close

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अब ‘लिङ्क्डइन’मा पनि सक्रिय

टेकपाना टेकपाना

बैशाख २, २०८३ १९:२

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अब ‘लिङ्क्डइन’मा पनि सक्रिय

काठमाडौँ । सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित बनाउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रोफेसनल सामाजिक सञ्जाल ‘लिङ्क्डइन’मा आफ्नो उपस्थिति जनाउन थालेको छ । कार्यालयले बुधबारदेखि आफ्नो आधिकारिक पेज सञ्चालनमा ल्याएको हो ।

पेजको सुरुवात गर्दै कार्यालयले लेखेको छ, “नेपाल सरकारको कार्यकारी निकायको केन्द्रीय समन्वयकारी निकायका रूपमा ओपीएमसीएमले नीतिगत सामञ्जस्यता कायम गर्न, सेवा प्रवाहलाई गति दिन र नेपाली जनताको हितमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलाई सहयोग गर्न विभिन्न मन्त्रालयसँग मिलेर काम गर्छ । हामी नेपालको प्रगतिप्रति प्रतिबद्ध नागरिक, साझेदार र संस्थासँग जोडिन चाहन्छौँ ।”

पछिल्लो समय प्रधानमन्त्री कार्यालयले सूचना आदानप्रदानका लागि डिजिटल माध्यमलाई प्राथमिकता दिँदै आएको छ । हाल कार्यालयका गतिविधि र निर्णयको विषयमा जानकारी दिनका लागि फेसबुक पेज सबैभन्दा बढी सक्रिय छ । तर, अन्य प्लेटफर्महरू जस्तै एक्स, टिकटक र इन्स्टाग्राम अकाउन्ट भने हाल निष्क्रिय जस्तै छन् ।

२१ फागुनमा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कूल २७५ सिटमध्ये १८२ सिटसहित स्पष्ट बहुमत हासिल गरेपछि पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका थिए । शाह प्रधानमन्त्री बने लगत्तै विभिन्न देशका कार्यकारी प्रमुखले दिएको बधाईको सम्बोधन कार्यालयको ‘एक्स’ ह्यान्डलबाट गरिएको थियो । त्यसयता सो ह्यान्डलबाट अन्य विशेष जानकारी सार्वजनिक भएका छैनन् ।

यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको समयमा सरकारी सामाजिक सञ्जालका अकाउन्ट करिब ठप्प रहेकोमा वर्तमान सरकारले सूचना प्रविधिको प्रयोगलाई बढावा दिन खोजेको देखिन्छ । यद्यपि इन्स्टाग्राम र टिकटक जस्ता युवा पुस्तामा चर्चित माध्यममा भने कार्यालय अझै पनि निष्क्रिय नै रहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८३ १९:४