निःशुल्क रिचार्ज अफर भन्दै डिशहोमका ग्राहक ठग्ने ३ जना पक्राउ, मुख्य योजनाकार कम्पनीकै पूर्व कर्मचारी
चैत २४, २०८२ १२:४
काठमाडौँ । काठमाडौँस्थित डिशहोमको कर्मचारी भएको बहाना बनाई ग्राहकहरूलाई ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नियमित ग्राहकहरूलाई फोन सम्पर्क गरी '१ वर्षको रिचार्ज गर्दा ४ महिनाको निःशुल्क रिचार्ज अफर' आएको भन्दै झुक्यानमा पारेर रकम ठगी गरेको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ, नेत्रावती डबजोङ गाउँपालिका-५ घर भएकी आरती सिम्खडा (२२ वर्ष), दोलखा, भिमेश्वर-८ घर भएका विष्णु कार्की (२२ वर्ष) र रामेछाप, दोरम्बा शैलुङ-२ का असल सिंह तामाङ (४७ वर्ष) रहेका छन् । तीनै जनालाई प्रहरीले आइतबार टोखा क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरी टोलीले उनीहरूको साथबाट ठगीमा प्रयोग गरिएका डिशहोम इन्टरनेट लेखिएको ५ थान रसिद प्याड, प्रविधि इम्पेक्सको १ थान छाप, डिशहोम फाइबरनेटको आरती सिम्खडाको नाममा रहेको १ थान परिचय पत्र र विभिन्न व्यक्तिहरूको नाम, फोन नम्बर र हिसाब-किताब राखिएका २ थान कापी बरामद गरेको छ ।
प्रहरी उपरीक्षक मनोहप्रसाद भट्टका अनुसार मुख्य आरोपी आरती सिम्खडाले करिब ४ वर्ष 'डिश मिडिया नेटवर्क' अन्तर्गतको सब-डिलर 'एलेक्स इम्पेक्स' र 'डिशहोम इन्टरनेट अनलाइन सर्भिस'मा काम गरेको पाइएको छ । सोही क्रममा आफूसँग भएका नियमित ग्राहकहरूको सम्पर्क नम्बर प्रयोग गरी उनले ठगीको जालो बुनेकी थिइन् ।
उनले ग्राहकहरूलाई लोभ्याएर आफ्नो र श्रीमानको इसेवा, खल्ती र विभिन्न बैङ्क खाताहरूमा रकम जम्मा गर्न लगाउने गरेको खुलेको छ । ठगीका लागि आवश्यक पर्ने नक्कली रसिद र 'प्रविधि इम्पेक्स प्रालि'को छाप गोङ्गबुमा रहेको 'योन्जन आर्ट'बाट बनाएको अनुसन्धानमा देखिएको छ । रकम लिइसकेपछि उनीहरूले सोही नक्कली छाप भएको रसिद ग्राहकलाई दिने गर्थे ।
प्रारम्भिक अनुसन्धानका क्रममा आरती सिम्खडाले आफ्नै नम्बरबाट डिशहोमका ८६ वटा अकाउन्टहरू बनाएको देखिएको छ । हालसम्मको विवरण अनुसार ३६४ जना ग्राहकहरू यस ठगीबाट पीडित भएको बुझिएको छ । ठगी गरिएको रकम कूल २९ लाख रुपैयाँभन्दा बढी पुगेको अनुमान गरिएको छ । हालसम्म ७ जना पीडितहरूले कार्यालयमा औपचारिक निवेदन दिइसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले यस घटनाका सम्बन्धमा थप गहन अनुसन्धान जारी राखेको छ । साथै यस्ता भ्रामक फोन र अफरहरूको पछि नलाग्न र आधिकारिक माध्यमबाट मात्र कारोबार गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको छ ।
पछिल्लो अध्यावधिक: चैत २४, २०८२ १२:५
