close

सीमा क्षेत्रमा प्रहरीको खुट्टा समातेर खाद्य सामग्री फिर्ता गरिदिन गुहार मागेको दाबीसहित भाइरल फोटो एआई सिर्जित

टेकपाना टेकपाना

बैशाख १०, २०८३ १२:५८

सीमा क्षेत्रमा प्रहरीको खुट्टा समातेर खाद्य सामग्री फिर्ता गरिदिन गुहार मागेको दाबीसहित भाइरल फोटो एआई सिर्जित

काठमाडौँ । भारतीय सञ्चारमाध्यम ‘जागरण’ले नेपाल सरकारले १०० रुपैयाँभन्दा बढी मूल्यका सामग्री ल्याउँदा लाग्ने भन्सार शुल्कमा कडाइ गरेको विषयको समाचारमा एआई निर्मित भ्रामक तस्बिर प्रयोग गरेको छ । रुपैडिहा नाकामा एक महिलाले सुरक्षाकर्मीको खुट्टा समातेर खाद्य सामग्री फिर्ता गरिदिन गुहार मागेको दाबी गर्दै उक्त नक्कली तस्बिर प्रयोग गरिएको हो ।

सोमबार (२० अप्रिल) मा जागरणले नेपालले भन्सार शुल्कमा कडाइ गरेको विषयमा एक समाचार प्रकाशित गरेको थियो । उक्त समाचारको शीर्षक ‘भारत–नेपाल सीमामा नेपाली सुरक्षा बलले स्थानीयसँग अमानवीय व्यवहार गरेको आरोप, नेपाल सरकारसँग हस्तक्षेपको माग’ (हिन्दीबाट नेपालीमा भावानुवाद) राखिएको छ । आर्काइभ लिङ्क । 

उक्त समाचारमा प्रयोग गरिएको तस्बिरमा नेपाली सशस्त्र प्रहरीको पोसाक लगाएकी एक महिला देखिएकी छिन् । तस्बिरमा प्रहरीको बायाँ हातमा 'ड्यु'को बोतल र प्लास्टिकमा राखिएको खाद्य सामग्री देखिन्छ भने दायाँ खुट्टा समातेर अर्की एक महिला डाँको छाडेर रोइरहेकी छिन् । तस्बिरको पृष्ठभूमिमा अन्य प्रहरी अधिकारीहरू र किराना पसलहरू पनि देखिएका छन् ।

तस्बिरको क्याप्सनमा लेखिएको छ, “रुपैडिहास्थित भारत-नेपाल सीमामा सुरक्षा अधिकारीको खुट्टा समातेर खाद्य सामग्री फिर्ता गर्न गुहार गरिरहेकी महिला ।” (हिन्दी क्याप्सनको भावानुवाद)


 

 

उक्त तस्बिर एआई निर्मित हो वा होइन भन्ने पत्ता लगाउन हामीले एआई डिटेक्सन टुल ‘हाइभ मोडेरेसन’ को प्रयोग गर्‍यौँ । उक्त टुलले यो तस्बिर ८९.२ प्रतिशत एआई निर्मित रहेको निष्कर्ष निकाल्यो ।


 

 

त्यसपछि हामीले उक्त तस्बिरको ‘गुगल रिभर्स इमेज सर्च’ गर्‍यौँ । खोजका क्रममा अप्रिल १९ देखि नै सामाजिक सञ्जालका विभिन्न प्रयोगकर्ताहरूले सशस्त्र प्रहरीकी एक महिला अधिकारीले हातमा 'ड्यु'को बोतल बोकेको तस्बिर सार्वजनिक गरेको पाइयो । भारतबाट ल्याउँदै गरेको चिसो पेय पदार्थ नेपालगन्ज नाकामा सशस्त्र प्रहरीले बरामद गरेको दाबीसहित ती तस्बिरहरू सामाजिक सञ्जालमा राखिएका थिए ।

 

सशस्त्र प्रहरीले हातमा 'ड्यु' लिएको सोही वास्तविक तस्बिरलाई एआई प्रयोग गरी परिमार्जन गरेर महिलाले खाद्यान्न फिर्ता माग्न गुहार मागेको जस्तो देखिने बनाइएको र त्यसैमार्फत भ्रम फैलाइएको पुष्टि हुन्छ । 

हेर्नुहोस् जागरणले राखेको तस्बिर र वास्तविक तस्बिरको तुलना: 

 

 

नेपाल सरकारले सीमा नाकामा १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार शुल्क तिर्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागु गरेपछि सीमावर्ती क्षेत्रको जनजीवन र स्थानीय व्यापार प्रभावित भएको छ । सरकारको यस कदमलाई लिएर विभिन्न पक्षले विरोध जनाइरहेका छन् । दैनिक उपभोग्य सामान ल्याउने सर्वसाधारण र भारतमा मजदुरी गरेर फर्किने नेपालीले नाकामा सास्ती खेप्नुपरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्तादेखि विभिन्न राजनीतिक दलसम्मले सरकारको आलोचना गरेका छन् ।

यही परिवेशको पृष्ठभूमिमा भारतीय सञ्चारमाध्यम ‘जागरण’ले तोडमोड गरिएको एआई निर्मित तस्बिर प्रयोग गरी समाचार सम्प्रेषण गरेको हो । उक्त समाचार र तस्बिरको स्क्रिनशट लिँदै सामाजिक सञ्जालमा भ्रामक सामग्रीसमेत फैलिएका छन् ।

*समाचार परिमार्जन गरिएको छ । स.

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८३ १५:१३