close

वाईफाई-७ के हो र यसले कसरी काम गर्छ ? यसरी सजिलै बुझ्नुहोस्

टेकपाना टेकपाना

बैशाख ३, २०८३ ११:१३

वाईफाई-७ के हो र यसले कसरी काम गर्छ ? यसरी सजिलै बुझ्नुहोस्

काठमाडौँ । हालका वर्षहरूमा प्रविधिको तीव्र विकाससँगै इन्टरनेटको माग र प्रयोग दुवैमा अभूतपूर्व वृद्धि भएको छ । हाम्रा घर र कार्यालयहरूमा रहेका हरेक उपकरणहरू इन्टरनेटसँग जोडिन थालेका छन् । उच्च गुणस्तरको भिडिओ स्ट्रिमिङ (फोके र एटके), भर्चुअल रियालिटी (भीआर), अग्मेन्टेड रियालिटी (एआर), अनलाइन गेमिङ, भिडिओ कन्फ्रेन्सिङ र क्लाउड कम्प्युटिङ जस्ता आधुनिक र भविष्यमुखी प्रविधिहरूले भरपर्दो र फास्ट इन्टरनेटको उच्च माग गर्छन् ।

यस किसिमको बढ्दो आवश्यकताहरूलाई पुरा गर्न हालको वाईफाई-६ र वाईफाई-६ ई स्ट्यान्डर्ड कतिपय अवस्थामा अपर्याप्त हुन थालेका छन् । यिनै चुनौतीहरूको समाधानको रूपमा वायरलेस नेटवर्कको संसारमा एक नयाँ र क्रान्तिकारी स्ट्यान्डर्डको उदय भएको छ, जसलाई वाईफाई-७ भनिन्छ । यहाँ हामी तपाईंलाई वाईफाई-७ भनेको के हो, यसले कसरी काम गर्छ, यसका प्रमुख विशेषताहरू के-के हुन् र यसले हाम्रो दैनिक जीवनमा कस्तो परिवर्तन ल्याउन सक्छ भन्ने विषयमा गहिरिएर चर्चा गर्नेछौँ ।

वाईफाई-७ भनेको के हो ?

वाईफाई-७ वायरलेस नेटवर्किङ प्रविधिको सातौँ पुस्ता हो। यसको प्राविधिक वा आधिकारिक नाम 'आईईईई ८०२.११बीई' (IEEE 802.11be) हो । यसलाई 'एक्सट्रिम्ली हाई थ्रुपुट' (Extremely High Throughput - EHT) अर्थात् 'अत्यधिक उच्च डेटा प्रसारण क्षमता' भएको वाईफाईको रूपमा पनि चिनिन्छ । अघिल्ला पुस्ताहरू जस्तै वाईफाई-६ (८०२.११एएक्स) र वाईफाई-५ (८०२.११एसी) को तुलनामा यसले नेटवर्कको गति, क्षमता र दक्षतामा निकै ठुलो फड्को मारेको छ ।

वाईफाई-७ ले पनि अघिल्ला पुस्ताहरूले जस्तै २.४ गिगाहर्ज, ५ गिगाहर्ज र ६ गिगाहर्ज गरी तीनवटै फ्रिक्वेन्सी ब्यान्डहरूमा काम गर्छ । सन् २०२४ को जनवरी ८ मा वाईफाई एलायन्सले यसको आधिकारिक 'सर्टिफाइड ७' (CERTIFIED 7) कार्यक्रम सुरु गरिसकेको छ । वाईफाई-७ पूर्ण रूपमा 'ब्याकवार्ड कम्प्याटिबल' (backward compatible) छ, जसको अर्थ हो वाईफाई-७ राउटरले वाईफाई-६, वाईफाई-५ वा सोभन्दा पुराना प्रविधिमा आधारित मोबाइल, ल्यापटप तथा अन्य उपकरणहरूलाई पनि सजिलै इन्टरनेट प्रदान गर्न सक्छ । यसरी तपाईंले आफ्नो राउटर अपग्रेड गर्दा पुराना डिभाइसहरूले काम गर्न छोड्ने चिन्ता लिनु पर्दैन ।

यो प्रविधिले कसरी काम गर्छ ?

वाईफाई-७ ले केवल पुरानै प्रविधिलाई छिटो बनाउने मात्र होइन, यसले डेटा प्रसारण गर्ने तरिकामै आमूल परिवर्तन ल्याएको छ । यसले मुख्यतया पाँचवटा अत्याधुनिक प्रविधिहरूको प्रयोग गरेर काम गर्छ, जसलाई तल विस्तारमा व्याख्या गरिएको छ:

१. ३२० मेगाहर्ज च्यानल ब्यान्डविथ

कुनै पनि फ्रिक्वेन्सी ब्यान्डलाई स-साना च्यानलहरूमा विभाजन गरिएको हुन्छ, जसको माध्यमबाट डेटा आवतजावत गर्छ । वाईफाई-६ र वाईफाई-६ई ले अधिकतम १६० मेगाहर्जसम्मको च्यानल ब्यान्डविथलाई सपोर्ट गर्छ । तर, वाईफाई-७ ले यो क्षमतालाई दोब्बर बनाउँदै ६ गीगाहर्ज ब्यान्डमा ३२० मेगाहर्जसम्मको च्यानल ब्यान्डविथ प्रदान गर्छ । यसलाई सजिलोसँग बुझ्नको लागि सडकको उदाहरण लिन सकिन्छ । यदि अघिल्लो पुस्ताको १६० मेगाहर्ज एउटा तीन लेनको राजमार्ग हो भने, ३२० मेगाहर्ज एउटा छ लेनको विशाल सुपर-हाइवे हो । लेन बढ्दा जसरी धेरै सवारीसाधनहरू एकै पटक छिटो र बिना जाम गुड्न सक्छन्, त्यसैगरी ब्यान्डविथ दोब्बर हुँदा धेरै डेटा एकै पटक प्रसारण हुन सक्छ । यसले गर्दा इन्टरनेटको गति अकल्पनीय रूपमा बढ्छ ।

२. फोके-क्यूएएम

क्यूएएम (QAM - Quadrature Amplitude Modulation) भनेको रेडियो तरङ्गहरूमा डिजिटल डेटा 'इन्कोड' गर्ने वा पठाउने तरिका हो । वाईफाई-६ ले १०२४-क्यूएएम प्रयोग गर्छ । जसमा एउटा सिग्नलले १० बिट्स डेटा बोक्न सक्छ । तर वाईफाई-७ ले ४०९६-क्यूएएम अर्थात् 'फोके-क्यूएएम' प्रविधिको प्रयोग गर्छ, जसले प्रत्येक मोड्युलेसन सिग्नलमा १२ बिट्स डेटा बोक्न सक्छ । यसको अर्थ वाईफाई-७ ले एउटै सिग्नलमा पहिले भन्दा २० प्रतिशत बढी डेटा खाँदेर पठाउन सक्छ, जसले गर्दा समग्र प्रसारण गतिमा ठूलो वृद्धि हुन्छ । यो भनेको एउटा मालवाहक ट्रकमा खाली ठाउँ नराखी पूर्ण रूपमा सामानहरू मिलाएर प्याक गरी पठाउनु जस्तै हो, जसले ढुवानीको प्रभावकारिता बढाउँछ ।

३. मल्टी-लिङ्क अपरेसन (MLO)

वाईफाई-७ को सबैभन्दा रोमाञ्चक र क्रान्तिकारी विशेषता 'मल्टी-लिङ्क अपरेसन' (MLO) हो । पुराना वाईफाई प्रविधिहरूमा राउटर र मोबाइल वा ल्यापटप जस्ता उपकरणहरूबिच कुनै एक समयमा एउटा मात्र फ्रिक्वेन्सी ब्यान्ड (जस्तै कि २.४ गिगाहर्ज वा ५ गिगाहर्ज) मार्फत सम्पर्क हुन्थ्यो । यदि त्यो ब्यान्डमा अवरोध आयो वा सिग्नल कमजोर भयो भने मात्र डिभाइसले अर्को ब्यान्ड रोज्थ्यो । तर MLO प्रविधिको मद्दतले वाईफाई-७ राउटरले एउटै उपकरणलाई एकसाथ दुई वा सोभन्दा बढी ब्यान्डहरू (जस्तै ५ गिगाहर्ज र ६ गिगाहर्ज) मार्फत जोड्न सक्छ । यसले गर्दा इन्टरनेटको गति मात्र बढ्दैन, लेटेन्सी (डेटा पुग्न लाग्ने समय) पनि निकै कम हुन्छ । उदाहरणका लागि भिडिओ कल गर्दै गर्दा वा अनलाइन गेम खेल्दा तपाईं घरको एक कुनाबाट अर्को कुनामा जाँदा वाईफाई-७ ले अटोमेटिक रूपमा नेटवर्क नटुटाएरै उत्कृष्ट ब्यान्डमा डेटा पठाउन सक्छ । जसले तपाईंको कल वा गेमलाई रोकिन दिँदैन ।

४. मल्टी-आरयू तथा प्रिएम्बल पन्च्युरिङ

वाईफाई-६ मा 'रिसोर्स युनिट' (RU) को प्रयोग हुन्छ, जहाँ एक प्रयोगकर्तालाई एउटा मात्र RU दिइन्छ । अझ महत्त्वपूर्ण कुरा यदि एउटा ठुलो च्यानलको कुनै सानो भागमा अर्को उपकरणले बाधा (interference) पुर्‍याइरहेको छ भने पुरै च्यानल ब्लक हुन्छ र प्रयोग गर्न मिल्दैन । तर वाईफाई-७ मा 'मल्टी-रिसोर्स युनिट' र 'प्रिएम्बल पन्च्युरिङ' (Preamble Puncturing) प्रविधि हुन्छ । यो प्रविधिले च्यानलको जुन भागमा अवरोध छ, त्यसलाई मात्र 'पन्चर' वा ब्लक गर्छ र च्यानलको बाँकी सफा भागलाई डेटा पठाउनका लागि निर्बाध रूपमा प्रयोग गरिरहन्छ । यसले गर्दा भिडभाड भएको नेटवर्कमा पनि इन्टरनेट सुस्त हुँदैन र स्पेक्ट्रमको उच्चतम र लचिलो सदुपयोग हुन्छ ।

५. १६x१६ एमयू-मिमो

एमयू-मिमो (MU-MIMO - Multi-User, Multiple Input, Multiple Output) ले राउटरलाई एकै पटक धेरै उपकरणहरूसँग डेटा आदानप्रदान गर्न मद्दत गर्छ । वाईफाई-६ मा अधिकतम ८ वटा 'स्पेसियल स्ट्रिम' (8x8) हुन्छ भने वाईफाई-७ ले यसलाई बढाएर १६ वटा (16x16) पुर्‍याएको छ । यसको अर्थ एउटा वाईफाई-७ राउटरले एकै पटक दोब्बर सङ्ख्यामा उपकरणहरूलाई बिना कुनै रुकावट उच्च गतिको इन्टरनेट प्रदान गर्न सक्छ ।

वाईफाई-७ को स्पिड

वाईफाई-७ को गतिको कुरा गर्दा यो आफैँमा एउटा चमत्कार जस्तो सुनिन्छ । वाईफाई-६ र वाईफाई-६ई को अधिकतम सम्भावित डेटा ट्रान्सफर गति ९.६ जीबीपीएस रहेको छ । तर वाईफाई-७ ले अधिकतम ४६ जीबीपीएससम्मको गति प्रदान गर्ने क्षमता राख्छ । यो भनेको वाईफाई-६ को तुलनामा करिब ४.८ गुणा बढी छिटो र वाईफाई-५ को ३.५ जीबीपीएस गतिको तुलनामा करिब १३ गुणा बढी फास्ट हो । त्यस्तै वाईफाई-७ ले लेटेन्सी (ढिलाइ) लाई अघिल्लो पुस्ताको तुलनामा ४ गुणाले कम गर्छ भने नेटवर्कको डेटा थाम्ने क्षमतालाई ५ गुणाले बढाउँछ । यस कारणले गर्दा यो प्रविधि घर, ठुला कार्यालय वा सार्वजनिक स्थानहरूको लागि एक वरदान साबित हुनेछ । यद्यपि व्यवहारिक रूपमा घरमा प्रयोग हुने हरेक डिभाइसमा ४६ जीबीपीएस नै नआए पनि यो आजको हाम्रो आवश्यकता भन्दा निकै तीव्र र प्रभावकारी हो ।

वाईफाई-७ को उपयोगिता

वाईफाई-७ को विकास केवल मोबाइल चलाउन वा सामान्य भिडिओ हेर्नका लागि मात्र गरिएको होइन । यसको उद्देश्य भविष्यका अत्याधुनिक प्रविधिहरूलाई सघाउनु हो ।

अनलाइन क्लाउड गेमिङ, भर्चुअल रियालिटी (भीआर), एक्सटेन्डेड रियालिटी (एक्सआर) र अग्मेन्टेड रियालिटी (एआर) मा एक सेकेन्डको हजारौँ भागको ढिलाइले पनि प्रयोगकर्ताको अनुभव बिगार्न सक्छ । वाईफाई-७ को 'अल्ट्रा-लो लेटेन्सी' र निरन्तरको डेटा प्रवाहले यसलाई पूर्ण रूपमा समाधान गर्छ ।

अब घरमै बसेर बिना कुनै बफरिङ उच्च गुणस्तरका एटके (8K) सिनेमा तथा भिडिओहरू एकै पटक धेरै डिभाइसमा हेर्न सकिनेछ । आजकल एउटै घरमा दर्जनौँ स्मार्ट डिभाइसहरू (जस्तै- सेक्युरिटी क्यामेरा, स्मार्ट टिभी, स्मार्ट फ्रिज, भ्वाइस असिस्टेन्ट) प्रयोग हुन थालेका छन् । यस्ता उपकरणहरूलाई एकै पटक इन्टरनेट दिँदा पनि वाईफाई-७ ले नेटवर्क जाम हुन दिँदैन र तत्काल 'रेस्पोन्स' गर्छ ।

यसैगरी अस्पतालहरूमा टेलिमेडिसिन र रिमोट सर्जरी, ठुला कलकारखानाहरूमा इन्डस्ट्रियल आईओटी, र कार्यालयहरूमा उच्च गतिको फाइल ट्रान्सफर र भिडिओ कन्फ्रेन्सिङको लागि यो अत्यन्तै भरपर्दो छ । साथै विमानस्थल, रेलवे स्टेसन, शपिङ मल र रङ्गशाला जस्ता धेरै मानिस जम्मा हुने 'हाई-डेन्सिटी' ठाउँहरूमा पनि यसले सबैलाई निरन्तर र स्थिर नेटवर्क दिन्छ ।

 

बजारमा वाईफाई-७ को अवस्था

सन् २०२४ को सुरुवातमै वाईफाई एलायन्सले वाईफाई-७ को आधिकारिक प्रमाणीकरण सुरु गरिसकेपछि विश्वभरका प्रविधि कम्पनीहरूले यसलाई तीव्र रूपमा अपनाउन थालेका छन् । हाल बजारमा क्वालकम, इन्टेल, मिडियाटेक र ब्रोडकम जस्ता विश्वप्रसिद्ध चिप निर्माता कम्पनीहरूले धमाधम वाईफाई-७ चिपसेटहरू निर्माण गरिरहेका छन् ।

त्यसैगरी टिपी-लिङ्क, नेटगियर, गुगल फाइबर र एसुस जस्ता कम्पनीहरूले वाईफाई-७ राउटर र मेस सिस्टमहरू सार्वजनिक गरिसकेका छन् । उदाहरणका लागि टिपी-लिङ्कको डेको र आर्चर सिरिज, नेटगियरको अर्बी ९७० र एसुसका जेनवाईफाई मोडेलहरू विश्व बजारमा चर्चामा छन् । वाईफाई एलायन्सको एक अनुमान अनुसार सन् २०२८ सम्म बजारमा वाईफाई-७ उपकरणहरूको सङ्ख्या २ अर्ब १० करोड पुग्नेछ ।

मोबाइल फोनको कुरा गर्दा सामसङ ग्यालेक्सी एस२४ अल्ट्रा, गुगल पिक्सेल, एप्पलको आईफोन १६ लगायतका नयाँ फ्ल्यागशिप फोन र अत्याधुनिक ल्यापटपहरूले वाईफाई-७ लाई सपोर्ट दिन थालिसकेका छन् ।

वाईफाई-७ मा अपग्रेड गर्न कति जरुरी ?

यो प्रश्न धेरैको मनमा उब्जिन सक्छ । सुरुवाति अवस्थामा वाईफाई-७ राउटरहरूको मूल्य निकै महँगो छ । सामान्य राउटरहरू केही सय डलरदेखि सुरु हुन्छन् भने नेटगियरको अर्बी ९७० जस्ता मेस सिस्टमको मूल्य २ हजार डलरभन्दा माथि पर्न जान्छ । नेपालमा अहिलेसम्म वाईफाई-७ को सपोर्ट कुनै पनि इन्टरनेट सेवा प्रदायक कम्पनीले भित्र्याइसकेका छैनन् । भित्रिएकै अवस्थामा पनि यदि तपाईं हालको वाईफाई-६ वा ६ई बाट सन्तुष्ट हुनुहुन्छ र तपाईंसँग ३००-५०० एमबीपीएसको सामान्य इन्टरनेट कनेक्सन छ भने तत्कालै त्यति महँगो वाईफाई-७ राउटर किन्नु आवश्यक नहुन सक्छ ।

तर, यदि तपाईंको घर वा कार्यालयमा धेरै स्मार्ट उपकरणहरू जडान गरिएका छन्, तपाईं हेभी अनलाइन गेम खेल्नुहुन्छ, भीआर प्रयोग गर्नुहुन्छ वा तपाईंको घरमा १ जीबीपीएस वा सोभन्दा बढी गतिको अत्याधुनिक इन्टरनेट जोडिएको छ भने वाईफाई-७ मा अपग्रेड गर्नु राम्रो कदम हुनसक्छ । यसका साथै यदि तपाईं नयाँ मोबाइल वा ल्यापटप किन्दै हुनुहुन्छ भने वाईफाई-७ सपोर्ट गर्ने उपकरण रोज्नु भविष्यका लागि बुद्धिमानी हुनेछ । किनभने तपाइँले अहिले नै राउटर नफेरे पनि भविष्यमा नेटवर्क अपग्रेड गर्दा ती उपकरणहरूले वाईफाई-७ को पूर्ण क्षमता उपयोग गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८३ ११:१३