बसमा यात्रुको मोबाइल लुटेर डिजिटल वालेटबाट सवा २ लाख रुपैयाँ रित्याउने ३ किशोर पक्राउ
चैत ३०, २०८२ १८:४९
सांकेतिक तस्बिर
काठमाडौँ । सार्वजनिक यातायातमा यात्रुको मोबाइल लुटपाट गरी डिजिटल वालेट र बैंक खातामा रहेको दुई लाख २७ हजार ६०० रुपैयाँ चोरी गरेको आरोपमा तीन जना किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँको बुढानीलकण्ठ बस्दै आएका १९ वर्षीय समीर तामाङ, १८ वर्षीय जनम तामाङ र १८ वर्षीय प्रज्वल राई रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार यी किशोरहरूले सार्वजनिक बसमा यात्रा गरिरहेका एक यात्रुसँग ‘घरमा जरुरी फोन गर्नुछ’ भन्दै मोबाइल मागेका थिए । कल गर्ने बहानामा मोबाइल हात पारेपछि उनीहरू गाडीबाट ओर्लेर फरार भएका थिए ।
“मोबाइल लिएर भागेपछि उनीहरूले फोन रिसेट गर्ने र पीडितको डिजिटल वालेटमा पहुँच बनाएर खातामा रहेको रकम अन्य विभिन्न बैंक खातामा पठाउने गरेको देखिन्छ,” एसपी कार्कीले टेकपानासँग भने । आरोपीहरूले यसरी दुई लाख २७ हजार ६०० रुपैयाँ अवैध रूपमा ट्रान्सफर गरेको प्रहरीको भनाइ छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले चोरी गरेको उक्त रकम विभिन्न पसलहरूमा सामान खरिद गरी भुक्तानी गर्न समेत प्रयोग गरेको खुलेको छ । प्रहरीले उनीहरूको साथबाट लुटिएको एक थान मोबाइल फोन समेत बरामद गरेको छ ।
पक्राउ परेका तीनै जनालाई चोरी तथा बैंकिङ कसुर अन्तर्गत थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ बुझाइएको प्रहरीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: चैत ३०, २०८२ १८:५०
