सुधन गुरुङको बैंकिङ विवरणबारे नबिल बैंकको दाबी- ‘हामीले गोपनीयता भङ्ग गरेका छैनौँ’
बैशाख ११, २०८३ १६:३
काठमाडौँ । नबिल बैंकले निवर्तमान गृहमन्त्री सुधन गुरुङको बैंकिङ कारोबारसम्बन्धी विवरण आफूले उपलब्ध नगराएको दाबी गरेको छ । सामाजिक सञ्जाल र कतिपय सञ्चार माध्यममा बैंकले ग्राहकको गोपनीयता भङ्ग गरेको भन्दै भइरहेको प्रचारको खण्डन गर्दै बैंकले शुक्रबार विज्ञप्ति जारी गरी यस्तो स्पष्टीकरण दिएको हो ।
“मिति २०८३ वैशाख ९ गते कान्तिपुर दैनिकमा प्रकाशित “गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्नहरु” शीर्षकको समाचारमा स्पष्ट रूपमा कान्तिपुर दैनिकले “अनुसन्धानरत निकायबाट प्राप्त गरेका बैंकिङ कारोबारको विवरण…..” भनी उल्लेख गरेको छ,” बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उक्त समाचारमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा विभिन्न मितिमा भएका कारोबारहरू प्रकाशित भएको तथ्यलाई नजरअन्दाज गर्दै केही व्यक्तिहरूद्वारा सामाजिक सञ्जालमार्फत बैंकविरुद्ध नियोजित रूपमा दुष्प्रचार गरिएकोप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।”
नबिल बैंकले ग्राहकको सूचना वा कारोबार विवरण ग्राहक स्वयं, निजको आधिकारिक प्रतिनिधि वा नियामक तथा अनुसन्धानकारी निकायले कानुनी प्रक्रियाअनुसार मागेको अवस्थामा बाहेक कसैलाई पनि उपलब्ध नगराउने उल्लेख गरेको छ ।
कुनै पनि सञ्चार माध्यम, व्यक्ति वा अनधिकृत निकायलाई विवरण उपलब्ध नगराएको र त्यसो गर्नु बैंकिङ नैतिकताविपरीत हुने उसले जनाएको छ ।
आफ्नो प्रणाली (कोर बैंकिङ सिस्टम) सुरक्षित रहेको दाबी गर्दै बैंकले कुनै पनि कर्मचारीले विवरण निकालेको खण्डमा त्यसको पूर्ण लगत र प्रयोजन सुरक्षित रहने जानकारी दिएको छ । बैंकले भनेको छ, “यस सम्बन्धमा बैंकमाथि लगाइएका सम्पूर्ण आरोप तथा अनुमानहरू गलत, भ्रामक तथा आधारहीन रहेको कुरा स्पष्ट पार्दछौं । इजाजतपत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंकको हैसियतले नबिल बैंक लिमिटेडले प्रचलित कानून, नियमन, प्रावधान तथा निर्देशन एवं आन्तरिक सुशासन तथा सूचना सम्बन्धी नीतिहरूको पूर्ण रूपमा पालना गर्दै ग्राहक सूचनाको पूर्ण गोपनीयता कायम गर्न कटिबद्ध रहेको जानकारी गराउँदछ ।”
चार दशक लामो इतिहास भएको र प्रचलित कानुनको पूर्ण पालना गर्दै आएको उल्लेख गर्दै बैंकले नियोजित रूपमा बैंकको साख गिराउन खोज्नेहरूलाई चेतावनीसमेत दिएको छ । “सूचनाको स्पष्ट स्रोतसहित प्रकाशित समाचारलाई बंग्याउँदै बैंक सम्बन्धमा दुष्प्रचार गर्ने व्यक्ति तथा निकायलाई तथ्यहीन दुष्प्रचार नगर्न तथा जनमानसलाई भ्रमित नपार्न आग्रह गर्दछौं । साथै, नियोजित दुष्प्रचार गर्ने व्यक्तिमाथि विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानूनअनुसार कानूनी कारबाहीको प्रक्रियामा जान बैंक बाध्य हुनेछ,” विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: बैशाख ११, २०८३ १६:५०
