स्मार्टफोनलाई नै कम्प्युटरको रूपमा प्रयोग गर्ने दौडः गुगल पिक्सेल डेस्कटप र सामसङ डेक्समा को अघि ?
चैत ६, २०८२ १२:२३
काठमाडौँ । स्मार्टफोनलाई मनिटरमा जोडेर कम्प्युटर जस्तै चलाउन मिल्ने प्रविधि नयाँ होइन, तर गुगलले आफ्नो नयाँ पिक्सेल १० प्रो एक्सएल मार्फत यस क्षेत्रमा फड्को मारेको छ । सन् २०१७ देखि नै यस बजारमा राज गरिरहेको सामसङ डेक्स (Samsung DeX) र गुगलको नयाँ पिक्सेल डेस्कटप मोड बीचको प्रतिस्पर्धाले प्रयोगकर्ताहरूलाई नयाँ विकल्पसँगै कौतूहलता सिर्जना गरेको छ ।
पिक्सेल डेस्कटप मोड र सामसङ डेक्स दुवैले फोनका एन्ड्रोइड एपहरूलाई ठुलो स्क्रिनमा चलाउने सुविधा दिन्छन् । तर यिनीहरूको काम गर्ने तरिकामा केही आधारभूत भिन्नताहरू छन् । पिक्सेल डेस्कटपले एन्ड्रोइड १६ को नेटिभ विन्डोइङ सिस्टम प्रयोग गर्छ, जसले फोनकै इन्टरफेसलाई ठुलो स्क्रिनमा विस्तार गर्छ ।
तर अर्कोतर्फ सामसङले आफ्नो वन यूआई (One UI) माथि छुट्टै डेस्कटप इन्टरफेसको तह (shell) राखेको छ । सामसङ डेक्सको एउटा ठुलो फाइदा भनेको यसको परिपक्वता हो ।
यसमा डेस्कटपमा आइकनहरू राख्न, विजेटहरू प्रयोग गर्न र वालपेपरलाई फोनको भन्दा फरक राख्न मिल्छ । पिक्सेलमा भने डेस्कटप केवल एउटा वालपेपर जस्तो मात्र देखिन्छ, जहाँ आइकन वा विजेटहरू सिधै राख्न मिल्दैन ।
यी दुई बीचको सबैभन्दा ठुलो भिन्नता नोटिफिकेसन र सेटिङ हेर्ने तरिकामा देखिन्छ । सामसङ डेक्सले विन्डोज पीसी जस्तै स्क्रिनको कुनामा 'सिस्टम ट्रे', क्यालेन्डर र घडी राखेको छ ।
जसले गर्दा काम गर्न निकै सहज हुन्छ । तर पिक्सेलमा फोनमा जस्तै माथिबाट मेनु तान्नुपर्छ । जसका आइकनहरू डेस्कटपका लागि साना देखिन्छन् र कहिलेकाहीँ मेनुले पुरै स्क्रिन ढाकेर मल्टी टास्किङमा बाधा पुर्याउँछ ।
यद्यपि वेब ब्राउजिङमा भने पिक्सेलले राम्रो प्रदर्शन गरेको देखिन्छ । पिक्सेलमा रहेको गुगल क्रोमले ठुलो स्क्रिनमा वास्तविक डेस्कटप जस्तै अनुभव दिन्छ ।
सामसङ डेक्समा भने क्रोम कहिलेकाहीँ मोबाइल भर्सन जस्तै देखिने वा फर्म्याटिङ मिल्दैन । जसका लागि सामसङकै इन्टरनेट ब्राउजर प्रयोग गर्नु बढी उपयुक्त हुन्छ ।
दुवै प्लेटफर्मलाई यूएसबी-सीबाट एचडीएमआई एडप्टर प्रयोग गरी मनिटरमा जोड्न सकिन्छ । तर सामसङमा तारबिना (Wireless DeX) पनि कनेक्ट गर्न मिल्ने सुविधा छ, जुन पिक्सेलमा हालसम्म उपलब्ध छैन ।
सामसङले फोनलाई नै टचप्याडको रूपमा प्रयोग गर्न मिल्ने सुविधा पनि दिएको छ । जसले गर्दा माउस नभएका बेला पनि सजिलै नेभिगेसन गर्न सकिन्छ ।
पिक्सेलमा डेस्कटप र फोन दुवैका लागि एउटै स्क्रिन टाइमआउट सेटिङ हुन्छ । जबकि सामसङमा डेस्कटप मोडका लागि छुट्टै समय निर्धारण गर्न मिल्छ ।
यसरी हेर्दा अहिलेसम्मको अवस्थामा सामसङ डेक्स बढी परिष्कृत र वास्तविक डेस्कटप जस्तो अनुभव दिने प्लेटफर्मको रूपमा रहेको छ । पिक्सेलको मोड अझै पनि केही हदसम्म ठुलो फोन चलाए जस्तो मात्र लाग्छ ।
तर गुगलले एन्ड्रोइडलाई डेस्कटपका लागि थप कस्टमाइज बनाउँदै लगेको छ र सन् २०२६ को अन्त्यसम्ममा अल्मुनियम ओएस (Aluminium OS) मार्फत डेस्कटप बजारमा कडा प्रतिस्पर्धा गर्ने योजना बनाएको छ ।
यस हिसाबले यदि तपाईँ अहिले नै पूर्ण डेस्कटप अनुभव र धेरै सुविधाहरू चाहनुहुन्छ भने सामसङ डेक्स उत्कृष्ट छ । तर गुगलले जुन गतिमा सुधार गरिरहेको छ, त्यसले पिक्सेल डेस्कटप मोड छिट्टै नै सामसङ डेक्सको प्रमुख प्रतिद्वन्द्वी बन्ने निश्चित देखिन्छ ।
पछिल्लो अध्यावधिक: चैत ६, २०८२ १२:२४
