close

फ्याक्टचेक: त्रिशूली नदीमा बस दुर्घटनामा परेको भन्दै भाइरल भिडिओ भ्रामक, के हो वास्तविकता ?

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

बैशाख ३, २०८३ २२:४७

फ्याक्टचेक: त्रिशूली नदीमा बस दुर्घटनामा परेको भन्दै भाइरल भिडिओ भ्रामक, के हो वास्तविकता ?

काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जालमा त्रिशूली नदीमा बस दुर्घटना भएको दाबीसहित एउटा भिडिओ तीव्र रूपमा भाइरल भइरहेको छ । नदीभन्दा केही माथिको सडकबाट खिचिएको उक्त भिडिओमा मानिसहरू दुर्घटना भएको भन्दै नदीतर्फ दौडिरहेको देखिन्छ। भिडिओमा निलो र सफा नदीको बीचमा सेतो र निलो रङ मिश्रित एउटा बस दुर्घटनाग्रस्त अवस्थामा देखिन्छ ।

टेकपाना फ्याक्टचेक डेस्कले गरेको अनुसन्धानका क्रममा उक्त भिडिओ र त्यससँग गरिएको दाबी भ्रामक रहेको पाइएको छ । वास्तवमा उक्त भिडिओ दुई महिनाअघि रामेछापको मन्थली नगरपालिका वडा नं. ६ स्थित तामाकोशी नदीमा भएको बस दुर्घटनाको हो । सोही पुरानो भिडिओलाई अहिले त्रिशूलीमा बस दुर्घटना भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएको पुष्टि भएको छ ।

दाबी

१६ अप्रिल २०२६ विहान ११:०७ मा ‘Taja sport’ नामको फेसबुक पेजबाट एउटा भिडिओ सार्वजनिक भएको छ । भिडिओमा मानिसहरू बस दुर्घटना भएको कुरा गर्दै सडक किनारतर्फ दौडिएका छन् र नदीको बीचमा एउटा बस खसेको देखिन्छ ।​

उक्त भिडिओको क्याप्सनमा लेखिएको छ- त्रिशूलीको एउटा यात्रुबाहक बस त्रिशूली नदीमा खसेको छ ।’’ यो सामग्री तयार पार्दासम्म उक्त भिडिओलाई २ लाख ७६ हजारभन्दा बढीले हेरिसकेका छन् भने ७ हजार ४०० भन्दा बढीले रियाक्ट र २०१ पटक शेयर गरिएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट ।

अनुसन्धान

‘त्रिशूली बस दुर्घटना’ किवर्ड राखेर सर्च गर्दा सोही भिडिओ अन्य प्रयोगकर्ताहरूले पनि राखेको फेला पर्‍यो । ‘Sandip Thapa’ नामका फेसबुक प्रयोगकर्ताले ‘त्रिशूली खोलामा बस खसेको छ ।’ क्याप्सनसहित  सोही भिडि‌ओ राखेका छन् । १६ अप्रिल बिहान १०:०४ मा सार्वजनिक भिडिओलाई १७ हजार भन्दा धेरैले हेरेका छन् । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट । 

१६ अप्रिल बिहान ११:१२ मा News collection Nepal नामको फेसबुक पेजले पनि सोही भिडिओ सार्वजनिक गरेको भेटियो । भिडिओको क्याप्सनमा लेखिएको छ, “त्रिशूलीको एउटा यात्रुबाहक बस त्रिशूली नदीमा खसेको छ। थप विवरण आँउन बाँकी छ ।” हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट । 

Devkota Lokendra’, ‘Rajindar Yadav’, ‘Balkrishna Dulal’, ‘मोटे ग्याङ नेपाली’, ‘livekarnali.com’, ‘Bishal Malla’ ‘Ganesh Gautam’ लगायत कयौँ फेसबुक प्रोफाइल तथा पेजहरूले त्रिशूलीमा यात्रुवाहक बस बेपत्ता भएको दाबीसहित सोही भिडिओ तथा भिडिओको स्क्रिनशट शेयर गरेका छन् । 

भिडिओमा ‘यहाँ चाहिँ बस पल्टिएको छ’, ‘मान्छे त होलान् नि यार’, ‘कहाँबाट आएको बस रहेछ ?’  ‘मन्थलीबाट’, ‘ओ माइ गड’ लगायतका वाक्य मानिसहरूले बोलिरहेको सुन्न सकिन्छ । 

हामीले उक्त भिडिओबाट विभिन्न किफ्रेम निकालेर गुगल रिभर्स इमेज सर्च गर्‍यौँ । खोज्ने क्रममा १० फेब्रुअरी २०२६ मा अनलाइन न्युज पोर्टल ‘देशसञ्चार’ को फेसबुक पेजबाट सार्वजनिक भिडिओ हाल त्रिशूली नदीमा दुर्घटना भएको दाबी सहित भाइरल भइरहेको भिडिओसँग समान रहेको देखियो । “काठमाडौंबाट ओखलढुंगा रगनी जाँदै गरेको बस रामेछापको त्रिवेणीनजिकै तामाकोशीमा दुर्घटना भिडियो: गोपाल थोकर” शीर्षकमा उक्त भिडिओ राखिएको छ । 

 हेर्नुहोस् हाल भाइरल भिडिओको किफ्रेम र दुई महिना पहिले सार्वजनिक भिडिओको किफ्रेम । 

१० फेब्रुअरीमा नै समान तस्बिरको प्रयोग गर्दै ‘Makalu Khabar’ ले रामेछापको मन्थली नगरपालिका वडा नं ६ स्थित तामाकोशी नदीमा बस खसेको समाचार लेखेको छ । उक्त समाचारमा कम्तीमा पनि पाँच जनाको मृत्यु र तीन जना घाइते भएको उल्लेख गरिएको छ । अरनिको यातायातको १९७५ नम्बरको बस काठमाडौँबाट ओखलढुङ्गामा जाँदै गर्दा नदीमा खसेको समाचारमा उल्लेख भएको हो । समाचारको ओरिजिनल लिङ्क र स्क्रिनशट । 

उक्त समाचार प्रकाशित भएको भोलिपल्ट अर्थात् ११ फेब्रुअरी २०२६ मा ‘द काठमाडौँ पोस्ट’ ले उक्त दुर्घटनामा परेर १२ जनाको मृत्यु र आठ जना घाइते भएको जानकारी सहितको समाचार लेखेको फेला पर्‍यो । समाचारको ओरिजिनल लिङ्क र स्क्रिनशट । 

हामीले त्रिशूली नदीमा दुर्घटना भएको पछिल्ला समाचारहरू खोज्यौँ । ११ फागुनमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुवाहक बस त्रिशूली नदीको किनारमा खसेर दुर्घटना भएको समाचार फेला पर्‍यो । सो घटनायता त्रिशूलीमा यात्रुवाहक बस खसेको समाचार फेला परेन । 

दाबी

त्रिशूली नदीमा यात्रुवाहक बस दुर्घटनामा पर्‍यो । 

दाबीकर्ता 

फेसबुक पेज तथा प्रोफाइलहरू ‘Taja sport’, ‘News collection Nepal’, ‘Sandip Thapa’, ‘Devkota Lokendra’, ‘Rajindar Yadav’, ‘Balkrishna Dulal’, ‘मोटे ग्याङ नेपाली’, ‘livekarnali.com’, ‘Bishal Malla’ ‘Ganesh Gautam’ सहित सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्य

भाइरल भिडिओ हालको नभई दुई महिना पुरानो अर्थात् १० फेब्रुअरी २०२६ को हो । यो दुर्घटना त्रिशूली नदीमा नभई रामेछापको मन्थली नगरपालिका वडा नं. ६ स्थित तामाकोशी नदीमा भएको थियो । काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको ००१-०५ ख १९७५ नम्बरको बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको थियो । हालै त्रिशूली नदीमा बस दुर्घटना भएको समाचार फेला परेको छैन ।

निष्कर्ष

त्रिशूली नदीमा बस दुर्घटना भएको भन्दै सामाजिक सञ्जालमा फैलाइएको भिडिओ भ्रामक छ । रामेछापमा दुई महिनाअघि भएको पुरानो दुर्घटनाको भिडिओलाई अहिलेको भन्दै भ्रम फैलाइएको हो ।

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८३ २२:४७