वसन्तपुरमा वृद्धमाथि हातपात गर्ने युवक पक्राउ, भिडिओ भाइरल भएपछि प्रहरीको कारबाही
चैत २४, २०८२ १४:४९
काठमाडौँ । राजधानीको वसन्तपुरमा एक वृद्ध व्यक्तिमाथि अभद्र व्यवहार र कुटपिट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा कुटपिटको भिडिओ भाइरल भएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले ती युवकलाई मङ्गलबार नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गर्दै घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ । प्रहरीको सूचनामा भनिएको छ, “सामाजिक सञ्जालमा वसन्तपुर क्षेत्रमा वृद्ध देखिने एक मानिसलाई कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि उक्त कार्यमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ।”
सोमबारदेखि सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको उक्त भिडिओमा रातो क्याप लगाएका एक युवकले वृद्ध व्यक्तिलाई सुरुमा थर्काएको र गालीगलौज गरेको देखिन्छ । त्यसलगत्तै ती युवकले आफ्नो परिचयपत्र देखाउँदै बुद्धमाथि हातपात गरेका थिए ।
भिडिओमा घटना भइरहँदा नजिकै रहेका नगर प्रहरीले विवाद छुट्याउने प्रयास गरेको देखिए पनि युवकको उग्र व्यवहारका अगाडि उनीहरू मौन जस्तै देखिएका थिए । घटना के कारणले भएको हो र ती युवकले देखाएको कार्ड के को थियो भन्नेबारे प्रहरीले खुलाएको छैन । युवकमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: चैत २४, २०८२ १४:५२
