इरानी ह्याकर समूह ‘हन्डाला’ ले ह्याक गर्यो एफबीआई निर्देशकको व्यक्तिगत ईमेल, निजी तस्बिर पनि लिक
चैत १४, २०८२ १२:३३
काठमाडौँ । इरानसँग आबद्ध एक ह्याकर समूहले अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक काश पटेलको व्यक्तिगत ईमेल ‘इनबक्स’ ह्याक गरेको छ । शुक्रबार ह्याकर समूह र एफबीआई दुवैले यस घटनाको पुष्टि गरेका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार ‘हन्डाला ह्याक टिम’ नामक समूहले आफ्नो वेबसाइटमार्फत पटेलको ईमेल ह्याक भएको दाबी गर्दै उनका दर्जनौं निजी तस्बिर र कागजात इन्टरनेटमा लिक गरेको छ । सार्वजनिक गरिएका तस्बिरमा पटेलले सिगार तानिरहेको, पुरानो ‘कन्भर्टिबल’ कारमा सवार भएको र रमको बोतलसँगै ऐना अगाडि सेल्फी खिचिरहेको देखिन्छ ।
ह्याकर समूहले पटेल अब ‘सफलतापूर्वक ह्याक गरिएका पीडितको सूचीमा’ परेको भन्दै व्यङ्ग्यसमेत गरेका छ ।

एफबीआईले निर्देशक पटेलको ईमेल लक्षित गरिएको स्वीकार गरेको छ । ब्युरोका प्रवक्ता बेन विलियमसनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यस गतिविधिबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न हामीले आवश्यक सबै कदम चालेका छौँ ।” प्रवक्ता विलियमसनका अनुसार चोरी भएका तथ्याङ्क पुराना प्रकृतिका हुन् र त्यसमा कुनै पनि सरकारी गोप्य जानकारी समावेश छैन ।

पश्चिमा अनुसन्धानकर्ताका अनुसार आफूलाई प्यालेस्टाइन समर्थक नागरिक ह्याकर दाबी गर्ने ‘हन्डाला’ वास्तवमा इरानी सरकारको साइबर गुप्तचर इकाइको एउटा हिस्सा हो । यो समूहले हालैका दिनमा अमेरिकी स्वास्थ्य सेवा प्रदायक कम्पनी ‘स्ट्राइकर’ र रक्षा सामग्री उत्पादक कम्पनी ‘लकहिड मार्टिन’ का कर्मचारीको व्यक्तिगत विवरण सार्वजनिक गरेको दाबीसमेत गरेको थियो ।
ह्याकरले पटेलको ईमेलबाट सन् २०१० देखि २०१९ सम्मका करिब ३०० ईमेलको नमुना सार्वजनिक गरेका छन् । त्यसमा व्यक्तिगत र व्यावसायिक पत्राचार रहेको रोयटर्सले उल्लेख गरेको छ । साथै अहिले जुन जिमेल एड्रेस ह्याक भएको दाबी गरिएको छ त्यो पहिलेका ‘डेटा ब्रिच’मा पनि पटेलसँग सम्बन्धित पाइएको थियो ।
इजरायली साइबर सुरक्षा कम्पनी ‘चेक पोइन्ट’ का गिल मेसिङले यो ह्याक-एण्ड-लिक (चोरी गर्ने र सार्वजनिक गर्ने) अपरेसन अमेरिकी अधिकारीलाई लज्जित बनाउने र उनीहरूलाई असुरक्षित महसुस गराउने इरानी रणनीतिको पाटो भएको बताएका छन् । उनले रोयर्टसलाई भने, “इरानीहरू अहिले आफूसँग भएका जे-जति क्षमता छन्, ती सबै प्रयोग गरिरहेका छन् ।”
पछिल्लो समय अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि इरानसँग सम्बन्धित ह्याकरले आफ्ना साइबर गतिविधिलाई तीव्र बनाएका छन् ।
उच्च पदस्थ अमेरिकी अधिकारीको व्यक्तिगत ईमेल ह्याक भएको यो पहिलो घटना भने होइन । यसअघि सन् २०१६ को निर्वाचनअघि हिलारी क्लिन्टनका चुनावी अभियान प्रमुख जोन पोडेस्टा र सन् २०१५ मा तत्कालीन सीआईए निर्देशक जोन ब्रेननको व्यक्तिगत ईमेल पनि ह्याक भएको थियो । अमेरिकी गुप्तचर निकायले इरान र उसका एजेन्टले आगामी दिनमा पनि यस्ता साना स्तरका साइबर आक्रमण जारी राख्न सक्ने चेतावनी दिएका छन् ।
पछिल्लो अध्यावधिक: चैत १४, २०८२ १३:१८
