close

डिजिटल बैंकिङलाई सुरक्षित बनाउन राष्ट्र बैंकको नयाँ निर्देशन, साइबर सुरक्षा र डेटा गोपनीयता अनिवार्य

टेकपाना टेकपाना

चैत ७, २०८२ १०:५३

फाइल तस्बिर फाइल तस्बिर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘एकीकृत निर्देशन, २०८२’ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरूको डिजिटल बैंकिङ र प्रविधि सुरक्षाका लागि नयाँ मापदण्ड लागु गरेको छ । बढ्दो डिजिटल कारोबारसँगै निम्तिन सक्ने जोखिमलाई न्यूनीकरण गर्न केन्द्रीय बैंकले साइबर सुरक्षा र ग्राहकको डेटा गोपनीयतालाई अनिवार्य र कडा बनाएको हो ।

नयाँ परिपत्र अनुसार अब सबै बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो सञ्चालन र सुरक्षा प्रणालीलाई थप आधुनिक एवं प्रविधिमैत्री बनाउनुपर्नेछ । राष्ट्र बैंकको यो निर्देशनले विशेषगरी डिजिटल माध्यमबाट हुने ठगी नियन्त्रण र ग्राहकको व्यक्तिगत डेटाको सुरक्षालाई मुख्य प्राथमिकतामा राखेको छ ।

परिमार्जित निर्देशनमा बैंकहरूले सूचना प्रविधि र डिजिटल पूर्वाधारमा गर्नुपर्ने लगानीको दायरालाई थप स्पष्ट र अनिवार्य बनाइएको छ । पछिल्लो समय क्यूआर कोडमार्फत हुने अन्तर्राष्ट्रिय भुक्तानी र सीमापार कारोबारमा उच्च वृद्धि भएपछि राष्ट्र बैंकले सुरक्षा अडिटलाई कडाइका साथ लागु गर्न निर्देशन दिएको छ । अब बैंकहरूले विदेशी विनिमय र डिजिटल भुक्तानीमा प्रयोग हुने सफ्टवेयरहरूको नियमित प्राविधिक परीक्षण गरी त्यसको प्रतिवेदन अनिवार्य रूपमा केन्द्रीय बैंकमा बुझाउनुपर्नेछ ।

ग्राहकको व्यक्तिगत विवरणको गोपनीयता सम्बन्धी प्रावधानलाई नयाँ निर्देशनले थप कडा बनाएको छ । यदि कुनै बैंकले ग्राहकको डेटा सुरक्षामा लापरबाही गरेको पाइएमा वा सूचना प्रणालीमा अनधिकृत पहुँच पुगी डेटा लिक भएको खण्डमा सम्बन्धित बैंकलाई भारी जरिबाना तिराउने व्यवस्था गरिएको छ ।

बैंकहरूको वित्तीय स्वास्थ्य र दैनिक कारोबारको सूक्ष्म एवं स्वचालित अनुगमन गर्न राष्ट्र बैंक आफैँले पनि 'पोर्टफोलियो एनालिसिस एण्ड रिपोर्टिङ सिस्टम' जडान गर्ने प्रक्रिया अघि बढाएको छ । यो प्रविधिको प्रयोगपछि बैंकहरूले गर्ने कारोबारमा पारदर्शिता आउने र जोखिमपूर्ण कारोबारहरूको तत्काल पहिचान हुने राष्ट्र बैंकको विश्वास छ ।

 

पछिल्लो अध्यावधिक: चैत ७, २०८२ १०:५४