close

साओमी १७ अल्ट्रा: कस्तो छ महँगो फोनको क्यामेरा र पर्फमेन्स ?

उष्मा अधिकारी उष्मा अधिकारी

बैशाख ५, २०८३ २०:९

काठमाडौँ । साओमीले नेपाली बजारमा आफ्नो अहिलेसम्मकै शक्तिशाली फ्ल्यागशिप स्मार्टफोन साओमी १७ अल्ट्रा सार्वजनिक गरेको छ । विशेषगरी क्यामेरा र प्रविधि प्रेमीहरूलाई लक्षित गरी ल्याइएको फोनको मूल्य एक लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ । प्रिमियम डिजाइन र उत्कृष्ट 'वेट डिस्ट्रिब्युसन' रहेको यो फोनले प्रयोगकर्तालाई आधुनिक प्रविधिको फरक अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

फोनको मुख्य विशेषता लाइकासँगको सहकार्यमा तयार पारिएको यसको क्यामेरा सेटिङ हो । फोनमा ओआईएसयुक्त ५० मेगापिक्सेलको मुख्य क्यामेरा, २०० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो लेन्स र ५० मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स समावेश छ । यसको टेलिफोटो लेन्सले ४.३ गुणा अप्टिकल जुम र १२० गुणासम्म डिजिटल जुम गर्ने क्षमता राख्छ । यसमा प्रयोग गरिएको लफिक प्रविधिले अत्यन्त उज्यालो वा अँध्यारो वातावरणमा पनि व्यावसायिक स्तरको फोटो खिच्न मद्दत गर्दछ ।

भिडिओको हकमा यसले ८के (8K) ३० एफपीएस र फोरके १२० एफपीएससम्मको हाई क्वालिटीको रेकर्डिङ सपोर्ट गर्दछ ।

पर्फमेन्सका लागि साओमी १७ अल्ट्रामा क्वालकमको स्न्यापड्रागन ८ एलिट फाइभजी चिपसेट प्रयोग गरिएको छ । १६ जीबी र्‍याम र ५१२ जीबी इन्टर्नल स्टोरेज क्षमता रहेको यो फोनले गेमिङ र मल्टिटास्किङमा उत्कृष्ट नतिजा दिने परीक्षणहरूले देखाएका छन् । फोनमा ६.९ इन्चको एलटीपीओ एमोलेड डिस्प्ले रहेको छ । जसले १२० हर्ज रिफ्रेस रेट र ३५०० निट्सको पिक ब्राइटनेस प्रदान गर्छ । यो फोन एन्ड्रोइड १६ र साओमीको हाइपर ओएस ३.० मा आधारित छ।

ब्याट्री र चार्जिङको कुरा गर्दा यसमा ६००० एमएएचको ब्याट्री पाउन सकिन्छ । जसलाई ९० वाटको फास्ट चार्जरले छिटो चार्ज गर्न सकिन्छ । साथै, यसमा वायरलेस चार्जिङ र २२.५ वाटको रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ ।

धुलो र पानीबाट जोगाउन फोनले आईपी ६८ र आईपी ६९ को रेटिङ पाएको छ । समग्रमा प्रोफेसनल फोटोग्राफी र हाई पर्फमेन्स खोज्ने प्रयोगकर्ताका लागि फोन एक पूर्ण प्याकेजको रूपमा देखिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८३ २०:२४