close

​छैन ड्राइभिङ लाइसेन्स छापिए‌/नछापिएको जाँच गर्न मिल्ने अनलाइन प्रणाली, तर कसरी लगाउने पत्ता ?

टेकपाना टेकपाना

बैशाख ९, २०८३ १५:५४

​छैन ड्राइभिङ लाइसेन्स छापिए‌/नछापिएको जाँच गर्न मिल्ने अनलाइन प्रणाली, तर कसरी लगाउने पत्ता ?

काठमाडौँ । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच भएको सम्झौता अनुसार पछिल्लो समय सवारी चालक अनुमति पत्र छपाइको कामले तीव्रता पाएको छ । १२ कात्तिक २०८२ मा ६ महिनाभित्र १२ लाख थान क्यूआर-सहितका स्मार्ट कार्ड छपाइ गर्ने गरी भएको समझदारी अनुसार अहिले धमाधम काम भइरहेको हो । 

लामो समयदेखि थुप्रिएको ‘ब्याकलग’ फर्छ्याउने, अत्यावश्यक कार्डलाई प्राथमिकता दिने र सरकारी कागजातको आन्तरिक उत्पादन क्षमता स्थापित गर्ने उद्देश्यका साथ यो प्रक्रिया अघि बढाइएको केन्द्रले जनाएको छ ।

छपाइको पछिल्लो तथ्याङ्क हेर्दा कुल १२ लाख कार्डमध्ये हालसम्म आठ लाख ७५ हजार २२७ ओटा कार्ड प्रिन्ट भइसकेको सुरक्षण मुद्रण केन्द्रको दाबी छ । केन्द्रका अनुसार अहिले चार हजार ४५६ कार्ड छपाइको प्रक्रियामा छन् भने तीन लाख २० हजार ३१७ ओटा कार्ड मात्र छाप्न बाँकी रहेका छन् ।

यो तथ्याङ्कले छपाइको काम लक्ष्य नजिक पुग्न लागेको देखाए पनि सेवाग्राहीले भने आफ्नो कार्ड छापिए/नछापिएको जानकारी सहजै पाउन सकिरहेका छैनन् ।

विगतमा चिपसहितको स्मार्ट कार्डको अवस्था अनलाइन वा एसएमएसबाट सहजै हेर्न सकिने व्यवस्था भए पनि हाल यो सेवा पूर्ण रूपमा अवरुद्ध छ । २३ र २४ भदाैको ‘जेन-जी’ विद्रोहका क्रममा कार्यालयमा भएको आगजनी र तोडफोडको मारमा यो प्रणाली पर्दा विभागको वेबसाइट र एसएमएस प्रणालीले काम गर्न छाडेको हो । केन्द्रीय सर्भरमा देखिएको यस प्राविधिक समस्याले गर्दा सेवाग्राही आफ्नो अनुमति पत्र तयार भयो कि भएन भन्ने द्विविधामा परेका छन् ।

केन्द्रीय प्रणाली सञ्चालनमा नआउन्जेल सेवाग्राहीले आफ्नो लाइसेन्सको अवस्था बुझ्न वैकल्पिक उपाय अपनाउनुपर्ने हुन्छ । यसका लागि सबैभन्दा पहिले आफूले आवेदन दिएको सम्बन्धित यातायात कार्यालयको नाम अनलाइन वा फेसबुकमा खोज्नुपर्नेछ ।

हाल अधिकांश यातायात कार्यालयले आ-आफ्नो फेसबुक पेज र वेबसाइटमार्फत छापिएका लाइसेन्सको सूची सार्वजनिक गर्ने गरेका छन् । उदाहरणका लागि ‘यातायात व्यवस्था कार्यालय, राधेराधे भक्तपुर’ जस्ता कार्यालयको फेसबुक पेज स्क्रोल गर्दा वा वेबसाइटको सूचना सेक्सनमा गएर आफ्नो नाम खोज्न सकिन्छ ।

यसरी कार्यालयले सार्वजनिक गरेको नामावलीमा आफ्नो नाम फेला परेमा सेवाग्राहीले आवेदन दिँदाको सक्कल रसिद लिएर सम्बन्धित कार्यालयमा गई आफ्नो क्यूआरमा आधारित लाइसेन्स बुझ्न सक्नेछन् । अनलाइन प्रणाली पूर्ण रूपमा मर्मत नहुँदासम्म सेवाग्राहीले आफ्नै कार्यालयको आधिकारिक सूचना च्यानललाई नियमित रूपमा पछ्याउनु नै सबैभन्दा प्रभावकारी उपाय हुने देखिएको छ ।

अनलाइनमा केही कार्यालयको नाम यसरी खोज्न सक्नुहुन्छ !

 

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८३ १७:२९