close

युट्युबमा लाइभस्ट्रिमको नाटक गरेर गर्भवती प्रेमिकाको हत्या गर्ने युट्युबर दोषी ठहर

टेकपाना टेकपाना

चैत ११, २०८२ १४:३८

नटाली म्याकनल्ली र उनका प्रेमी स्टेफन म्याकुलाघ नटाली म्याकनल्ली र उनका प्रेमी स्टेफन म्याकुलाघ

 

काठमाडौँ । अनलाइन भिडिओ गेम खेल्दै गरेको लाइभस्ट्रिम गरेर झुटो प्रमाण खडा गर्ने एक युट्युबर आफ्नी गर्भवती प्रेमिकाको हत्यामा दोषी ठहरिएका छन् । डिसेम्बर २०२२ मा उत्तरी आयरल्यान्डको काउन्टी अर्माघको लुर्गनस्थित आफ्नै घरमा ३६ वर्षीय स्टेफन म्याकुलाघको हिंस्रक आक्रमणबाट मारिँदा ३२ वर्षीया नटाली म्याकनल्ली १५ हप्ताकी गर्भवती थिइन् ।

लिस्बर्नका म्याकुलाघलाई बेलफास्ट क्राउन अदालतमा चलिरहेको सुनुवाइको पाँचौँ हप्तामा जुरीले दोषी ठहराएको हो । छ पुरुष र छ महिला सम्मिलित जुरीले दुई घण्टाको छलफलपछि उक्त फैसला सुनाएको थियो ।

द गार्जियनका अनुसार अदालतमा फैसला सुनाइँदा म्याकुलाघ कठघरामा ‘भावशून्य भएर’ उभिएका थिए । कठघराको पछाडि रहेको पब्लिक ग्यालरीमा भरिएका म्याकनल्लीका परिवार र साथीभाइले भने फैसला सुनेपछि खुसी व्यक्त गरेका थिए ।

 

यसरी भएको थियो विभत्स हत्या 

१८ डिसेम्बर २०२२ को दिन करिब अपरान्ह ४ बजे (जीएमटी) म्याकुलाघले आफ्ना हजारौं सब्सक्राइबरलाई बेलुका ६ बजेदेखि युट्युबमा लाइभ गेमिङ स्ट्रिम गर्ने जानकारी दिन्छन् । उक्त स्ट्रिमको शीर्षक हुन्छ- ‘भायोलेन्ट नाइट’ (हिंस्रक रात) ।

ठ्याक्कै ६ बजेदेखि सुरु भएको स्ट्रिमिङमा ‘votesaxon07’ नामले चिनिने म्याकुलाघ मदिरा पिएर, भेप तान्दै र क्यामेरामा कमेन्ट गर्दै ‘ग्रान्ड थेफ्ट अटो: भाइस सिटी’ र ‘रोबोट वार्स’ भिडिओ गेम खेलिरहेका देखिन्थे । त्यतिबेला उनले लाइभ हेर्न आएका अडियन्सलाई प्राविधिक समस्याको कारण अन्य स्ट्रिमरले जस्तै कमेन्टको रिप्लाई गर्न वा पढ्न नसक्ने बताएका थिए । त्यसैले उनले अडियन्सलाई पहिले नै ‘आपसमा लाइभ च्याटमा कुराकानी गर्न’ भनेका थिए । सो समयमा आफूले मोबाइल फोन पनि प्रयोग नगर्ने बताएका थिए ।

तर त्यो स्ट्रिम वास्तवमा लाइभ थिएन । एक डिजिटल फरेन्सिक विश्लेषकले अदालतमा दिएको प्रमाण अनुसार त्यो ६ घण्टा लामो गेमिङ स्ट्रिम चार दिन अघि नै रेकर्ड गरिएको थियो । विश्लेषकहरूका अनुसार त्यो प्रि-रेकर्डेड फाइल १९ डिसेम्बरको रात १२:०५ मा रोकेर डिलिट गरिएको थियो । त्यही प्रसारण चलिरहेको समयमा म्याकुलाघले नतालीको हत्या गरेका थिए । म्याकुलाघका युट्युब च्यानललाई प्लेटफर्मले अहिले हटाइसकेको छ । यद्यपि उक्त गेमिङ स्ट्रिम पहिले नै डिमोनिटाइज भइसकेको भए पनि अदालती प्रक्रिया अवधिभर त्यो उनको युट्युब अकाउन्टमै थियो ।

सुनुवाइको क्रममा जुरीलाई स्ट्रिमका केही भागहरू देखाइएको थियो । त्यसमा हिंसा, अपराध र सम्बन्धका कुरा समावेश थिए । जतिबेला नतालीमाथि आक्रमण भएको अनुमान गरिएको छ, ठिक त्यही समयमा स्ट्रिममा म्याकुलाघले ‘ग्रान्ड थेफ्ट अटो’ गेममा एउटी महिलालाई मार्नुपर्ने मिसन खेलिरहेका हुन्छन् ।

यसै क्रममा उनी गाउँछन्, “I need to kill this bitch, I need to take her down.” अर्थात ‘मैले यो कु*र्नीलाई मार्नु पर्छ, मैले उसलाई सिध्याउनु पर्छ ।’ करिब १० मिनेटपछि उनी भन्छन्, ‘एबसो-फकि*ङ नट-एल्ली, एबसो-फकिङ नताली (प्रेमिकाको नाम) ।” पूरै स्ट्रिममा उनले प्रेमिका नतालीको नाम लिएको यही एक पटक मात्र हो ।

केही मिनेटपछि उनले ब्रेक लिन्छन्, जसको बिचमा जेम्स बोन्डको फिल्म ‘नो टाइम टु डाई’ (मर्ने समय छैन) को पोस्टर छोटो समयका लागि स्क्रिनमा असान्दर्भिक रूपमा देखिन्छ । यी सङ्केतबाट म्याकुलाघको आशय के थियो भन्ने खुल्न सकेको छैन । किनभने उनले अदालतमा उभिएर बयान दिएनन् ।

म्याकुलाघको रेकर्ड गरिएको स्ट्रिम युट्युबमा पोस्ट हुनुभन्दा केही घण्टा अघि नताली म्याकनल्ली आफ्ना आमाबुबाको घरमा विश्वकपको फाइनल हेर्दै आइतबारको डिनर गरिरहेकी थिइन् । स्ट्रिम पोस्ट गर्नु ठिकअघि उनीहरूबिच मेसेज आदानप्रदान भएको थियो ।

म्याकुलाघले आफू ‘रातभर स्ट्रिम गर्न लागेको’ बताएका थिए भने नतालीले मौका मिलाएर हेर्ने बताएकी थिइन् । केही समयपछि नताली आफ्नो कार चलाएर करिब बेलुका ७ बजे आफ्नै घर फर्किइन् ।

त्यतिबेलासम्म म्याकुलाघ लिसबर्नस्थित आफ्नो घरबाट करिब दुई माइल हिँडेर डनमुरी पुग्छन्, जहाँबाट उनले २० माइल टाढा रहेको लुरगान जाने बस समात्छन् । उनले गाढा रङका कपडा र पञ्जा लगाएका हुन्छन् । अनुहारको तल्लो भाग छोपेका हुन्छन् र एउटा हरियो शपिङ झोला बोकेका हुन्छन् । त्यसअघि नै उनले बस र ट्रेनको समयतालिका हेरिसकेका थिए ।

(तस्बिर स्रोतः बीबीसी)

लुरगान पुगेपछि उनी डेढ माइलभन्दा बढी हिँडेर नतालीको घर ‘सिल्भरवुड ग्रिन’ पुग्छन्, जहाँ उनले क्रूरतापूर्वक आफ्नी प्रेमिकाको हत्या गर्छन् । प्रहरीका अनुसार हत्या राति ८:५० देखि ९:३० को बीचमा भएको थियो । उनलाई चक्कु प्रहार गरिएको थियो, घाँटी निमोठिएको थियो र टाउकोमा कम्तीमा पाँच पटक गम्भीर चोट पुर्‍याइएको थियो । म्याकुलाघको फर्कने यात्रा सीसीटीभीमा कैद भएको छ । फर्कनु अघि उनले आफ्नो लुगा फेरेका छन् ।

(लुर्घानको सीसीटीभीमा कैद भएको म्याकुलाघको तस्बिर)

अभियोजकले अदालतमा म्याकुलाघको सामाजिक सञ्जालमा अपलोड गरेको तस्बिर देखाएका थिए । जसमा उनले कालो टोपी र नक्कली कपाल लगाएका थिए । यो हुलिया लुरगान सहरबाट फर्किँदै गरेको फुटेजमा देखिएको व्यक्तिसँग मिल्दोजुल्दो थियो ।

(सामाजिक सञ्जालमा भेटिएको म्याकुलाघको तस्बिर)

उनको योजना बस वा ट्रेनबाट फर्कने थियो भन्ने अनुमान गरिएको छ । तर धेरै ढिलो भइसकेको थियो । यसको साटो उनले रोकिराखेको ट्याक्सी भेटाए । ट्याक्सी बुक गर्ने व्यक्ति आफू नै भएको, तर गन्तव्य परिवर्तन भएको र आफू लिसबर्न जानुपर्ने भन्दै उनले ड्राइभरलाई मनाए । ट्याक्सीले उनलाई सीधै उनको घरको ढोकामै पुर्‍यायो । घर पुगेपछि उनले स्ट्रिम रोके र प्रि-रेकर्डेड फाइल डिलिट गरे ।

आफ्नो ‘एलिबाई’ (घटनास्थलभन्दा अन्यत्र उपस्थितिको जिकिर) लाई अझ बलियो बनाउन म्याकुलाघले नताली र आफ्नी साथी एनीलाई मेसेज पठाउँछन् । ती मेसेजमा गर्भावस्थामा आफूले मदिरा पिएकोमा नताली रिसाएको हुन सक्ने र नतालीलाई मधुमेहको समस्या भइरहेको हुन सक्ने आशय थियो । त्यही समयमा उनले ‘स्टार वार्स लाइटसेबर’ खेलौनाको भिडिओ रिभ्यु समेत पोस्ट गर्न भ्याए ।

त्यही साँझ लगभग २४ घण्टादेखि सम्पर्क विहीन नतालीलाई खोज्ने बहानामा उनी लुरगान गए । नतालीको घरबाट उनले रुँदै ९९९ मा कल गरे । १० मिनेट लामो कलमा उनले आपत्कालीन सेवालाई ‘उनी गइन्’ र ‘यहाँ जताततै रगत छ’ भनेर बताए । उनले सीपीआर दिएको नाटक पनि गरे ।

(१५ हप्ताकी गर्भवती नताली म्याकनल्ली

अभियोजकले अदालतलाई बताए अनुसार यो सबै एउटा नाटक मात्र थियो । म्याकुलाघले घटनास्थलमा प्रहरीलाई नतालीका ‘दुर्व्यवहार गर्ने पूर्व-प्रेमी’ ले हत्या गरेको हुन सक्ने बताएका थिए । उनले अघिल्लो रातको आफ्नो लाइभ स्ट्रिमको बारेमा पनि जानकारी दिए । उनलाई घटनास्थलमै पक्राउ गरियो, तर पछि रिहा गरियो ।

प्रहरीले उनको झुटो प्रमाण पत्यायो र क्रिसमसको अघिल्लो दिन (क्रिसमस इभ) उनलाई शङ्कास्पद सूचीबाट हटाइएको जानकारी दियो । म्याकुलाघले आरोप लगाएका पूर्व-प्रेमीलाई पनि पक्राउ गरी सोधपुछ गरियो । तर उनले घटना हुने बेला आफू त्यहाँ नरहेको स्पष्ट प्रमाण पेस गरेपछि रिहा भए । विश्वकप फाइनलको बेला टिभी अगाडि सुतिरहेको उनको भिडिओ अदालतमा जुरीलाई देखाइएको थियो ।

त्यसपछिका ६ हप्तासम्म म्याकुलाघले शोकाकुल प्रेमीको नाटक गरिरहे । उनी नतालीको अन्त्येष्टिमा सहभागी भए, जहाँ उनलाई नतालीको शवसँग एक्लै समय बिताउन समय दिइयो । उनले चिहानमा गएर श्रद्धाञ्जली दिए । नतालीका भाइलाई निरन्तर मेसेज गरिरहे ।

उनले पुराना भिडिओ जोडेर एउटा श्रद्धाञ्जली भिडिओ बनाए, जुन नतालीको सम्झनामा आयोजित कार्यक्रममा बजाइयो । यहाँसम्म कि उनले म्याकनल्ली परिवारको व्यक्तिगत कुराकानी सुन्नको लागि उनीहरूको घरमा आफ्नो फोन रेकर्डिङ अन गरेर छाडे । ३९ मिनेटपछि ‘फोन बिर्सिएको’ बहाना गर्दै उनी घर फर्के । उनले फोनमा आएको प्राविधिक गडबडीका कारण रेकर्डिङ भएको दाबी गरे । तर अदालतमा उनले यसअघि पनि आफ्नी पूर्व-प्रेमिकाको निजी काउन्सिलिङ सेसन रेकर्ड गरेको तथ्य बाहिर आयो ।

 

उनले किन यस्तो गरे ?

यस हत्याको ठ्याक्कै उद्देश्य के थियो भन्ने बाहिर आइसकेको छैन । किनभने सुरुवातमा म्याकुलाघले हत्या अस्वीकार गरेका थिए भने प्रि-रेकर्डेड स्ट्रिमको बारेमा कुनै स्पष्टीकरण दिएका थिएनन् । साथै उनी सुनुवाइको क्रममा कठघरामा उभिएनन् ।

तर अदालतमा पेस भएको विवरण अनुसार मृत्यु हुनुभन्दा केही महिना अघिदेखि नतालीले अन्य पुरुषसँग कुराकानी गरिरहेकी थिइन् । तीमध्ये केही मेसेज यौनिक प्रकृतिका थिए भने उनले मृत्यु हुनुभन्दा एक हप्ता अघि एक पुरुषलाई नयाँ वर्षमा म्याकुलाघसँग सम्बन्ध तोड्ने सोचमा रहेको बताएकी थिइन् ।

अदालतले म्याकुलाघले नतालीको फोनमा एक्सेस बनाएर ती मेसेज पढेका थिए भन्ने ठानेको छ । यसअघि पनि पूर्व-प्रेमिकाको फोन पढेपछि कुटपिट गरेको आरोपमा उनी पक्राउ परिसकेका थिए । तर ईर्ष्याले मात्र म्याकुलाघले यति सुजबुझ तरिकाले हत्याको योजना बनाए भन्ने कुरालाई अदालतले व्याख्या गर्न सकेको छैन । 

यद्यपि प्रेमिका नतालीको हत्या भने म्याकुलाघले योजनावद्ध तरिकाले गरेको र घटना लुकाउन अनेक प्रपञ्च रचेको पुष्टि गरि सकेको छ । 

 

के हुन्छ सजाय ?

न्यायाधीश जस्टिस किन्नीले म्याकुलाघलाई हत्याको अपराधमा अनिवार्य आजीवन कारावासको सजाय हुने बताए । रिहाइको लागि विचार गर्नुअघि म्याकुलाघले कम्तीमा कति समय जेलमा बिताउनुपर्छ भन्ने निर्धारण गर्न आउँदो मे महिनामा अर्को सुनुवाइ हुनेछ ।

अदालतबाहिर म्याकनल्लीको परिवारले साथीभाइ, परिवार र सर्वसाधारणलाई उनीहरूको सहयोगका लागि धन्यवाद दिँदै भने, “तपाईंहरूको साथबिना हामीले हाम्रो जीवनको यो सबैभन्दा कठिन समय पार गर्न सक्ने थिएनौँ ।”

म्याकनल्लीका भाइ नियाल म्याकनल्लीले द गार्जियनसँग कुरा गर्दै भने, “आज नतालीले न्याय पाउँदा महिला र किशोरीमाथि हुने हिंसाका सबै पीडितप्रति हाम्रो सहानुभूति छ । सबै पीडित र तिनका परिवारले अदालतमा आफ्नो पालो पाउनेछन् र आफूलाई मिल्नुपर्ने न्याय समयमै पाउनेछन् भन्ने हामीलाई आशा लागेको छ ।”

उनका अर्का भाइ डेक्लानले नताली ‘एक प्रेरणादायी व्यक्ति’ भएको बताए । उनले भने, “हाम्रो जीवनमा तिमी हुनु नै हामीले पाएको सबैभन्दा ठुलो खुसी थियो । तिमी जन्मिन लागेको बच्चा ‘डीन’ का लागि एक अद्भुत आमा बन्ने थियौ । हामी तिमीलाई सधैँ माया गर्नेछौँ र आशा गर्छौँ कि अब तिम्रो आत्माले शान्ति पाउनेछ ।”

पछिल्लो अध्यावधिक: चैत ११, २०८२ १४:४४