काठमाडौँ । एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि अब आफ्ना साथीभाइ र परिवारसँग सम्पर्कमा रहन अझ सहज भएको छ । गुगल मेसेजेज (Google Messages) एपमा नयाँ 'रियल-टाइम लोकेसन शेयरिङ' फिचर थपिएसँगै प्रयोगकर्ताहरूले अब सिधै मेसेजबाटै आफ्नो लाइभ लोकेसन पठाउन सक्ने भएका छन् ।
विगतदेखि नै ह्वाट्सएप, टेलिग्राम र आईमेसेज जस्ता एपहरूमा उपलब्ध यो सुविधा अहिले गुगलले पनि आफ्ना प्रयोगकर्ताहरूका लागि उपलब्ध गराएको हो ।
आफ्नो लाइभ लोकेसन शेयर गर्न सबैभन्दा पहिले आफ्नो फोनमा गुगल मेसेजेज एप खोल्नुहोस् र जसलाई लोकेसन पठाउनु पर्ने हो, उसको च्याट थ्रेडमा जानुहोस् ।
अब टेक्स्ट इनपुट बक्सको बायाँ छेउमा रहेको प्लस (+) आइकनमा क्लिक गर्नुहोस् र त्यहाँ देखिने विभिन्न विकल्पहरूमध्ये 'रियल-टाइम लोकेसन' (Real-time location) मा ट्याप गर्नुहोस् । तपाईंले आफ्नो लोकेसन १ घण्टाका लागि, दिनभरका लागि वा आफूले चाहेको निश्चित समयका लागि शेयर गर्न सक्नुहुन्छ । समय छनोट गरिसकेपछि 'सेन्ड' बटनमा क्लिक गर्नुहोस् ।
यो फिचर गुगलको 'फाइन्ड हब' प्रविधिबाट सञ्चालित छ । जसले गर्दा तपाईंको लोकेसनका साथै फोनको ब्याट्री स्थिति पनि प्राप्तकर्ताले देख्न सक्छन् ।
यदि तपाईं 'मैले बन्द नगरेसम्म' (Until I turn it off) भन्ने विकल्प प्रयोग गरेर अनिश्चित कालका लागि लोकेसन शेयर गर्न चाहनुहुन्छ भने तपाईं र प्राप्तकर्ता दुवैको फोनमा आरसीएस फिचर सक्रिय भएको हुनुपर्छ ।
लोकेसन शेयर गर्न सुरुमा डेटा वा वाईफाई आवश्यक पर्छ । तर एक पटक सक्रिय भइसकेपछि जीपीएसको मद्दतले लोकेसन अपडेट भइरहन्छ ।
यदि तपाईंले तोकिएको समयभन्दा अगावै लोकेसन शेयर गर्न बन्द गर्न चाहनुहुन्छ भने च्याटमा गएर 'स्टप' (Stop) बटनमा ट्याप गरी सजिलै बन्द गर्न सक्नुहुन्छ ।
यो फिचरले मुख्यतया गुगल मेसेजेज प्रयोगकर्ताहरूबिच मात्र काम गर्छ । यदि तपाईंले आईफोन प्रयोगकर्तालाई लोकेसन पठाउनु पर्ने छ भने गुगल म्याप्स मार्फत लिङ्क पठाउनु अझ प्रभावकारी हुन्छ ।
यो फिचर अधिकांश एन्ड्रोइड फोनहरूमा उपलब्ध भइसकेको छ । यदि तपाईंको फोनमा यो विकल्प देखिएको छैन भने प्ले स्टोरमा गएर गुगल मेसेजेज एप अपडेट गर्न वा बेटा प्रोग्राममा सामेल हुन सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: चैत २२, २०८२ १२:४९
