close

बालेन शाहको १२ वर्ष पुरानो र्‍याप ब्याटल विरुद्ध साइबर ब्युरोमा उजुरी, युट्युबबाट हटाउन माग

टेकपाना टेकपाना

बैशाख ४, २०८३ १६:३५

बालेन शाहको १२ वर्ष पुरानो र्‍याप ब्याटल विरुद्ध साइबर ब्युरोमा उजुरी, युट्युबबाट हटाउन माग

काठमाडौँ । प्रधानमन्त्री शालेन्द्र शाह 'बालेन' को १२ वर्ष पुरानो एक र्‍याप ब्याटल विरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ । उक्त रअ बार्ज अन्तर्गतको उक्त र्‍याप ब्याटल महिला विरोधी तथा यौनिक अल्पसङ्ख्यक (LGBTIQA+) समुदाय विरुद्ध घृणास्पद रहेको भन्दै युट्युबबाट हटाउनुपर्ने मागसहित शुक्रबार उजुरी दर्ता भएको हो ।

विवेक मगर, रोजी पुन, महिन्द्रसिँह दनुवार र पवन राई (बाबु) ले संयुक्त रूपमा दायर गरेको उजुरीमा सङ्ग्स नेपाल युट्युब च्यानलमा अपलोड गरिएको २० मिनेट १४ सेकेन्ड लामो भिडिओको लिङ्कसहितको विवरण समेत उल्लेख गरिएको छ । "...भिडिओमा बालेन्द्र शाह (बालेन) प्रयोग गरिएका शब्दहरू महिला विरोधी तथा अपमानजनक साथै यौनिक तथा अल्पसङ्ख्यक समुदाय विरुद्ध घृणात्मक अभिव्यक्ति समावेश गरिएको छ," उजुरीमा भनिएको छ, "र्‍याप ब्याटलमा 'हिँ*डा', 'छ*का' जस्ता शब्दहरू हिंसात्मक र अमानवीय सन्दर्भमा प्रयोग गरी बलात्कार तथा यौन हिंसालाई सामान्यीकरण गर्ने तथा महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई तुच्छ देखाउने कार्य गरिएको छ ।"

बालेन्द्र शाह हाल नेपालको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को रूपमा उच्च ओहदामा रहेका सार्वजनिक पद धारण गरेका व्यक्ति भएको सन्दर्भमा यस्तो उच्च ओहोदामा रहेका व्यक्तिसँग सम्बन्धित भिडिओ सामग्रीले महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय विरुद्ध यौन हिंसा तथा भेदभावलाई प्रश्रय दिनुका साथै सामाजिक वातावरणलाई विषाक्त बनाएको दाबी गरिएको छ ।

"उक्त भिडिओमा प्रयोग गरिएका अभिव्यक्तिहरूले नेपालको संविधान २०७२ द्वारा सुनिश्चित गरिएको मौलिक हक धारा १६. सम्मानपूर्वक बाँच्न पाउने हक र धारा १८. समानताको हकलाई आघात पुर्‍याएको छ । साथै उक्त भिडिओमा प्रयोग भएका शब्दहरू विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत सार्वजनिक मर्यादा, शिष्टता तथा सामाजिक सद्‍भाव विपरीत हुने भएकाले गैरकानुनी तथा आपत्तिजनक छन्," उजुरीमा अगाडि भनिएको छ ।

उक्त भिडिओ साइबर अपराधको दायरामा पर्ने देखिएको भन्दै आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ । प्रधानमन्त्रीले हालै सार्वजनिक गरेको आय विवरणमा झन्डै १ करोड ४० लाख रुपैयाँ सामाजिक सञ्जालबाट आम्दानी गरेको उल्लेख गरेका थिए ।

यो भिडिओको भ्युज १ करोड ५० लाख रहेको उल्लेख गर्दै यसको कमाई लैङ्गिक अल्पसङ्ख्यक समुदायको सकारात्मक सन्देश सम्प्रेषण हुने सामग्रीमा खर्च गर्न लगाउन समेत माग गरिएको छ । उक्त भिडिओ हटाउनुका साथै सार्वजनिक रूपमा माफी माग्न र उचित क्षतिपूर्ति समेत दिलाई भराई दिनुपर्ने जिकिर समेत अघि सारिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८३ १६:३६