close

एआई दौडमा मेटा पछि परेपछि आफैँ कोडिङ गर्न थाले मार्क जुकरबर्ग

टेकपाना टेकपाना

बैशाख ३, २०८३ १२:१३

एआई दौडमा मेटा पछि परेपछि आफैँ कोडिङ गर्न थाले मार्क जुकरबर्ग

काठमाडौँ । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले एआई दौडमा नयाँ दृष्टिकोण अपनाउँदै आफ्नो डेस्क एआई अनुसन्धानकर्ताहरूकोमा सारेका छन् । वासिङ्टन डीसीमा आयोजित सेमाफोरस विश्व अर्थतन्त्र शिखर सम्मेलन (Semafor's World Economy Summit) मा बोल्दै मेटाकी अध्यक्ष डिना पावेल म्याककोर्मिकले जुकरबर्गले आफ्नो डेस्क सारेर एआई ल्याबमा एलेक्स वाङ र नेट फ्राइडम्यानसँगै बसेको र दिनभर कोडिङ गरिरहेको बताएकी छिन् ।

यो कदमले उनलाई कम्पनीका एआई सम्बन्धी कामको अगाडि बसेर प्रत्यक्ष निगरानी गर्ने अवसर दिएको छ । म्याककोर्मिकले ठट्टा गर्दै भनेकी छिन्, "एकातिर अनुसन्धानकर्ताहरू 'ओहो गजब, तिमीले कोडिङ गर्दा तिमीबाट थप सल्लाह पाइने भयो मार्क' भनिरहेका होलान् ।" यद्यपि जुकरबर्गले कम्पनीको मोडेललाई कसरी सबैभन्दा बलियो बनाउने भनेर सोच्नको लागि यस स्तरमा बुझ्न आवश्यक ठानेको बताएकी छिन् । च्याटजीपीटी बनाउने ओपनएआई, क्लाउड बनाउने एन्थ्रोपिक र जेमनाई बनाउने गुगलसँग प्रतिस्पर्धा बढ्दै जाँदा जुकरबर्ग मेटाको एआई विकासमा गहिरो रूपमा लागेका हुन् ।

ब्लुमबर्गको गत जुन महिनाको रिपोर्ट अनुसार जुकरबर्गले आफ्नो मेन्लो पार्कस्थित मुख्यालयमा नयाँ कर्मचारीहरू आफ्नो नजिक बस्न मिल्ने गरी डेस्कहरूको व्यवस्थापन गरेका थिए । यसैगरी सोमबार फाइनान्सियल टाइम्सले जनाएअनुसार जुकरबर्गले हप्तामा ५ देखि १० घण्टा विभिन्न एआई परियोजनाहरूमा कोडिङ गर्न र अरूको कामको समीक्षा गर्न बिताइरहेका छन् ।

मेटाले 'सुपरइन्टेलिजेन्स ल्याब्स-एमएसएल' नामक नयाँ एआई टोली निर्माण गर्न अर्बौँ डलर खर्च गरेको छ । यसमा स्केल एआईमा करिब १५ अर्ब डलरको लगानी र त्यसका सह-संस्थापक अलेक्जेन्डर वाङलाई कम्पनीमा भित्र्याउने कुरा पनि समावेश छ । यस डिभिजनका लागि नयाँ कर्मचारी भर्ना प्रक्रियामा जुकरबर्ग आफैँ नजिकबाट संलग्न रहेका छन् ।

म्याककोर्मिकले गिटहबका पूर्व सीईओ नेट फ्राइडम्यानको पनि उल्लेख गरेकी छिन्, जो गत जुलाईमा मेटाको एआई उत्पादनहरूको विकासमा नेतृत्व गर्न कम्पनीमा आबद्ध भएका थिए । बाहिरी दृष्टिकोणबाट हेर्दा जेनेरेटिभ एआईको दौडमा मेटा अन्य प्रतिस्पर्धीहरू भन्दा पछि परेको रूपमा हेरिएको छ र एमएसएल टोलीले नयाँ मोडेलहरूमार्फत यो धारणालाई परिवर्तन गर्ने प्रयास गरिरहेको छ । च्याटजीपीटी मार्फत ओपनएआईले एआई च्याटबट बजारमा प्रभुत्व जमाएको छ भने गुगलले आफ्नो फुल-स्ट्याक (full-stack) फाइदाको सफलतापूर्वक प्रयोग गरेर ओपनएआईलाई कडा टक्कर दिइरहेको छ । पछिल्लो ६ महिनामा 'क्लाउड कोड' र 'कोवर्क' लगायतका एआई विकासका लागि एन्थ्रोपिकले निकै प्रशंसा बटुलेको छ । तर, साइबर सुरक्षाको कारण देखाउँदै एन्थ्रोपिकले भर्खरै आफ्नो पछिल्लो मोडेल 'क्लाउड माइथोस' सार्वजनिक नगर्ने घोषणा गरेको छ ।

अन्ततः एमएसएल टोली निर्माणमा मेटाले गरेको भारी लगानीको सकारात्मक नतिजा देखिन थालेको छ । सुपरइन्टेलिजेन्स ल्याब्सले तयार पारेको आफ्नो पहिलो नयाँ एआई मोडेल 'म्युज स्पार्क' (Muse Spark) सार्वजनिक गरेपछि मेटाको शेयर मूल्य ८ प्रतिशतले बढेको छ । जुकरबर्गले यो उपलब्धिलाई उक्त डिभिजनको पहिलो माइलस्टोनको रूपमा व्याख्या गरेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८३ १२:१३