close

च्याटजीपीटी निर्माता ओपनएआईका सीईओ साम अल्टम्यानको घरमा दुई दिनमा दुई पटक आक्रमण

टेकपाना टेकपाना

चैत ३०, २०८२ १९:४

च्याटजीपीटी निर्माता ओपनएआईका सीईओ साम अल्टम्यानको घरमा दुई दिनमा दुई पटक आक्रमण

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईका सीईओ साम अल्टम्यानको सान फ्रान्सिस्कोस्थित घरलाई लक्षित गरी दुई दिनभित्र दुईवटा छुट्टाछुट्टै आक्रमण भएका छन् । न्युयोर्क पोस्टअनुसार प्रहरीले यी घटनाहरूमा संलग्न रहेको आरोपमा हालसम्म तीन जनालाई पक्राउ गरिसकेको छ ।

दोस्रो आक्रमण आइतबार बिहान सबेरै अल्टम्यानको २ करोड ७० लाख डलर मूल्य पर्ने 'रसियन हिल' स्थित भवनमा भएको थियो । सान फ्रान्सिस्को स्ट्यान्डर्डका अनुसार एउटा होन्डा कार अल्टम्यानको घर बाहिर रोकिएको थियो र उक्त गाडीको यात्रु बस्ने झ्यालबाट गोली प्रहार गरिएको थियो । त्यहाँ तैनाथ सुरक्षा गार्डले गोलीको आवाज सुनेपछि कार घटनास्थलबाट भागेको थियो ।

सीसीटिभी क्यामेरामा कारको लाइसेन्स प्लेट कैद भएपछि प्रहरीले अपरेसन चलाएर २५ वर्षीया अमान्डा टम र २३ वर्षीय मुहम्मद तारिक हुसेनलाई पक्राउ गरेको छ । प्रहरीले उक्त कार अमान्डाको भएको पुष्टि गर्दै उनीहरूको साथबाट तीनवटा बन्दुक समेत बरामद गरेको छ । सान फ्रान्सिस्कोका प्रहरी प्रमुख डेरिक लिउले भनेका छन्, "हाम्रो विभागले बन्दुकसँग सम्बन्धित अपराधलाई अत्यन्तै गम्भीरताका साथ लिन्छ र यस्ता कार्य गर्ने जो कोहीलाई कानुनको पूर्ण हदसम्म कारबाही गरिनेछ ।"

यसअघि गत शुक्रबार अल्टम्यानको घरमा पहिलो आक्रमण भएको थियो । टेक्ससका २० वर्षीय ड्यानियल अलेजान्ड्रो मोरेनो-गामाले अल्टम्यानको घरको बाहिरी गेटमा 'मोलोटोभ ककटेल' (पेट्रोल बम) प्रहार गरेका थिए । जसका कारण त्यहाँ आगलागी भएको थियो । केएनटिभीका अनुसार बम प्रहार गरेपछि उनले ओपनएआईको कार्यालयमा पुगेर भवन नै जलाइदिने धम्की दिएका थिए ।

सान फ्रान्सिस्को क्रोनिकलका अनुसार मोरेनो-गामाले विगतमा 'सबस्ट्याक'मा विभिन्न लेखहरू पोस्ट गर्दै एआईका कारण मानव जातिको अस्तित्व समाप्त हुने डर व्यक्त गर्ने गरेका थिए । उनीमाथि हाल हत्या प्रयास, आगजनी र विस्फोटक पदार्थ राखेको लगायतका धेरै मुद्दाहरू लगाइएको छ ।

यी आक्रमणहरूपछि साम अल्टम्यानले आफ्नो 'पोस्टहेभन' ब्लगमा एक लामो लेख लेख्दै प्रतिक्रिया दिएका छन् । उनले सन् २०२४ जनवरीमा विवाह गरेका आफ्ना श्रीमान् (अल्टम्यान गे हुन्) ओलिभर मुल्हेरिन र आफ्नो बच्चा (सरोगेसीमार्फत् जन्मिएको) को तस्बिर शेयर गर्दै लेखेका छन्, "तस्बिरमा शक्ति हुन्छ भन्ने मलाई आशा छ । सामान्यतया हामी आफ्नो जीवन गोप्य राख्न चाहन्छौँ, तर मलाई आशा छ कि यो तस्बिर देखेपछि अर्को व्यक्तिले हाम्रो घरमा बम प्रहार गर्नुअघि सोच्नेछ, चाहे उसले मेरो बारेमा जेसुकै सोचोस् ।"

अल्टम्यानले एआईको विषयमा विश्वभर भइरहेको बहसलाई सङ्केत गर्दै उग्र शब्द र शैलीलाई कम गर्न आह्वान गरेका छन् । उनले लेखेका छन्, "हामीले बहस गरिरहँँदा हाम्रा शैली र रणनीतिहरूलाई शान्त बनाउनुपर्छ र घरहरूमा हुने वास्तविक वा लाक्षणिक विस्फोटहरूलाई कम गर्ने प्रयास गर्नुपर्छ ।"

यी दुवै घटनामा कोही पनि घाइते भएका छैनन् । हालसम्म ओपनएआई वा अल्टम्यानले यी आक्रमणहरूबारे थप कुनै औपचारिक टिप्पणी गरेका छैनन् ।

पछिल्लो अध्यावधिक: चैत ३०, २०८२ १९:४