपी स्वाग देखाएको भन्दै सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ ।
के भन्छ सञ्चार मन्त्रालय ?
सञ्चार मन्त्रालयले भने ‘सुरक्षा प्रोटोकल पालना नगर्नु साहसिकता नभई जोखिम निम्त्याउने कदम’को रूपमा अर्थ्याएको छ । “यदि कुनै विशिष्ट वा अति विशिष्ट व्यक्ति सुरक्षाकर्मीको सङ्केत बिनै आफैँ सवारीबाट बाहिरिनु हुन्छ वा सुरक्षा जाँच पुरा नहुँदै सार्वजनिक स्थलमा प्रवेश गर्नु हुन्छ भने, त्यस अवस्थामा उहाँको सुरक्षामा जोखिम उत्पन्न हुन सक्छ,” मन्त्रालयले भनेको छ, “यसले सुरक्षाकर्मीको व्यावसायिक कर्तव्य निर्वाहमा बाधा पुग्नुका साथै सम्पूर्ण सुरक्षा संयन्त्रलाई कमजोर बनाउने सम्भावना रहन्छ । यसैले प्रोटोकल पालना गर्नु सुविधा होइन, सुरक्षा दायित्व हो ।”
त्यस्तै १९ मङ्सिरदेखि भाइरल भइरहेको उक्त भिडिओमा देखिएको ठाउँ संवेदनशील र राष्ट्रिय महत्त्वको भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो अध्यावधिक: पुस २, २०८२ १७:२४
