close

गुगल ड्राइभमा सयौँ पेज स्वतः स्क्यान गर्न मिल्ने नयाँ, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

चैत ८, २०८२ १६:४

गुगल ड्राइभमा सयौँ पेज स्वतः स्क्यान गर्न मिल्ने नयाँ, यसरी गर्नुहोस् प्रयोग

काठमाडौँ । यदि तपाईंले सयौँ पेज डकुमेन्ट स्क्यान गर्नुपर्‍यो भने के गर्नुहुन्छ ? पक्कै पनि स्क्यानर मसिनको सहायता लिनुहुन्छ होला । हुन त अहिले स्मार्टफोनमै कागजपत्र स्क्यान गर्न सघाउने विभिन्न एप पनि उपलब्ध छन् । तर, त्यस्ता निःशुल्क एपमा फिचरहरू सीमित हुन्छन् भने स्क्यान गरिएको डकुमेन्टमा एपको ‘वाटरमार्क’ बस्ने झन्झट पनि रहन्छ ।

यही समस्यालाई समाधान गर्न गुगलले आफ्नो ‘गुगल ड्राइभ’ एपको स्क्यानिङ फिचरलाई थप परिष्कृत बनाएको छ । गुगलले यस प्लेटफर्ममा विशेषगरी ‘मल्टी-पेज रियल टाइम स्क्यानिङ’, ‘अटो क्याप्चर’ र ‘डुप्लिकेट डिटेक्सन’ जस्ता नयाँ फिचर थपेको हो ।

परम्परागत एपमा डकुमेन्ट स्क्यान गर्दा आफैँले क्रप गर्नुपर्ने र राम्रोसँग नमिलेको खण्डमा पटक-पटक फोटो खिच्नुपर्ने अवस्था थियो । तर, गुगल ड्राइभले यो झन्झटलाई पूर्ण रूपमा अन्त्य गरिदिएको छ । कम्पनीका अनुसार यो नयाँ फिचरको मद्दतले अब एकै पटकमा कयौँ पेजहरू सजिलै स्क्यान गर्न सकिन्छ ।

यसले डकुमेन्टको प्रत्येक पेजलाई आफैँ डिटेक्ट गर्छ, स्वतः फोटो खिच्छ र एउटा मिलेको फर्म्याटमा आफैँ सेट गर्छ । पूर्णतः निःशुल्क रूपमा उपलब्ध यस प्लेटफर्मबाट स्क्यान गरिएका फाइललाई प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार पीडीएफ वा जेपीईजी फर्म्याटमा सेभ गर्न सक्छन् ।

 

कसरी प्रयोग गर्ने गुगल ड्राइभको स्क्यान फिचर ?

  • सबैभन्दा पहिला स्मार्टफोनमा गुगल ड्राइभ एप खोल्नुहोस् ।

  • त्यसपछि ‘क्यामेरा’ अप्सनमा ट्याप गर्नुहोस् । 

  • यति गरेपछि तपाईंले डकुमेन्टलाई फोनको क्यामेरामा पर्नेगरी मिलाउन सक्नु हुन्छ । 

  • यसमा एउटा म्यानुअल्ली ट्याप गर्ने फिचर छ । अर्थात् तपाईंको डकुमेन्ट फ्रेमभित्र पर्‍यो भने तपाईंले दायाँपट्टि भएको बटन ट्याप गर्न सक्नुहुन्छ । तर, स्वतः खिच्नु छ भने केही गर्नु पर्दैन, बीचमा रहेको अटो ट्याप अप्सनले खिच्छ । तर, यो अप्सनलाई अफ गर्दा भने म्यानुअल्ली खिच्नुपर्ने हुन्छ । 

  • त्यस्तै बायाँपट्टि रहेको ग्यालरीको अप्सनबाट पहिले भएका खिचेका डकुमेन्टका फोटो इम्पोर्ट गर्न सकिन्छ । 

  • डकुमेन्ट अटो स्क्यान भएपछि त्यसको स्न्याप तलपट्टि लहरैसँग देख्न सकिन्छ । तपाईंले पेज पल्टाएर अन्य स्न्याप पनि स्वतः लिन सक्नुहुन्छ ।

  • यसरी स्न्याप तलपट्टि आइसकेपछि हरेक डकुमेन्टलाई मिलाउन सकिने सुविधा पनि छ । रोटेट गर्नुपर्‍यो, फिल्टर प्रयोग गर्नुपर्‍यो वा क्रप गर्नुपर्‍यो भने पनि म्यानुअल्ली गर्न सकिन्छ । 

  • सबै तयार भइसकेपछि अब तल दायाँपट्टि देखिएको एरोमा ट्याप गर्नुहोस् । 

  • अब फाइलको नाम राखेर पीडीएफ वा जेपीईजी मध्ये कुनै एक छान्नुहोस् र माथि दायाँपट्टि रहेको अपलोडको बटनमा ट्याप गर्नुहोस् । 

  • यति गरेपछि उक्त फाइल गुगल ड्राइभमा अपलोड हुन्छ । त्यसलाई डाउनलोड गरेर शेयर गर्न पनि सक्नुहुन्छ वा पब्लिक गरेर ड्राइभ लिङ्क नै शेयर गर्न पनि मिल्छ । 

यसरी स्क्यान गरेको डकुमेन्टमा वाटरमार्क रहँदैन । नेपाली टेक्स्टमा भएको डकुमेन्ट स्क्यान गर्दा हाल केही अस्पष्ट हुने समस्या देखिएको छ । यद्यपि क्यामेरा एङ्गल मिलाउनु भयो भने त्यो समस्या पनि सजिलै हल हुने देखिन्छ ।

पछिल्लो अध्यावधिक: चैत ८, २०८२ १६:५