close

अवैध क्रिप्टो कारोबारमा संलग्न बङ्गलादेशी नागरिक ठमेलबाट पक्राउ, भाषा नबुझ्दा अनुसन्धानमा कठिनाइ

टेकपाना टेकपाना

चैत १२, २०८२ १८:४५

अवैध क्रिप्टो कारोबारमा संलग्न बङ्गलादेशी नागरिक ठमेलबाट पक्राउ, भाषा नबुझ्दा अनुसन्धानमा कठिनाइ

काठमाडौँ । अवैध रूपमा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबार गरिरहेको आरोपमा एक बङ्गलादेशी नागरिक पक्राउ परेका छन् । बङ्गगलादेशको पाबना घर भई हाल काठमाडौँ महानगरपालिका-२६, ठमेल बस्ने २९ वर्षीय मोहम्बद शेहाबुल इस्लामलाई पक्राउ गरिएको हो । 

शङ्कास्पद गतिविधि गरेको आशङ्का गर्दै प्रहरीले उनलाई बुधबार (११ माघ) राति ठमेलस्थित छाया सेन्टरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी  दिए । त्यसपछि अनुसन्धान गर्ने क्रममा उनी क्रिप्टो कारोबारमा संलग्न रहेको खुलेको हो ।  

प्रारम्भिक अनुसन्धानका क्रममा इस्लामको मोबाइलमा ३० लाख ४९ हजार ७३६ रुपैयाँ ९३ पैसा बराबरको यूएसडीटी लगायतका क्रिप्टो करेन्सीको कारोबार भएको प्रमाण फेला परेको उनले जानकारी दिए । इस्लामबाट ६० हजार रुपैयाँ नगद, विभिन्न बैङ्कका ७ थान एटीएम कार्ड र ३३ थान चेकबुक, बैङ्क खाता खोल्न प्रयोग गरिने ७ थान केवाईसी फाराम, महम्बद मुस्ताहिन फाहमिदको नाममा काटिएको २ लाख रुपैयाँको चेक, ९ ओटा एनसेल र नमस्तेका सिमकार्ड र २ थान मोबाइल बरामद गरिएको छ ।  

पक्राउ परेका इस्लाममाथि मुलुकी अपराध संहिता २०७४ को दफा २६२ (क) बमोजिम अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए । काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गर्ने काम भइरहेको उनले बताए । “बङ्गलादेशी नागरिकले नेपाली भाषा नबुझ्ने भएकाले अनुसन्धानका लागि बयान लिन भाषाविद् खोज्ने काम भइरहेको छ । भाषाविद्को सहयोगले थप अनुसन्धान अघि बढाउछौँ,” उनले भने ।

पछिल्लो अध्यावधिक: चैत १२, २०८२ १८:४५