ठमेलमा विदेशी नागरिकमाथि कुटपिट र लुटपाट गरेको भिडिओ भाइरल, ३ जना पक्राउ
बैशाख ७, २०८३ १८:२५
काठमाडौँ । पर्यटकीय क्षेत्र ठमेलमा एक विदेशी नागरिकमाथि कुटपिट गरी लुटपाट गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उक्त घटनाको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
सामाजिक सञ्जालमा भाइरल उक्त भिडिओमा तीन व्यक्तिहरूले विदेशी नागरिकलाई घेरा हालेर कुटपिट गरेको र सामान खोस्न खोजेको देखिन्छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई अहिले प्रहरी वृत्त लैनचौरमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
"सामाजिक सञ्जालमा देखिएको भिडिओका आधारमा हामीले घटनामा संलग्नहरूको पहिचान गरी नियन्त्रणमा लिएका हौँ," जिल्ला प्रहरी परिसर काठमाडौँले भनेको छ, "उनीहरूमाथि लुटपाट र कुटपिटको कसुरमा विस्तृत अनुसन्धान भइरहेको छ ।"
पर्यटकीय क्षेत्रमा विदेशी नागरिकमाथि भएको यस प्रकारको दुर्व्यवहारले सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८३ १८:२५
