close

कसैले सुटुक्क हटाउन सक्छ विवादित पोस्ट, यसरी निःशुल्क सुरक्षित राख्न सकिन्छ आर्काइभ

टेकपाना टेकपाना

बैशाख २, २०८३ २१:२९

कसैले सुटुक्क हटाउन सक्छ विवादित पोस्ट, यसरी निःशुल्क सुरक्षित राख्न सकिन्छ आर्काइभ

काठमाडौँ । सामाजिक सञ्जाल वा इन्टरनेटमा एक पटक राखिएको सामग्री कहिल्यै पूर्ण रूपमा हट्दैन भन्ने मान्यता छ । त्यस्ता सामग्री कुनै न कुनै स्वरूपमा इन्टरनेटमा सुरक्षित रहिरहेकै हुन्छन् । कसैले त्यसको स्क्रिनशट राखेका हुन सक्छन् भने कसैले लिङ्क नै आर्काइभ गरेका हुन सक्छन् । प्रमाणका रूपमा स्क्रिनशट भन्दा आर्काइभ लिङ्कलाई बढी विश्वसनीय र बलियो मानिन्छ ।

आज हामी सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा अपलोड हुने पोस्ट आर्काइभ गर्ने तरिकाबारे जानकारी बताउँदैछौँ । यसले गर्दा तपाईंले ती पोस्ट डिलिट भए भने पनि प्रमाणका रूपमा आर्काइभ लिङ्क प्रस्तुत गर्न सक्नुहुन्छ । 

सामान्यतया पोस्ट र स्टाटस सहजै आर्काइभ गर्न सकिन्छ । तर, भिडिओको हकमा भने आर्काइभ गर्ने टुलहरू त्यति प्रभावकारी छैनन् । हामीले तल उल्लेख गरेका प्लेटफर्मबाट भिडिओ आर्काइभ गर्ने प्रयास गर्न सकिए पनि यो सधैँ सफल नहुन सक्छ ।

आर्काइभ गर्नका लागि सबैभन्दा प्रभावकारी टुल ‘वे ब्याक मसिन’ (Wayback Machine) नै हो । यसलाई ‘वेब आर्काइभ’ को रूपमा पनि चिनिन्छ । यसमा एक पटक आर्काइभ गरिएको सामग्री कहिल्यै पनि हटेर जाँदैन । साथै, तपाईंले सम्बन्धित लिङ्क प्रयोग गरेर आर्काइभ गरिएको सामग्री जुनसुकै बेला खोज्न सक्नुहुन्छ ।

 

कसरी प्रयोग गर्ने वेब्याक मसिन ?

  • सबैभन्दा पहिला यहाँ क्लिक गरेर वे ब्याक मसिनको वेबसाटइमा जानुहोस् ।

  • त्यसपछि माथि रहेको ‘वेब’को अप्सनमा ट्याप/क्लिक गर्नुहोस् । 

  • अनि ‘सेभ पेज नाउ’ लेखिएको बक्समा आफूले चाहेको लिङ्क पेस्ट गर्नुहोस् । 

  • लिङ्क पेस्ट गरिसकेपछि सेभको बटनमा ट्याप गर्नुहोस् । 

  • अनि यहाँ रहेको सेभ पेजको बटनमा ट्याप गर्नुहोस् ।

  • त्यसपछि केही सय पर्खिनु पर्ने हुन्छ । अब यहाँ देखिएको लिङ्कमा क्लिक गर्नुहोस् । यति गरेपछि तपाईंले चाहेको पोस्ट आर्काइभ हुन्छ र त्यसको लिङ्क सुरक्षित राख्न सक्नु हुन्छ । 

 

आर्काइभ टुडे

विभिन्न पोस्ट तथा लिङ्क आर्काइभ गर्ने अर्को उपयोगी टुल हो, आर्काइभ टुडे । archive.today, archive.pharchive.is गरी तीन ओटा यूआरएलमा यो प्लेटफर्म उपलब्ध छ । यीमध्ये कुनै पनि लिङ्क ब्राउज गर्नुभयो भने तपाईं यस्तो पेजमा आउनुहुन्छ ।

त्यसपछि आफूले चाहेको लिङ्क कपी गरेर देखाइएको बक्समा पेस्ट गर्नुहोस् र सेभ गर्नुहोस् । त्यसपछि तपाईंले उपलब्ध गराएको लिङ्क आर्काइभ हुन थाल्छ । अन्तिममा यूआरएल बारमा देखिएको लिङ्क कपी गर्नुहोस् । उक्त लिङ्क प्रयोग गरेर तपाईंले जहिले पनि आर्काइभ पोस्ट फेला पार्न सक्नुहुन्छ । यदि तपाईंसँग कुनै लिङ्क छ र त्यो पहिले नै कसैले आर्काइभ गरिसकेको छ वा छैन भन्ने खोज्नुपर्‍यो भने तलपट्टि रहेको बक्समा लिङ्क पेस्ट गर्नुहोस् । यति गरेपछि यदि उक्त पोस्ट कसैले पहिले नै आर्काइभ गरेको रहेछ भने देखा पर्छ । 

 

घोस्ट आर्काइभ 

घोस्ट आर्काइभ पनि पोस्ट आर्काइभ गर्ने उपयुक्त प्लेटफर्ममा पर्छ । तर, यसमा हरेक पटक क्याप्चा भेरिफाई गर्नुपर्ने बाध्यता छ । यसको राम्रो पक्ष के छ भने वे ब्याक मसिन र आर्काइभ टुडेभन्दा छिटो लिङ्क आर्काइभ गर्न सकिन्छ ।  

यसमा पनि तपाईंले आफूले चाहेको लिङ्क आर्काइभ गर्न सक्नुहुन्छ । साथै कसैले पहिले नै आर्काइभ गरेको छ भने त्यो पोस्ट पनि फेला पार्न सक्नुहुन्छ । यहाँ क्लिक गरेर घोस्ट आर्काइभ प्रयोग गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: बैशाख २, २०८३ २१:४९