कयौँ इन्टरनेट सेवा प्रदायकहरूले तिरेनन् विद्युत् प्राधिकरणको पोल भाडा, अब सम्झौता बिना सहयोग नगर्ने
बैशाख १, २०८३ ७:५८
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले नेपाल विद्युत् प्राधिकरणलाई पोल भाडा नतिरेको पाइएको छ । प्राधिकरणले मङ्गलबार एक सूचना प्रकाशित गर्दै विद्युतीय संरचना प्रयोग गरे बापतको भाडा रकम भुक्तानी गर्नका लागि सेवा प्रदायकको नाममा सूचना प्रकाशित गरेको हो ।
इन्टरनेट तथा केबुल टिभी सेवा प्रदायकहरूले नेपालका सहरी तथा ग्रामीण क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको विद्युत् संरचना प्रयोग गरी आफ्नो सेवा सञ्चालन तथा विस्तार गर्दै आइरहेका छन् । त्यस्ता सेवा प्रदायकहरूले विद्युतीय संरचना प्रयोग गरे बापत नियमअनुसार तिर्नु/बुझाउनु पर्ने भाडा रकम भुक्तानी भने नगरेको प्राधिकरणले जनाएको छ । जसका कारण बक्यौता रकम बढ्दै गइरहेको छ ।
प्राधिकरणले सेवा प्रदायकहरूलाई यस विषयमा जानकारी गराउँदै आफूले प्रयोग गरेको विद्युत् संरचना (दुरी तथा परिमाण) को स्वःघोषणासहित नियमित भाडा रकम भुक्तानी गरी सम्झौता गर्न र संयुक्त प्रमाणीकरण गर्न पटक पटक पत्राचार गर्दा समेत कतिपय सेवा प्रदायकहरूले चासो नदेखाएको उल्लेख गरेको छ । यसै सन्दर्भमा गत मङ्सिरमा इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का प्रतिनिधि समेतको उपस्थितिमा बैठक बसेको थियो । त्यस क्रममा सम्बन्धित सेवा प्रदायकले आफूले प्रयोग गरेको विद्युत् संरचनाको दुरी तथा परिमाण उल्लेख गरी स्वःघोषणासहितको विवरण २० पुस २०८२ भित्र प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयमा उपलब्ध गराउने सहमति भएको थियो ।
तर त्यसका बाबजुद हालसम्म पनि उक्त विवरण प्राप्त नभएको भन्दै प्राधिकरणले गम्भीर ध्यानाकर्षण जनाएको हो । सम्बन्धित इन्टरनेट तथा केबुल टिभी सेवा प्रदायकहरूले आफूले प्रयोग गरेको प्राधिकरणको विद्युत् संरचनाको स्वःघोषणासहित अविलम्ब भाडा रकम भुक्तानी गरी सम्झौता गर्न प्राधिकरणले पुनः ताकेता गरेको छ ।
"प्राधिकरणसँग सम्झौता नगरी आफ्नो सेवा सञ्चालन तथा विस्तार गर्ने सेवा प्रदायकहरू प्रति सहयोगी भूमिका निर्वाह गर्न नेपाल विद्युत् प्राधिकरण बाध्य नहुने ब्यहोरा समेत यसै सूचनामार्फत जानकारी गराइन्छ," सूचनामार्फत चेतावनी दिइएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १, २०८३ ७:५८
