अनसनरत बलात्कार पीडित माहिलामाथि एमाले कार्यकर्ताबाट हातपात, भिडिओ भाइरल
चैत १५, २०८२ १८:४०
काठमाडाैं । अनसनरत अवस्थामा रहेकी बलात्कार पीडित महिलामाथि एमाले कार्यकर्ताले हातपात गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । एमाले नेता कर्ण मल्लकाे फाेटाे छापिएकाे ब्यानर लिएर बसेकी ती महिलामाथि विरोध प्रदर्शनमा उत्रिएका पार्टी कार्यकर्ताले हातपात गरेका हुन् ।
मल्ललाई बलात्कार सम्बन्धी कसुरमा चैत्र १४ गते जिल्ला प्रहरी परिसर ललितपुरले सातदाेबाटाेबाट पक्राउ गरिसकेकाे छ । मल्ललाई पक्राउ र कारबाहीकाे माग गर्दै ब्यानरसहित विगत केही दिनदेखि ती महिला अनसन बस्दै आएकी थिइन् ।
केपी ओली रिहाइकाे माग गर्दै माइतीघरमा विराेध प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ताले ब्यानरमा एमालेको लोगो देखिने फोटो प्रयोग गरेको निहुँमा विवाद निकालि हातपात गरेको बुझिएको छ । उक्त ब्यानरमा मल्लकाे फोटोसँगै पार्टीको लोगो देखिएकाे थियाे । साेही लाेगाेलाई लिएर एमाले कार्यकर्ताहरूले विवाद निकालेका थिए । केही कार्यकर्ता व्यानर थुत्न गएपछि विवाद सुरु भएकाे थियाे ।
केही समय भनाभन भएपछि अनसनरत महिला माथि आन्दाेलनरत एक महिलाले एक्कासि हातपात गरेको भिडिओमा देख्न सकिन्छ । हातपात पछि अनसनरत महिलाले ढुङ्गा हान्दै प्रतिकार समेत गरेकी थिइन् । प्रहरीले पीडित महिलालाई पछि सुरक्षा दिँदै त्यहाँबाट हटाएकाे थियाे ।
भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रयोगकर्ताले एमाले र एमाले कार्यकर्ताप्रति आक्रोश पाेखिरहेका छन् । मुगु घर भएका एमालेका प्रदेश सदस्य मल्लविरुद्ध पीडित महिलाले फागुन ५ गते प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले शनिबार मल्ललाई पक्राउ गरिसकेकाे छ । मल्ल २०६४ को संविधानसभामा एमालेबाट सभासद् समेत बनेका थिए ।
ललितपुर जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) गाैतम मिश्रका अनुसार ललितपुर जिल्ला प्रशासन कार्यालय प्रमुख ईश्वरराज पाैडेलले पीडित महिलालाई आइतबार दिउँसो १ बजे जुस दिएर अनसन ताेडाएका थिए ।
मिश्रका अनुसार फरार रहेका मल्ललाई पीडितको उजुरीका आधारमा ललितपुर १५ बाट पक्राउ गरिएकाे हाे । ६ दिनकाे म्याद थप गरि मल्ल उपर अनुसन्धान भइरहेकाे जानकारी उनले दिए ।
कालिकोटकी स्थानीय घर भएकी पीडित महिलाले बालकुमारीको एक होटेलमा आफूलाई मल्लले बलात्कार गरेको आरोप लगाएकी छन् ।




पछिल्लो अध्यावधिक: चैत १५, २०८२ १८:४०
