'नेपालको ऊर्जा प्रणालीले डेटा सेन्टर, क्लाउड कम्प्युटिङ र एआई पूर्वाधारलाई साथ दिने'
बैशाख १५, २०८३ ८:२७
काठमाडौँ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाललाई डिजिटल नवप्रवर्तन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र हरित प्रविधिमा आधारित लगानीको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने भन्दै ती क्षेत्रमा लगानी बिस्तार गर्न आग्रह गरेका छन् । बेल्जियमस्थित नेपाली दूतावासले सोमबार ब्रसेल्समा आयोजना गरेको नेपाल-ईयू टेक फोरम २०२६ लाई भर्चुअल सम्बोधन गर्दै उनले नेपाल र युरोपेली सङ्घबिचको सहकार्यलाई विकास साझेदारीबाट रणनीतिक डिजिटल सृजनातर्फ विस्तार गर्नुपर्ने आवश्यकता औल्याए ।
विश्व अर्थतन्त्र तीव्र डिजिटल रूपान्तरण, एआई प्रविधि र कम्प्युटिङ क्षमताको बढ्दो मागका कारण पुनः परिभाषित भइरहेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अबको आर्थिक शक्ति मूलत: प्रविधि, ऊर्जा र मानव पुँजीको समन्वयमा निर्भर हुने धारणा व्यक्त गरे । सरकारले डिजिटल अर्थतन्त्रको नीतिलाई केन्द्रमा राखी लगानीको वातावरण सुधार गर्ने महत्त्वपूर्ण सुधारहरू अघि बढाइरहेको उनले उल्लेख गरे ।
सीईओ ज्ञावालीले विदेशी लगानीको सीमा हटाइएको, आईटी तथा डिजिटल सेवामा स्वामित्व तथा व्यवसाय सञ्चालन प्रक्रियाहरू सरल बनाइएको जानकारी समेत गराएका थिए । एआई प्रविधिको तीव्र विकाससँगै ऊर्जा आवश्यकतामा आएको परिवर्तनलाई जोड दिँदै उनले नेपालसँग रहेको ऊर्जा प्रणालीले डेटा सेन्टर, क्लाउड कम्प्युटिङ र एआई पूर्वाधारका लागि अत्यन्त उपयुक्त वातावरण प्रदान गर्ने धारणा व्यक्त गरे ।
लगानी बोर्डले डिजिटल पूर्वाधार, नियामकीय सुधार र मानव संसाधन विकासलाई समानान्तर रूपमा अघि बढाइरहेको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले डेटा सेन्टर, आईटी पार्क र डिजिटल हबहरूको विकासलाई प्राथमिकतामा राखेको जानकारी दिए । उनले हाइपरस्केल डेटा सेन्टर, एआई कम्प्युट, क्लाउड पूर्वाधार र प्रविधि कम्पनीहरूलाई नेपाललाई रणनीतिक लगानी गन्तव्यका रूपमा हेर्न आग्रह गरे ।
पछिल्लो अध्यावधिक: बैशाख १५, २०८३ ८:२७
